मिरकोट(गोरखा) / मिरकोट ५ ढुंगेटारीकी कल्पना न्यौपाने यो चैतमा २८ वर्षमा टेकिन् । सेतो वस्त्र लगाउन थालेको भने आउँदो वैशाखले १३ वर्ष पुग्छ ।१५ वर्षको उमेरमा २०६० को वैशाख महिनामा उनी देउरालीका गणेश पन्तसँग विवाह बन्धनमा बाँधिइन् । विवाह गरेको तेस्रो दिनदेखि रुन थालेका उनका आँखा अहिलेसम्म पनि ओभाएका छैनन् ।
विवाह गरेको तेस्रो दिनमा दुलन फर्काएदेखि गणेशले ‘अर्काले टीका लाएर छोडेकी केटी पो रहिछे’ भनेर कल्पनालाई घृणा गर्न थाले । सधैं एउटै आरोपले नाजवाफ भएपछि उनी घरमा टिक्न सकिनन् । अन्ततः माइत गइन् । माइती घरमा पनि टिकिखान नपाएपछि उनी न वारि न पारि भइन् ।
‘माघको महिना थियो । स्कुलको झोला बिसाउने बित्तिकै हँसिया नाम्लो लिएर घाँस काट्न जाने चलन थियो । खल्तीको मकैभटमास चपाउँदै वनतिर गएँ । घाँसको भारी बोकेर फर्कंदा साँझ परिसकेको थियो’, उनी भन्छिन्, ‘घरमा नचिनेका मान्छे आएका रहेछन् । आफू सानै थिएँ । टीका लगाउने भने । को हुन्, कहाँका हुन् केही थाहा थिएन । आमाले जे जे भन्नुभो, त्यही त्यही गरें ।’ बिहे गर्ने दिन छिनोफानो भइसकेपछि ऊसँग बिहे नहुने भयो भन्ने सुनियो । त्यतिबेला उनी सात कक्षामा पढ्थिन् ।
‘मलाई त के थाहा ? बुबाले त्यो दिनदेखि वैकल्य (छिनोफानो भएर बिहे नभएकी केटी) ले छोएको पानी पनि चल्दैन भन्नुभयो । हुँदाहुँदै बुबाले यस्तालाई त घरमा पनि राख्नु हुँदैन भन्न थाल्नु भयो’, बिगत सम्झेर उनले रुँदै भनिन्, ‘बुबाआमाले जो भेटे पनि यस्ती अलच्छिनी, वैकल्य भन्नु हुन्थ्यो । मलाई चाहिँ अब मैले छोएको पानी कसैले पनि खाँदैनन् । अब के गर्ने होला भनेर एकदम अत्यास लाग्ने, रातभरि निद्रा नलाग्ने, सँधै रुन मात्र मन लाग्ने, आत्महत्या गरुँजस्तो लाग्ने । आफूले केही नगरी म यस्तो अपहेलित भएँ । कहिल्यै नदेखेको मान्छे ल्याएर किन टीका लाइदिए ? किन बिहे गरेनन् ? मेरो पढ्ने कलिलो उमेरमा किन यस्तो भयो, जस्तो लाग्थ्यो । एकदम दुःख लाग्थ्यो । एकदम रुन्थें । स्कुलमा शिक्षकले के भन्लान् ? भनेर स्कुल जान मन पनि लागेन ।’ सात कक्षा पढ्दापढ्दै उनले पढ्न छोडिन् ।
यसअघि पनि उनलाई घरमा पढ्ने वातावरण थिएन । बुबा, आमाले सधैं काम मात्र लगाइरहन्थे । ‘बुबाले पनि पढ्नै नदिने । बिहानदेखि नै जाँड खाने । किताब पल्टाएर बसेको देख्यो कि चुट्न आउने’, कल्पना रुन्छिन्, ‘किताब छोएको देख्नै नहुने । दाइ गोठालो पठाइदिने, आमा तैंले घाँस नकाटे भैंसी अघाउँदैन भन्ने । कापीकलम किन्न पैसा माग्यो भने लखेट्ने । साह्रै पापी थिए बुबाआमा ।’ बुबाआमा आफंै झगडा गरेर पढ्न नपाएको उनी सुनाउँछिन् । ‘बुबा सधैं बिग्रिएका आइमाईको घरमा जाने, रक्सीले मातेर आउने । आमाचाहिँ बुबा आउनेबित्तिकै झगडा गर्ने । घरमा सधैं कुटाकुट, रुवाबासी भएपछि हाम्रो कलिलो मन पढ्नै नमान्दो रहेछ’, बाल्यकाल सम्झिँदै उनी भन्छिन्, ‘बिग्रिएका आइमाइले गर्दा पनि हाम्रो समाज धेरै बिग्रिएको रहेछ ।’
माघको महिना थियो । स्कुलको झोला बिसाउने बित्तिकै हँसिया नाम्लो लिएर घाँस काट्न जाने चलन थियो । घाँसको भारी बोकेर फर्कंदा साँझ परिसकेको थियो । घरमा नचिनेका मान्छे आएका रहेछन् । टीका लगाउने भने । बिहे गर्ने दिन छिनोफानो भइसकेपछि ऊसँग बिहे नहुने भयो भन्ने सुनियो । -कल्पना न्यौपाने
