हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 1237 Views

सामान्य भाषामा आत्तिने रोगलाई एन्जाइटी भनिन्छ। कुनै खतरा भनेर हाम्रो शरीरले अथवा दिमागले महसुस गर्‍यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो भने शरीरले प्रतिक्रिया देखाउँछ। प्रतिक्रिया देखाउने क्रममा जुन लक्षणहरू शरीरमा उत्पन्न हुन्छ त्यसलाई हामीले एन्जाइटीको भन्छौं।

यो यस्तो समस्या हो, जुन कुनै बस्तु, ठाउँसँग सम्बन्धित भई मानिस डराउने, आत्तिने गर्छ। अग्लो ठाउँमा डराउने, जहाज चढ्दा डराउने, रगत देख्दा वा रगत बग्ने घाउँ देख्दा डराउने, मानिसको जम्घटमा डराउने, आफूभन्दा ठूलो मानिस देख्दा डराउने, कुकुरदेखि डराउने, जंगली जनावरदेखि डराउने, भएमा पनि मानिसहरू डाक्टर कहाँ आउँछन्। मानिसमा थोरै डर हुनु सामान्य नै हो। डर हुनाले मानिस सचेत बन्छ। तर, जब डर बढी हुन्छ यसले दैनिक काममा समेत बाधा पुर्‍याउँछ, मानिसमा अत्यन्त छटपटी हुन्छ। जव मानिस यी बस्तुसँग नजिक पर्छन्, तव अचानक मन डराउने, आत्तिने छटपटी हुने, सास फेर्ने गाह्रो हुनु, मुटुको ढुकढुकी बढ्ने, पिसाव फेर्न मन लाग्ने, मरिएला भन्ने भय हुन्छ । यस्तो बेलामा एन्जाइटी भएको हुन्छ।

कुनै खतरा भएको अवस्थामा एन्जाइटी हुनु भनेको सामान्य हो। तर, त्यस्तो खतराजन्य अवस्था केही छैन तर पनि बारम्बार प्रतिक्रिया भइरहन्छ भने त्यो एन्जाइटीको रोग हो। त्यो आत्तीने बिमारी हो। दस, बाह्र वर्षे बच्चादेखि नब्बे पन्चानब्बे वर्षसम्मको बृद्ध बृद्धालाई एन्जाइटी देखिन सक्छ।

यो जसलाई पनि देखिनसक्छ। कुनै विशेष जाति अथवा कुनै विशेष तप्काको मान्छेलाई मात्र हुने होइन। पढेलेखेकेा होस या नपढेकेा होस जो-कोहीलाई पनि यो रोगले सताउँछ।

समस्यालाई थेग्न नसकेपछि आत्तिने हुन्छ। यो रोग लागेपछि कहिलेकाही अनायशै विशेष किसिमको सोचाइ दिमागमा आयो, विशेष किसिमको परिस्थिति उत्पन्न भयो भने शारीरिक प्रतिक्रियाहरु त्यसले देखाउँछ। मुटु हल्लिने जिउ थरथर काम्ने, ओठमुख सुक्ने, श्वास फेर्न अफ्ठेरो भएको जस्तो महसुस हुने, घाँटीमा केही बसेको छ कि, अड्केको छ कि जस्तो लाग्ने,  छाती भारी हुने, छाती पोल्ने पसिना आउने र मन आतंकित हुन्छ। केही भइहाल्छ कि जस्तो हुने, बहुलाउछु कि, मर्छु कि जस्तो पनि हुन्छ।

यस्तो लक्षण अचानक उत्पन्न हुन्छ र धेरैबेर देखिदैन। कम्तिमा पन्ध्र मिनेटदेखि पैतालिस मिनेटसम्म यस्तो लक्षण देखिन्छ। त्यसपछि आफैं सामान्य अवस्थामा पुग्छ।

फेरि केही समयपछि कुनै समस्या आयो अथवा गलत सोचाइ आयो भने फेरि पनि यस्ता लक्षण देखिन्छन्।

यस्तो लक्षण देखिएपछि मान्छेहरुमा पहिले आफू मुटुरोगी भइयो कि भन्ने सोचाइ आउँछ। श्वास फेर्न अफ्ठेरो भएको छ भने फोक्सोको रोग लाग्यो कि भन्ने समेत सोचाइ आउँछ। चेतनाको कमी र ज्ञानको कमीले गर्दा यो मानसिक रोगको लक्षण होकि भन्ने थाहा नहुन सक्छ।

एन्जाइटी भयो भने निन्द्रामा पनि समस्या आउनसक्छ। दिनमा तीन-चार चोटि एन्जाइटीको लक्षण देखा परेमा, राति केही मनमा नराम्रो कुरा खेल्यो भने, कसैले निन्द्रामा व्युझायो भने निन्द्रामासमेत समस्या आउन सक्छ।

एन्जाइटीको लक्षणले भेटेको बेलामा मान्छेलाई धेरै गाह्रो हुन्छ। छटपटी हुन्छ। यो समस्या बाराम्बार भइराख्यो भने झनै तनाव हुन्छ।

एन्जाइटीको समयामै उपचार गर्न जरूरी छ। सबैभन्दा पहिला एन्जाइटीबारे ज्ञान हुनुपर्छ। यसको लागि सम्बन्धीत बिशेषज्ञ डाक्टरकहा जानुपर्छ। ज्ञान र चेतना पनि जगाउनुपर्छ। यस्तो रोगको उपचार हुन्छ। यो उपचार गरे निको हुने रोग हो भन्ने बुझ्नुपर्छ।

