बच्चामा क्षयरोगको गम्भीरता बुझिराखौं

मार्च २४ मा वैज्ञानिकले क्षयरोग गराउने किटाणु पत्ता लागेको ऐतिहासिक दिन भएकाले त्यसको स्मरणमा विश्वभर क्षयरोग दिवस मनाइन्छ।

नेपालमा पनि मनाइदैं आएको भएपनि यहाँ क्षयरोग अझै नियन्त्रण भएको छैन। तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन २० जनाको क्षयरोगबाट मृत्यु हुन्छ। प्रत्येक वर्ष २४ हजार क्षयरोगका बिमारी थापिन्छन् जसमध्ये करिव ५ हजार २ सय जना पन्ध्र वर्ष मुनिका बालबालिका हुने गर्छन्।

सन् १८८२ मा डा. रोबर्ट कोचले तत्कालिन युरोपमा असंख्य मानिसको ज्यान लिने क्षयरोगको कारण माइकोब्याकरियम ट्युबर्कुलोसिस नामको किटाणु हो भन्ने पत्ता लगाए। त्यसको केही वर्ष पछि उक्त किटाणु मार्ने औषधि समेत पत्ता लाग्यो।

सन् २०१७ मा अर्थात् औषधि पत्ता लागेको १३५ वर्षपछि पनि क्षयरोगले प्रत्येक वर्ष १५ लाख मानिसको ज्यान लिने गरेको छ। त्यसमध्ये करिव ८० हजार वालवालिका छन्। एउटा किटाणुको संक्रमणबाट हुने उक्त मृत्युदर एचआइभी/एड्स पछि दोस्रो नम्बरमा हो।

क्षयरोगबाट हुने मृत्युको झन्डै ९५ प्रतिशत विकासशील देशमा हुन्छ। निकै प्रभावकारी औषधि निशुल्क पाउने व्यवस्था हुँदाहुँदै पनि संक्रमितमध्ये पन्ध्र प्रतिशत बालबलिका क्षयरोगबाट मर्नु दुर्भाग्यपूर्ण कुरा हो।

एचआइभी संक्रमित क्षयरोगका बिरामी मध्ये एक-चौथाइको ज्यान जाने गरेको छ। अझै कहालीलाग्दो चुनौति त केही क्षयरोगीमा पहिलो पंक्तिका सबैजसो औषधिहरूले काम नगर्ने अवस्था आउनु हो, जुन बढ्दै गइरहेको छ।

डा. दिनेश धरेल


नेपालमा झन्डै आधा जनसंख्यामा क्षयरोगको संक्रमण रहेको अनुमान गरिन्छ। तर संक्रमण हुदैमा रोग लाग्ने वा लक्षण देखिने भन्ने चाँहि होइन। जब संक्रमित व्यक्तिको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, शरीरमा भएका किटाणुहरु सक्रिय हुन्छन र रोग लाग्छ। बच्चाहरुमा संक्रमण भयो भने क्षयरोग देखिने सम्भावना बयस्क भन्दा बढी हुन्छ।

बच्चामा क्षयरोग संक्रमण भएपछि तुलनात्मक रुपमा छिटो र गम्भीर खालको असर देखिने हुन्छ। यस्तो हुनुको कारण क्षयरोगका किटाणुहरु मस्तिस्कबाहिरको झिल्ली र कलेजो लगायत शरीरभरी फैलनु हो। फोक्सोमा हुने क्षयरोग पनि बढी जटिल प्रकारको हुनसक्छ।

बच्चामा देखिने क्षयरोगका लक्षण उमेर र प्रभावित अंग अनुसार फरक हुन्छन्। लामो समयसम्म मन्द ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्ने वा उमेरानुसार तौल नबढ्ने जस्ता लक्षण बच्चामा पनि देखिन्छन्। शिशुहरुमा क्षयरोग हुदा निमोनिया, मेनिन्जाईटिस वा सेप्सिस जस्ता ब्याक्टेरियाले गराउने गम्भीर संक्रमण जस्तो केही दिनभित्रै सिकिस्त हुने र ज्यान समेत जानसक्ने हुन्छ। दस वर्षभन्दा साना बालबालिकाहरुमा लामो समयसम्म खोकी लागेमा क्षयरोगको शंका गर्नुपर्ने हुन्छ। तर फोक्सोकै क्षयरोग हुँदा पनि खकारमा रगत नदेखिन सक्छ र जाच गर्नकै लागि खकार निकाल्न पनि गाह्रो हुनेगर्छ। छातीको एक्स-रे गर्दा दाग भने देखिन सक्छ। किशोर-किशोरीमा देखिने क्षयरोग चाँहि बयस्कमा जस्तै हुन्छ।

