३० जना केटीहरु एकसाथ कामने समस्या बाट पिडीत

अभिभावक धामीहरुलाई भेला गराएर समस्या समाधानको उपाय खोज्दै, स्वास्थ्य कर्मिलाई उपचार बाट बञ्चीत

जुम्ला /  जुम्लाको तातोपानी गाउँपालिका-२ हिमशिखर माविमा अध्ययनरत छात्रा विद्यालयमा पढ्दा-पढ्दै काम्न थालेपछि उपचारका लागि स्थानीयले धामी गुहारेका छन्। हिमशिखर माविका  कक्षा ६ देखि १० सम्मका किशोरीहरु  एक महिनादेखि निरन्तर काम्न थालेका छन्। 

गत चैत्र गते १३ देखि विद्यालयका छात्रामा काम्ने, रुने र चिच्याउने समस्या देखा परेको विद्यालयका निमित्त प्रधानाध्यापक राजु केसीले बताउनुभयो। सुरुमा एक जनाबाट देखिएको समस्या विस्तारै सामुहिक रुपमै देखिन थालेको छ।

‘चैत १३ गते कक्षा ६ मा पढ्ने एक नानीलाई बिहानको प्राथनामा काम्ने समस्या देखिएको थियो,’ केसीले भन्नुभयो, ‘त्यसछि निरन्तर सबै छात्रामा काम्ने र धेरै बोल्ने समस्या देखा पर्दे आएको छ।’ हालसम्म कक्षा ६ देखि १० सम्मका दुई दर्जन बढी छात्राहरुमा काम्ने समस्या देखिएको केसीले जानकारी दिनुभयो।

छात्रा विद्यालयमा काम्न थालेपछि अभिभावकले धामी गुहार्न थालेका हुन्। विद्यालयमा पठन-पाठन चलिरेहकै बेला किशोरीहरु काम्ने, चिच्याउने, कराउने तथा रुने गरेपछि स्कुलको पढाइ समेत प्रभावित भएको छ।

दैनिकजसो गाउँमा छात्राको उपचारका लागि धामी भेला हुने गरेको स्थानीयले बताएका छन्। जिल्लाबाट चिकित्सकहरु उपचारका लागि विद्यालयमा पुगेपनि उपचार गर्न नदिइ फर्काइएको छ।

चैत्र १७ गते नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सहरु उपचारका लागि पुगेपनि उपचार गर्न नपाई फर्काइएको विद्यालयका निमित्त प्रअ केसीले बताए। चिकित्सहरुले उपचारको लागि लगेका उपकरण विरामी छात्राले खोस्नुका साथै उपचार गराउन नमानेपछि चिकित्स फर्किएका हुन्।

‘चिकित्सक उपचारका लागि आउँदा किशोरीले आक्रमण गरे र औषधि समेत खोसिदिए,’ केसीले भन्नुभयो, ‘अभिभावकहरुले देउता लागेकाले छात्रालाई काम्ने समस्या देखा परेकोले औषधिले काम नगर्ने भनेपछि चिकित्सक निराश भएर फर्किनु भएको हो।’

उक्त समस्या सामाधानका लागि अभिभावकको माग अनुसार शुक्रबार विद्यालयमा स्थानीय धामी भेला भएका थिए। सर्वसाधारणले आस्था राख्ने स्थानीय बाबिरो मस्टो र सुँदरगाउँ मस्टोका विभिन्न धामीहरुलाई भेला गराएर समस्या समाधानको उपाय माग गरेको विद्यालय व्यवसथापन समितिका अध्यक्ष नरवीर सुनारले बताउनुभयो। धामीहरुले विद्यालय भवन बनेको ठाउँमा पहिले मन्दिर रहेको र मन्दिर भत्काइएकाले बालिकामा समस्या देखा परेको बताए।

मन्दिर भत्काएर विद्यालय भवन बनाइएकोले देउता रिसाएर दुःख दिएको स्थानीय जनक बुढाको भनाइ छ। थानीयले विद्यालयको भवन भत्काएर पुन सोही ठाउँमा मन्दिर बनाइदिन माग समेत गरेका छन्। चिकित्सकहरुले यसलाइ एक प्रकारको मानसिक दवाद पछी देखापर्ने रोग भएको र एक जनाई भएपछी मनोबिज्ञानको आधारमा अरुलाई पनि ह्ुदै जाने रोग भएको बताउने गरेका छन ।