बर्दिया अस्पतालमा बिरामी फोहोरमै सुत्न बाध्य छन्….

बर्दियाको गुलरिया–१२ की शकुन्तला गोडिया सुत्केरी व्यथा लागेपछि केही दिनअघि साँझ ७ बजे जिल्ला अस्पताल गुलरिया आइपुगिन् । चिकित्सकले उनको रगत परीक्षण गर्न सल्लाह दिए तर अस्पतालमा भने  त्यो सुविधा नपाएपछि बाध्य भई नेपालगन्ज जानुपर्‍यो ।

उनीजस्तै राति अस्पताल पुग्ने विभिन्न बिरामी रगत परीक्षण गराउन बाहिर जान बाध्य छन् । अस्पताल प्रशासनले यसतर्फ कुनै चासो नदेखाएको सर्वसाधारणले गुनासो पोखेका छन् । सरकारले सरकारी अस्पतालभित्र चौबीसै घण्टा फार्मेसी र रगत परीक्षणका लागि कार्यकक्ष खोल्न निर्देशन दिए पनि बर्दियामा कार्यान्वयन भएको देखिँदैन ।

सरकारी बिदाबाहेक बिहान १० देखि बेलुका ५ बजेसम्म मात्र अस्पतालभित्र रहेको फार्मेसी र प्रयोगशाला सञ्चालन हुने गरेको छ । त्यसपछि आउने बिरामी औषधि किन्न र रगत परीक्षण गराउन बाहिर जानुपर्छ । अस्पतालभित्र रहेको फार्मेसीमा सबै थरीका पर्याप्त औषधि उपलब्ध छैनन् ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले जनशक्ति अभावमा ल्याब र फार्मेसी चौबीसै घण्टा खोल्न नसकिएको बताए । अस्पताल विकास समितिले दुई वर्षयता हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब टेक्निसियन, सहायक असिस्टेन्ट, अहेव, अनमी र कार्यालय सहयोगी गरी १८ जना करार सेवामा कार्यरत छन् । समितिले करार सेवाका ती कर्मचारीलाई तलबका लागि मासिक करिब २ लाख रुपैयाँ बेहोर्दै आएको छ । प्राविधिकतर्फका ती कर्मचारीलाई फार्मेसी र ल्याबमा पालोपालो खटाउनु पर्ने अस्पतालका कर्मचारी बताउँछन् ।

महिना नबित्दै हिँडे डाक्टर 
सरुवा भई बर्दिया अस्पताल आएका डा. तीर्थेन्द्र खड्का एक महिना हाजिर नगर्दै भेरी अञ्चल अस्पताल नेपालगन्जमा काजमा खटिएका छन् । गत मंसिर २७ गते सरुवा आएका खड्का पुस २० गते काज सरुवा भई नेपालगन्ज गएका हुन् । नवौं तहका चिकित्सक गएपछि अरू कसैलाई खटाइएको छैन । बिरामी सुत्ने तन्ना फोहोर अस्पतालभित्र बिरामी सुत्ने तन्ना (बेडकभर) लामो समयसम्म पनि धोएको पाइँदैन । बिरामी फोहोरमै सुत्न बाध्य छन् । ‘दैनिक बेड कभर फेर्नुपर्ने हो तर सधैं उही हुन्छ,’ डा. विन्दु पाण्डेले भनिन्, ‘बिरामीले बेड कभर सफा नभएको गुनासो पोख्दै आएका छन् ।’ जिल्ला अस्पताल ५० शय्याको छ ।