धादिङको एक गाउँका सुमीत (नाम परिवर्तित) एसएलसी पास गरेर उच्च अध्ययन गर्न राजधानी आए । आफन्तको घरमा बसेर म्यानेजमेन्ट लिएर प्लस टु पढ्न थाले ।
पढ्ने ठाउँ र वातावरण भने उनको गाउँको भन्दा फरक परेकाले पनि उनलाई तनाव भयो । ‘यहाँका केटाहरूले जिस्काउँथे,’ उनले भने, ‘पढ्नेभन्दा बाहेक यहाँका नयाँ साथीहरूसँग घुलमिल हुन पनि उनीहरूजस्तै हुनुपर्छ जस्तो लागेपछि चुरोट रक्सी अलिअलि खान थालेँ ।’
गाउँघरमा पनि ठूलाबडाले चुरोट रक्सी खानु सामान्य भएकाले उनलाई आफूले कुनैे अपराध गरेजस्तो लागेन । हप्तैपिच्छे साथीहरूकहाँ जाने, मादक पदार्थ सेवन गर्ने उनको बानीले आफन्तलाई दिक्क लागेपछि एक वर्षपछि उनीहरूले पनि राख्न मानेनन् । डेरा लिएर छुट्टै बस्न थालेपछि झनै बानी बिग्रियो । साथीहरूकै संगतले झनै नराम्ररी कुलतमा फसे । घरबाट आमाबुबाले पठाएको पैसा पनि ड्रग किन्न खर्च गर्न थाले, १२ कक्षाको परिक्षा दिएनन् । दुई वर्षदेखि घरबाट पैसा पठाउने विषयमा मनमुटाव भएपछि उनको पढाइ रोकिएको छ र बिस्तारै कुलत छाड्ने प्रयास गरिरहेका छन् ।
उनीजस्ता धेरै युवा कुलतमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् । केहीले स्कुले जीवनदेखि नै सुरु गर्छन् भने केहीले कलेज पढ्न लागेपछि । साथीभाइको लहैलहैमा सुरुमा सामान्य भन्ठानेर लागूपदार्थ सेवन गर्न थाल्ने, तर पछि छाड्नै नसक्ने स्थितिको सामना गरिरहेका युवा प्रशस्त छन् ।
कोटेश्वरका अनील (परिवर्तित नाम) लाई साथीहरूलाई देखाउन, रम्न कहिलेकाँही मात्र चुरोट, ड्रग्स खाने गर्थे । तीन वर्ष भइसक्यो अहिले त्यो क्रम धेरै बढेको छ । आफूलाई यो गलत हो भन्ने थाहा हुँदाहुँदै पनि रोक्न सकेका छैनन् । पैसा हातमा आउनेबित्तिकै ड्रग्स किन्न पुगिहाल्छन् । ‘पछि नराम्रो गर्छ भन्ने थाहा छ । कन्ट्रोल गर्ने कोसिस गर्छु तर सक्दिनँ,’ उनले भने । परिवारमा आफ्नो कुलतका बारेमा जानकारी दिएर पुनस्र्थापना केन्द्र जाने सोच्दैछन् ।
लागू औषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार लागू औषध प्रयोगकर्तामा अधिकांशले आफ्नै उमेरका साथीहरूको लहैलहैमा लागेर लागू औषध प्रयोग गर्ने गरेका छन् । ब्युरोको तथ्यांकअनुसार लागू औषध प्रयोग गर्ने विभिन्न कारणमध्ये साथीको दवाब पहिलो हो । ब्युरोले गरेको सर्वेक्षणमा ७८.७ प्रतिशतले आफूले लागूपदार्थ सेवन गर्नुको मुख्य कारण साथीको दबाब रहेको बताएका छन् ।