थाहा नपाएजस्तो गरे पनि गणेशले दाइजोको लोभले अरूले टीका लगाएकी कल्पनासँग बिहे गरेका रहेछन् । ‘थाहा पाउँदापाउँदै पनि धेरै सम्पत्ति पाइन्छ भनेर मसँग बिहे गरेका रहेछन् । तर हाम्रो माइतमा के थियो र दिनलाई’, उनी भन्छिन्, ‘त्यही भएर तेस्रो दिनदेखि नै बस्नखान दिएनन् । टन्नै सम्पत्ति दिन्छु, विदेश लगिदिन्छु भनेर मलाई झुक्याएर अर्काले टीका लाएर छोडेकी केटी भिराइदिए भनेर हेलाँ गरे ।
त्यो सहनसभन्दा त म झुन्डेर मर्छु, त्यहाँ त मरे नि बस्दिनजस्तो मात्रै लाग्यो । माइत आएर बाबुआमालाई भनें, ‘म त्यहाँ त मरे पनि जान्न । किन एक ठाउँमा टीका लगाएर अर्को ठाउँमा दिएको ? मरे पनि जान्न, प्राणै छाडिदिन्छु त्यो घरमा जाँदैजान्न भनेर रुन्थें ।’ बिहे गर्ने उमेर नहुँदै न आफूले रोजेको केटा, न टीका लगाएको केटा, झुक्याएर बिहे गरेको त्यो पीडा सम्झँदा अहिले पनि उनको आँखा साउन बन्ने गर्छ ।
पीडाले माइत आएकी कल्पनाले जन्म दिने बुबाआमासँग समस्या राख्नै पाइनन् । ‘किन एक ठाउँमा टीका लगाएर अर्को ठाउँमा झुक्याएर दियौं ? अर्काले टीका लाएर छोडेकी केटी भनेर मलाई सधैं श्रीमान्ले हेलाँ गर्छ भनेर बाबुलाई सुनायो कि खुर्पा लिएर काट्न आउँथे ।’ आफ्नो दुःख र समस्यामा एक शब्द पनि बोल्न नपाएपछि उनी माइतीघर छाडेर कुन्दुरटारमा डेरा गरेर बस्ने भाउजूको शरणमा गइन् । भाउजूकोमा तीन वर्ष बसिन् । त्यहाँ बस्दा उनले तेह्रकिलो र आँबुखैरेनीमा ६ महिने सिलाइकटाइ तालिम लिइन् । ‘बिहे गर्दा लाएको गहना बेचेर सिलाइ तालिम लिएँ’, उनी भन्छिन्, ‘त्यसपछि बल्ल आफ्नो पसिनाको कमाइ खान पाएँ ।’
अहिले उनी माइतीघरको जग्गामा सानो टहरो बनाएर बसेकी छन् । त्यहाँबाट पनि हट्न बारम्बार चेतावनी आइरहेको उनी बताउँछिन् । उनको माइतीको विभिन्न ठाउँमा गरेर ३० रोपनी जग्गा छ तर एकजना अट्ने सानो घर बनाउन जग्गा पनि नदिएको उनी बताउँछिन् । ‘एउटा सानो घर बनाउने जग्गा दिनू, म त्यहीँ सिलाइबुनाइ गरेर पेट पाल्छु भन्दा पनि पाएको छैन । यहाँ पनि छोड्छोड् भनिरहन्छन्’, उनी भन्छिन्, ‘यो झुप्रो भएको जग्गाको लालपूर्जा पाए भूकम्पको पैसाले घर बनाउन पाउथें होला । जन्म दिने बाबुआमाको त्यत्रो जग्गा छ । अलिकति मात्रै पाए पनि कसैलाई दुःख दिन्नथें । हातमा सिप थियो । लालपुर्जा नहुँदा बिजुलीको मिटरबक्स जोड्न पाएको छैन । बिजुली जोड्न रातभरि काम गर्न, कल चलाउन सजिलो हुन्थ्यो । तर, जन्मदिने बाबुआमासँग एक शब्द बोल्यो कि खुर्पा लिएर आउँछन् । लखेट्छन् ।’ भाउजूले मात्र माया ममता, सहयोग गरेको गुन उनी सम्झन्छिन् ।
उनले गत फागुन २६ गते पतिसँग विधिवत सम्बन्ध विच्छेद गरिन् । सम्बन्ध विच्छेद गरेबापत पतिसँग केही पनि दाबी नगरेको उनी बताउँछिन् । ‘कि घरतिर कि माइततिर मात्र दाबी गर्न पाइन्छ, दुईतिर पाइँदैन भन्ने सुनेको थिएँ । त्यही भएर मैले त्यो नबसेको घरमा के दाबी गर्ने भनेर माइततिर दाबी गरेको ।’उनी अहिले जन्मदिने बुबाआमाको माया ममता पर्खिरहेकी छन् ।
उनका छिमेकी कृष्ण न्यौपानेका अनुसार बिहे हुनासाथ घर छाडेर बसेकी उनलाई माइती पक्षले सहारा दिएनन् । सानै उमेरदेखि मेला पर्म गरेर हातमुख जोरेकी उनलाई गरिखाने धेरथोर जग्गाजमिनको चाँजोपाँजो मिलाउनुपर्ने उनी बताउँछन् । ‘उनका बुबा, आमा, दाइ सबै त्यस्तै खालका छन् । कल्पनाको पक्षबाट जो बोल्यो, उनका बुबाआमाले नराम्रो सोचिहाल्छन्’, न्यौपाने भन्छन्, ‘नबुझ्ने समाजमा गाह्रो हुने रहेछ । त्यसैले समाजले बोल्न नसकेको हो । बास्तबमा कल्पनाको सानैदेखि बिचल्ली नै छ । उनले कसैको साथ र सहयोग पाएकी छैनन् ।’
हाम्रो संरचना । १९ चैत्र २०७३, शनिबार २१:३९