साइको थेरापी र औषधीको उपचार गरी यसको उपचार दुई किसिमले गरिन्छ।

धेरैले औषधिको उपचार लिनुपर्छ । यो सम्बन्धी औषधीहरु बजारमा पाइन्छ तर डाक्टरको प्रेसक्रिप्सनबिना औषधी किन्न पाइँदैन। अरू रोगकोभन्दा यसको औषधि लामो समयसम्म खाइरहनुपर्छ।

वार्ताको माध्यमबाट काउन्सिलीङ हुन्छ। यसमा बिरामीलाई ‘रिल्याक्सेसनको’ तरिका सिकाइन्छ। आत्तिएको बेलामा बिरामीलाई आफ्नो शरीरलाई कसरी रिल्याक्स दिने भन्ने तरिका सिकाइन्छ। यस्ता तरिका अपनाएपछि मान्छेमा एन्जाइटीको लक्षण कम हुन्छ।

यो रोगको निर्मुल नै पार्न त सकिदैन। तर यसको उपचार भने हुन्छ। लामो समयसम्म औषधी खाइरहनुपर्छ । नियन्त्रण भइसकेपछि औषधी घटाउने बन्द गर्ने गरियो, मान्छे सामान्य पनि भयो तर फेरि पछि एन्जाइटी दोहोरिन सक्छ। त्यसैले पहिलो पटक एन्जाइटी भएको छ भने उचित मात्रामा, उचित औषधी, उचीत समयसम्म खानुपर्छ।

एन्जाइटी हुँदा मान्छेकेा ‘व्लडप्रेसर’ बढ्न सक्छ। सामान्य अवस्थामा भन्दा बढी मुटु हल्लिन्छ। यस्तो भयो भने ‘प्रेसर’ बढ्छ। अनि बिरामीलाई ‘प्रेसर’ बढ्यो कि भन्ने पर्छ । यस्तो बेलामा ‘फिजिसियन कहाँ’ बिरामी पुग्यो भने डाक्टरले प्रेसरको औषधि दिन्छ यो गलत हो।

एकछिन मात्रै एन्जाइटी नियन्त्रण गर्‍यो भने प्रेसर सामान्य हुन्छ। मुटु हल्लिनसाथ मुटुरोग भयो भन्ने होइन। मुटुरोगले गर्दा मुटु हल्लीएको होइन।

यो सबै समस्यायलाई देशको समस्यासँग जोडेर हेर्न सकिन्छ। सरकारको स्थायीत्व छैन, आर्थिक सुरक्षा, सामाजिक सुरक्षा, रोजगारी छैन यस्तो बेलामा मान्छे धेरै आत्तिनु स्वभाविकै हो।

काम गर्न विदेश गएका युवालाई पनि एन्जाइटी छ। किनकि उनीहरु नयाँ ठाउँमा छन् घर परिवारको समस्याले एन्जाइटी हुन्छ। अनि यता घरपरिवारलाई पनि असुरक्षित भएको महसुस हुन्छ जसले गर्दा घरपरिवारका अरु सदस्यलाई समेत एन्जाइटी हुन्छ।

तनाव सबैलाई हुन्छ तर समुन्नत देश र गरिब देशमा यो मात्रा फरक हुन्छ। समुन्नत देशका मानिसलाई भन्दा गरिब देशका मानिसलाई बढी एन्जाइटी हुन्छ। तर यो नै मापनको आधार भने होइन।

  • लक्षणहरू
  • कुनै अप्रिय घटना घट्ला भन्ने डर लाग्छ।
  • हात खुट्टा हल्लिन्छन्।
  • मुटु ढुकढुक हुन्छ।
  • टाउको दुख्छ।
  • अतालिन्छ।
  • छटपटि हुन्छ, मुख सुक्छ, पेटमा असजिलो महसुस हुन्छ।
  • पिसाब फेर्नु पर्ने, दिसा गर्न जानुपर्ने भइरहन्छ।
  • श्वास प्रश्वासमा अवरोध आउँछ।
  • नराम्रो सपना देखिन्छ, निन्द्रामा डराउने हुन्छ।

 

रोकथाम कसरी गर्ने

एन्जाइटी भइसकेपछि यसको नियन्त्रणका लागि औषधि नै खानुपर्छ। व्यक्तिको पारिवारीक स्थिति राम्रो छ, उसलाई कुनै खालको तनाव छैन सानैदेखि राम्रो शिक्षा र वातावरण पाएको छ भने एन्जाइटीको खतरा कम हुन्छ। तर, आर्थिक अवस्थाले मात्रै यसको मापन हुने भने होइन।

एन्जाइटीको समस्या भएको व्यक्तिको ध्यान एकतृत हुँदैन जसले गर्दा ध्यान, योगा गर्न कठिन हुन्छ। यसको नियन्त्रण भइसकेपछि भने ध्यान योगा र शारीरिक व्यायम गर्नु राम्रो हो।

खानपानमा ध्यान दिनुपर्छ। एन्जाइटीको समस्या हुनेले चिया, कफी, चिसो पेय पदार्थको सेवन नगरकेा राम्रो। रक्सी चुरोट त लिनु हुँदैन। सुर्तिजन्य र रक्सीजन्य पदार्थको प्रयोग गर्नु हुँदैन। जसले एन्जाइटीको मात्रा बढाउँछ।

यस्ता रोगीलाई बढी तीतो, पिरो, गरम मसला एवं विरुद्ध आहारको सेवन गर्नु हुँदैन। प्राकृतिक अघारणीय वेगहरू जस्तै दिसा–पिसाब धेरै बेर रोक्नुहुँदैन।

यस्ता विरामी आत्तिने हुनाले डरलाग्ने वस्तु हेर्नु हुँदैन। जस्तो टेलिभीजनमा डरलाग्दा दृष्य, रगत दुर्घटना आदि।

प्रस्तुतिः सन्जिब बगाले