सिरहा/ सिरहाको नरहा–३ खोरियाबाट बुधबार बेलुका बेपत्ता भएका बालक शुक्रबार बेलुका हत्या गरी पुरिएको अवस्थामा भेटिएका छन् । घर नजिकैको भाण्टा बारीमा घाटीरेटी हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा स्थानीय भरोसी यादवका दुई वर्षका छोरा रमनको शव फेला परेको हो ।
प्रहरी र घर परिवारले विभिन्न ठाउँमा खोजी गरेपनि रमन भेटिएका थिएनन् । शुक्रबार बेलुका कुकुरले माटो खनेपछि त्यहाँ हेर्दा रमनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
बालक रमनको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ । बुधबार बेलुका ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफै बसेर छोराछोरीलाई सँगैराखेर पढाउनुभएको थियो । तर त्यसपछि केहीबेरमा रमन हराएका थिए ।
हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेको छ । अनुसन्धनमा असर पर्ने भन्दै पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन ।
पोखरीमा डुबेर बालकको मृत्यु
त्यसैगरी शुक्रबार नै सिरहाको सिरहा नगरपालिका-१९ स्थित जोघिया टोलमा शुक्रबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका समेश यादवको अन्दाजी ४ बर्षिय छोरा धिरज कुमार यादव रहेका छन्।
बालकलाई स्थानियले अपरान्ह ४ बजेतिर घर नजिकै रहेको पोखरीमा डुबेर अचेत अवस्थामा भेटेपछी उपचारकोलागी जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
हाम्रो संरचना । १६ बैशाख २०७४, शनिबार ०८:०२