नारायण अधिकारी
काठमाडौं/ निलो टिसर्ट, क्याप टोपी, मुखमा माक्स र अगाडि झोला भिरेको एक विदेशी नागरिक युरे ड्रिमेन्जी ठमेलमा रहेको होटल नेपालय भित्र दिउँसो साढे १ बजे पसे । दरबारमार्ग तर्फबाट ठमेल संचयकोष, नरसिंह चोक हुँदै उनी होटल नेपालयको बेड नम्बर ३०७ मा प्रवेश गरे ।
ती विदेशी नागरिकलाई थाहै नदिई एक हुल मानिस उनैको पछि थियो । युरे ड्रिमेन्जी कोठा नम्बर ३०७ मा विदेशी प्रवेश गरे । उनलाई पिछा गरेका एक हुल मानिस होटल हिमालयको रिसेप्सनमै रोकियो । युरे ड्रिमेन्जीको सम्पूर्ण विवरण ती मानिसले लिए । त्यसको केही मिनेटमै ३०७ नम्बर कोठामा रहेका युरे ड्रिमेन्जीको हातमा हत्कडी लाग्यो । उनको हातमा हत्कडी लगाएसँगै होटल नेपालयकै अरु कोठा पनि खानतलासी भयो । कोठा खानतलासीको क्रममा कोठा नम्बर ४०७ कोठाबाट सात लाख आठ हजार तीन सय ५० रुपैयाँ, १६ सय अमेरिकी डलर, २२ सय ४५ युरो गरी झण्डै १२ लाख रुपैयाँ बरामद भयो । त्यस्तै विभिन्न देशका नागरिकको नाममा रहेका चार सय ९५ वटा एटिएम कार्ड, कार्ड स्किमिङ डिभाइस, ल्यापटपलयागतका सामान पनि बरामद भयो । त्यसको आधा घण्टामै अन्य तीन जना विदेशी नागरिकको हातमा पनि हत्कडी लाग्यो । यो थियो चैत २० गतेको घटना ।
अर्काको एटिएम कार्डबाट अनधिकृत रुपमा पैसा निकाल्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले चैत २० गते चार जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल तथा दरबारमार्गलाई केन्द्रित बनाई अर्काको एटिएमबाट पैसा निकाल्ने चार जना मोल्दोभियन नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निकु डेरडीजा, एलेक्स भनिने भेसिल फेतेस्कु, युरे ड्रिमेन्जी र इग्वेइन डियोरिजा छन् । उनीहरुसँग रोमानिया र मोल्दोभिया गरी दुई देशको पासपोर्ट रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले नेपाल आउँदा विभिन्न देशका नागरिकका एटिएम कार्ड लिएर आउने र पिन नम्बर स्क्यानिङ गरेर पैसा निकाल्ने गरेको रहस्य खुलेको छ । यसरी निकालिएको सबै रकम विदेशी नागरिकको भएको इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
विदेशबाट नेपाल आउँदा विभिन्न उपकरण लिएर आउने तर यसबारे विमानस्थलका कर्मचारीलाई राम्रोसँग थाहा नभएका कारण यस्तो घटना दोहोरिरहेको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार नेपाली एटिएम कार्डमा चिप कार्डको प्रयोग नहुँदा यस्तो घटना दोहोरिने गरेकोे छ ।
यसरी परे पक्राउ
पक्राउ परेका चार जनामध्ये एक जना पहिलो पटक, दुई जना दोस्रो पटक र एक जना तीन पटक नेपाल आएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु नेपाल आउनुको मुख्य उदेश्य नै अनधिकृत रुपमा एटिएमबाट पैसा निकाल्नु रहेको सिआइबी एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘नेपाल आए लगतै भारत, मलेसिया लगायतका खाडी देशतर्फ उनीहरु जाने गरेको देखिन्छ’ एसएसपी बस्नेतले भन्नुभयो ‘नेपाल आउने अर्काको एटिएमबाट पैसा निकाले र लगतै अन्य देश जाने गरेको देखिन्छ ।’