‘स्कुल बदल्दा, फेल हुँदा, पारिवारिक तनावजस्ता कारणले विद्यार्थी लागूऔषध प्रयोग गर्न पुग्छन्,’ ब्युरो प्रमुख धिरु बस्न्यातले भने, ‘होस्टेल र क्याम्पसमा बढीले प्रयोग गर्ने गरेको देखिएको छ ।’ उनका अनुसार ३२ प्रतिशत प्लस टु पढ्ने लागू औषधबाट प्रभावित छन् ।
त्यसैगरि उत्सुकता युवाहरू दुव्र्यसनी बन्नुको दोश्रो कारण हो । उत्सुकताले ५८.५ प्रतिशत दुव्र्यवसनी बन्न पुगेको बताउँछन् । झण्डै २० प्रतिशत पारिवारिक समस्या र १३.८ प्रतिशत अन्य कारणले युवाहरू लागूपदार्थ प्रयोगकर्ता बनेको देखिएको छ ।
ब्युरोकै तथ्यांक केलाउँदा दुव्र्यवसनीको संख्या १० प्रतिशतले बढिरहेको सन्दर्भमा सन् २०२० सम्म २ लाख १६ हजार ४ सय भन्दा बढि लागूपदार्थ प्रयोगकर्ता बढ्ने देखिन्छ । वर्तमानमा १५ वर्षमुनिका लागू औषध प्रयोगकर्ता १.४ प्रतिशत छन् भने ३५ वर्षमाथिका लगभग ९ प्रतिशत छन् । सबभन्दा बढि प्रयोगकर्ता युवा छन् । लागु पदार्थ प्रयोगकर्तामा १५ देखि ३४ वर्षसम्मका ९० प्रतिशत रहेको ब्युरोको तथ्यांक छ ।
एसपी प्रद्युम्न कार्कीका अनुसार लागू औषध प्रयोगकर्तालाई पक्राउ गरि ल्याउँदा प्रहरीलाई नै कठिनाइ हुने गरेको छ । धेरै समयदेखि प्रयोग गरिरहेकालाई पक्राउ गरेपछि हिरासतमै लागू औषधको खोज्ने र नपाए आत्महत्यासम्मको प्रयास गर्ने गरेको उनको अनुभव छ । ‘त्यस्ता मान्छेबाट समाज र परिवार पनि दिक्क भइसकेका हुन्छन् । उनीहरूलाई प्रहरी र सजायभन्दा पनि उपचारको खाँचो हुन्छ,’ उनले भने ।
ब्युरोको तथ्यांक हेर्दा लागू औषधको स्रोतहरूमा साथीको माध्यम पहिलो हो । ७० प्रतिशतले साथीभाइबाट लागू औषध पाउँछन् । दोश्रो स्रोत लागूपदार्थ विक्रेता र तेश्रोमा औषधि पसलबाट पाउने गर्छन् । स्कुल कलेज पढ्ने उमेरदेखि नै युवाहरू कुलतमा फस्ने भएकाले यस विषयमा शैक्षिक संस्थाले विशेष चासो दिनुपर्ने अभिभावक संघका अध्यक्ष केशव पुरी बताउँछन् ।
गाँजादेखि सुरु गरेर सिरिञ्ज लगाउनेसम्मको अवस्थामा पुग्ने विद्यार्थीको संख्या बढिरहेको उनको अनुभव छ । विद्यालयमा असामान्य व्यवहार, संगत, कक्षामा अनुपस्थिती जस्ता विषयमा खोजीनिती गर्दिए यस्ता समस्या घटै जाने उनी बताउँछन् । ‘लागू औषध बिक्रेताको मुख्य ग्राहक नै विद्यार्थी भइदिएका छन्,’ पुरीले भने, ‘निजी स्कुलले बरु अभिभावकलाई विद्यार्थीको शैक्षीक अवस्था, कमीकमजोरीबारे थोरबहुत जानकारी गराउँछन् । सरकारी विद्यालयले त विद्यार्थीको बारे केही भन्दैनन् ।’ तर निजी विद्यालयका विद्यार्थी नै बढि कुलतमा फसेको देखिएको उनको भनाइ छ ।
हाम्रो संरचना । २४ चैत्र २०७३, बिहीबार १०:१०