निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका दलहरुको सूची सार्वजनिक

बीस वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने भएका छन् ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगमा दर्ता भएका ८० वटा दलहरुको नामवली मंगलबार सार्वजनिक गरेको हो ।

आयोगले निर्वाचन प्रयोजनका लागि गत पुस २५ देखि माघ १७ सम्म जिल्ला–जिल्लामा दल दर्ताको लागि आह्वान गरेको थियो । जिल्लागत दल दर्ताको सूचीअनुसार मनाङमा सबभन्दा कम ६ वटा र काठमाडौंमा सबैभन्दा बढी ४७ वटा दल दर्ता भएका आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका दलहरुमा संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताइरहेको मधेसी मोर्चा आबद्ध संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) लगायत छन् ।

निर्वाचनमा भाग लिने दलको नामावलीमा वार्षिक आय–व्यय नबुझाइएको भन्दै आयोगले दर्ता खारेज गरेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी दल पनि समावेश भएको छ । सिंहले आय–व्यय बुझाइरहेको भन्दै सर्वोच्चमा निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता गरेको रिटमा सर्वोच्चले चैत ४ गते समाजवादी जनता पार्टीको दर्ता खारेजीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

संवैधानिक प्रावधानअनुसार निर्वाचन प्रयोजनका लागि पुन: दल दर्ता गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचनमा ८० दलले निवेदन दिए पनि आयोगमा १ सय १३ दल दर्ता छन् ।