यसरी पटक पटक नेपाल आई पैसा निकाले विदेशीने गरेका उनीहरु यही दाउमा थिए । ‘चैत २० गते आइतबार पनि उनीहरु दरबारमार्गमा रहेको हाम्रो एटिएम बुथमा एक मानिस छिर्यो, क्याप टोपी लगाएको छ, मुखमा माक्स लगाएको छ, पैसा निकाल्दै झोला हाल्दै गरेको सिसी टिभी फुटेजमा देखियो’ इन्भेष्टमेन्ट बैंकका कर्मचारी रिना चन्दले भन्नुभयो ‘त्यसपछि तुरुन्त हामीले सिआइबीलाई सिसी टिभीको फुटेजसहित खबर गर्यौं, त्यसको आधा घण्टामै चार जना पक्राउ परे ।’
एटिएम काण्डमा अहिलेसम्म १५ जना विदेशी पक्राउ
एटिएम ठगी नयाँ प्रविधिको भएको भन्दै सिआइबीले २०७० सालदेखि यस सम्बन्धी अनुसन्धान थालेको थियो । सिआइबीको अहिलेसम्मको आठवटा अप्रेशनबाट १५ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका सबै विदेशी नागरिक हुन् ।
यस्तो छ पक्राउ पर्नेको विवरण
– २०७१ साल मंसिर १ गते टर्किस नागरिक मेहमेट गुलिन पाँच हजार अमेरिकी डलर, २६ लाख नेपाली रुपैयाँ, कार्ड रिडर, राइटर, ४२ वटा एटिएम सहित दरबारमार्गबाट पक्राउ ।
– २०७१ चैत ५ गते बुल्गेरिय नागरिक पेस्ट्रोसल्भ रिस्टोभ ४० हजार अमेरिकी डलर, ५७ हजार युरो, १८ लाख नेपाली रुपैयाँ, कार्ड रिडर, राइटर र एक सय ७९ वटा एटिएम सहित पक्राउ ।
– २०७३ साउन १७ गते रोमानियाली नागरिक पेड्रा एरुलियन दुई लाख ६४ हजार नेपाली रुपैयाँ र ६० वटा एटिएमसहित शंकर होटलबाट पक्राउ ।
– २०७३ कात्तिक ११ गते बुल्गेरियन नागरिक डिमो एट्नास्भो १७ हजार दुई सय ५० अमेरिकी डलर ६ सय युरो, स्किमिङ कार्ड, हिडन क्यामेरासहित जगत होटल ठमेलबाट पक्राउ ।
– २०७३ कात्तिक १९ गते तीन जना रोमानियन नागरिक तीन सय ५३ वटा एटिएम कार्ड, विदेशी मुद्रा, कार्ड स्किमिङ मेशिन, हिडन क्यामेरासहित ठमेल नरसिंह चोकबाट पक्राउ ।
– २०७३ कात्तिक २५ गते दुई जना टर्किस नागरिक २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १६ सय ६० अमेरिकी डलर १७ सय युरो र एक सय १३ वटा एटिएम कार्ड सहित पक्राउ ।
– २०७३ पुस २९ गते भारतीय नागरिक निरन्जन मेहता र इक्तेदार खान पक्राउ ।
– २०७३ चैत २० गते मोल्दोयिन नागरिक निकु डेरडीजा, एलेक्स भनिने भेसिल फेतेस्कु, युरे ड्रिमेन्जी र इग्वेइन डियोरिजा सात लाख आठ हजार तीन सय ५० रुपैयाँ, १६ सय अमेरिकी डलर, २२ सय ४५ युरो गरी झण्डै १२ लाख रुपैयाँ सहित पक्राउ ।
यसरी पक्राउ भएका विदेशी नागरिकबाट अहिलेसम्म ८४ लाख २८ हजार नेपाली रुपैयाँ, ६३ हजार आठ सय ५५ अमेरिकी डलर, ६२ हजार ९ सय ५० युरो ११३९ वटा एटिएम बरामद भएको प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । २१ चैत्र २०७३, सोमबार २१:५१