नेपालगन्जका दुई पेट्रोल पम्पले मेसिनमा गडबडी गरेर परिमाणभन्दा कम डिजल र पेट्रोल बेच्ने गरेको खुलासा भएको छ । नापतौल तथा गुणस्तर विभाग काठमाडौं र नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय नेपालगन्जको संयुक्त टोलीले बुधबार अनुगमन गर्दा कुसुम फिलिङ सेन्टर र भेरी आयल स्टोर्सले कम ईन्धन बेच्ने गरेको फेला परेको हो ।
कम तेल बेचेर उपभोक्ता ठगी गर्ने दुवै पेट्रोल पम्प अनुगमन टोलीले सिल (विक्रीवितरण बन्द) गरिदिएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख उमेस कुमार झाका अनुसार कुसुम फिलिङ सेन्टरबाट पेट्रोल र भेरी आयल स्टोर्सबाट डिजल परिमाण भन्दा कम बेचेको पाईएको छ ।
कुसुमको पम्पबाट प्रतिलिटर पेट्रोलमा करिब १० एमएल कम र भेरी आयल स्टोर्सबाट डिजलमा प्रतिलिटर करिब ५ एमएल कम विक्री भएको थाहा भएको छ । क्षेत्रीय प्रमुख झाले भने, ‘कुसुम फिलिङ सेन्टरमा पाँच लिटर पेट्रोलमा ४५ एमएलसम्म र भेरी आयल स्टोर्समा पाँच लिटर डिजलमा २५ एमएलसम्म कम परिमाण भएको पाईयो ।
कुसुमको पेट्रोल नोजल र धम्बोझीस्थित भेरी आयलको डिजल नोजल सिल गरेर ईन्धन विक्रीबितरण बन्द गरिएको छ ।’ पम्प संचालकहरुले नियतवस यस्तो गरेका हुन् वा मेसिनरी गडबडीले कम भएको हो भन्ने अनुसन्धानपछि प्रष्ट हुने पनि उनले बताए । ‘नियतवस कुनै उपकरण वा वस्तु जडान गरेर कम परिमाणमा बेचेको भए हामी जिल्ला अदालतमा मुद्दा चलाउँछौं । मेसिनरी गडबडीले भएको भए गुणस्तर कार्यालयले नै कारवाही (जरिबाना) गर्छ ।’ कुसुम फिलिङ सेन्टरका प्रोपराईटर नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डन हुन् भने भेरी आयल स्टोर्सका संचालक वीरसिंह थापा हुन् । अनुगमन टोलीले नेपालगन्जस्थित जयबागेश्वरी, मयंक र बागेश्वरी पम्पमा पनि अनुगमन गरेको थियो ।
हाम्रो संरचना । २४ चैत्र २०७३, बिहीबार ०६:५९