खैरापुरमा कृष्णसारको संख्या बढ्यो

बर्दिया/ बर्दियाको कृष्णसार संरक्षित क्षेत्र खैरापुरमा कृष्णसारको संख्या बढदै गएको छ । चैत पहिलो हप्तादेखि संरक्षित क्षेत्रमा लगातार कृष्णसारले बच्चा जनमाउनु र बाँकी रहेका कृष्णसार सुरक्षित हुनुले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढदै गएको हो ।

अहिले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या २ सय १३ पुगेको छ । १ सय ४९ पोथी, ६० भाले र ४ वटा बच्चा गरी अहिले कृष्णसारको संख्या २ सय १३ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख पुरुषोतम शर्माले जानकारी दिनुभयो ।

दुर्लभ वन्यजन्तुको रुपमा सूचिकृत कृष्णसार बर्दियाको खैरापुरमा मात्र पाइन्छ । यसअघि २०७१ साउनसम्म ३०० कृष्णसार रहेकोमा २०७१ साउन ३१ गतेको बाढीले ४० वटा बगाउँदा, चितुवाको आक्रमण परि मर्दा, खोरेत रोगका कारण र १४ वटा कृष्णसार स्थान्तरण गर्दा संख्या घटेको थियो । यसपटक ३० वटा भन्दा बढी कृष्णसार बढ्न सक्ने अनुमान गरिएको छ ।