बच्चाहरुमा क्षयरोग फोक्सो बाहेक ग्रन्थी, पेट/आन्द्रा, मस्तिस्क बाहिरको झिल्ली लगायत अन्य अंगहरुमा पनि धेरै नै देखिने गर्छ, जुन पत्ता लगाउन लक्षण र शारीरिक जाच बाहेक बिशेष परिक्षणहरु पनि गर्नुपर्छ। उदाहरणको लागि क्षयरोगले हुने मेनिनजाइटिसमा अरु कारणले हुने मेनिनजाइटिसमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, बेहोश हुने, घाटी अररो हुने हुन्छ र ढाडबाट पानि निकालेर जाँच गर्दा केही हदसम्म छुट्याउन सकिन्छ। उक्त पानीमा गरिने जिन-एक्सपर्ट भनिने बिशेष जाँच, जुन प्राबिधिक रुपमा सम्भब छ तर हाल राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत शुरु भैसकेको छैन, गर्न सकियो भने मेनिनजाइटिस क्षयरोगले गर्दा भएको हो की होइन भनेर छुट्याउन सकिन्छ।

बच्चामा हुने क्षयरोगको अर्को गम्भीर पाटो भनेको समयमा निदान हुन नसक्नु हो। धेरै जसो यो रोगको प्रकृतिले गर्दा हो किनभने क्षयरोगका लक्षणहरु बच्चामा बयस्कमा जस्तो नहुन सक्छ र परीक्षण गर्न पनि सजिलो छैन। यसको अर्थ बच्चामा क्षयरोगको सही तरिकाले समयमा नै पत्ता लगाउन स्वास्थ्यकर्मीहरुमा थप दक्षता चाहिन्छ। नेपालको रास्ट्रिय क्षयरोग कार्यक्रमको ध्यान बयस्कमा हुने फोक्सोको क्षयरोगको पहिचान र उपचारमा बढी केन्द्रित हुने गरेकाले बालबालिकामा हुने क्षयरोग धेरै जसो त पहिचान नै नहुने गरेको पनि हुनसक्छ।

बच्चामा क्षयरोग सर्ने भनेको खकारमा किटाणु देखिने फोक्सोको क्षयरोग भएका बयस्कको सम्पर्कमा आएर हो र रोग सर्ने माध्यम स्वासप्रस्वास मात्र हो। बालबालिकामा धेरै संख्यामा क्षयरोग देखिनुलाई क्षयरोग नियन्त्रण कार्यक्रमको असफलता मानिन्छ। किनभने बयस्कमा संक्रामक खालको फोक्सोको क्षयरोग समयमा पत्ता लगाएर पुरा उपचार गरेको छ भने बच्चामा क्षयरोग सर्ने पाउँदैन।

यदि एकजना ब्यक्तिलाई क्षयरोग लागेको छ भने उसको पुरै परिवारमा अरुलाई पनि रोग छ की भनेर खोज्नु जरुरी हुन्छ। खासगरी पाँच वर्ष मुनिका बच्चाहरु छन् भने त लक्षण केही नभए पनि क्षयरोगको जाँच गर्नुपर्छ, रोग देखिए पूर्ण उपचार गर्नुपर्छ र लुप्त अवस्थाको संक्रमण पाइए क्षयरोग रोक्ने औषधि खुवाउनु पर्छ। नवजात शिशुको आमालाई फोक्सोको क्षयरोग छ भने रोग सर्ने सम्भावना अधिक हुने भएकोले रोकथामको लागि शिशुलाई छ महिनासम्म औषधि दिईन्छ तर स्तनपान गराउन भने छोड्नु हुँदैन।

क्षयरोग सर्नबाट बचाउन बि.सी.जी. खोप जन्मेको केही दिन भित्रै लगाउनुपर्छ, तर छुटेको खण्डमा पछि पनि दिन सकिन्छ। यो खोपले फोक्सोको क्षयरोग लाग्नबाट बचाउने भनेको पचास प्रतिशतले मात्र हो तर ज्यान लिन सक्ने गम्भीर खालको क्षयरोगबाट भने सत्तरी प्रतिशतले बचाउँछ। यसको अर्थ के हो भने हाम्रो जस्तो क्षयरोग धेरै देखिने देशमा यो खोपले धेरै बालबालिकालाई क्षयरोग लाग्न र ज्यान जानबाट बचाएको छ, तर खोप लगाउदैमा पूर्णतया सुरक्षित हुन्छ भन्ने चाँहि होइन। त्यसैले क्षयरोग लागेका बयस्कको सम्पर्कमा आउनबाट रोक्नु पर्छ र केही समयसम्म सम्पर्कमा आएमा क्षयरोगको लागि जाँच गरेर आवश्यकता अनुसारको औषधि सेवन गर्नुपर्ने हुन्छ।

बच्चामा क्षयरोग पत्ता लगाउन त्यति सजिलो छैन र धेरै जसो त प्रमाणित गर्न सकिदैंन। त्येसैले दक्ष डाक्टरले लक्षण वा जाँचबाट क्षयरोग हो भनेर निदान गरेको खण्डमा नियेमित रुपमा प्रत्यक्ष निगरानीमा कम्तिमा छ महिनासम्म दुईभन्दा बढी औषधि खुवाएर उपचार गर्नुपर्छ। बिरामीले नजिकैको डट्स केन्द्रबाट औषधि निशुल्क रुपमा पाउन सक्छन्। रोग पुरा निको हुन, बल्झिन नदिन र नियमित औषधिले काम नगर्ने अझ कडा खालको क्षयरोग लाग्न नदिन औषधिको मात्रा पुरा गर्न र स्वास्थ्यकर्मीको अनुगमनमा बस्न जरुरी हुन्छ। क्षयरोग लागेको बच्चालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ र पर्याप्त आराम तथा मनोबैज्ञानिक सहायता दिनुपर्छ।

सन् २०१६ देखि २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने रणनीतिमा नेपाल पनि सहभागी छ। यो रणनीति अनुसार क्षयरोगबाट हुने मृत्यु सन् २०२० सम्ममा ३५ प्रतिशत र २०३५ सम्ममा ९५ प्रतिशतले घटाउनु पर्नेछ भने नया रोगीको दर सन् २०२० सम्ममा २० प्रतिशत र २०३५ सम्ममा ९० प्रतिशतले कम गर्नु पर्ने लक्ष्य रहेको छ।

विश्व समुदायले लुप्त महामारीको रुपमा किटान गरेको बालबालिकाको क्षयरोग लगायत समग्ररुपमा क्षयरोगबाट हुने मृत्यु, रोग र कठिनाईलाइ शुन्यमा पुर्याउने परिकल्पना निकै महत्वाकांक्षी देखिन्छ। तर यसलाई सम्भव बनाउन सक्दा मात्र संसारबाटै क्षयरोगको महामारी अन्त्य गर्न सकिन्छ। यसको लागि सरकारको नेतृत्व र जवाफदेहिता अनि समुदायको सक्रिय सहभागितामा समता र मानव अधिकारको रक्षा गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय साझेदारीलाई सैद्दान्तिक आधार मानिएको छ।

क्षयरोग उपचार गर्दा निको हुने तर उपचार नगर्दा ज्यान लिने रोग हो भन्ने कुरा राम्ररी बुझाउनु र उपचारको लागि बिरामी र परिवारलाई आवश्यक सहायता पुर्याउनु स्वास्थ्यकर्मी मात्र हैन, हामी सबै नागरिकको जिम्मेवारी पनि हो।

(वालरोग बिशषज्ञ डा दिनेश धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उप-प्राध्यापक हुन्।)