हाम्रो संरचना सोमवार, साउन २६, २०७७ 385 Views

थबाङलाई कुनै बेला कम्युनिस्ट ‘गढ’ मानिन्थ्यो । अहिले त्यो यस्तो थलो बनेको छ जसलाई गैरकम्युनिस्ट दलसमेत जमघट गर्न रोज्छन् । पछिल्लो समय कांग्रेस, एमालेले समेत यहीं बैठक गरेका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा लगभग पूर्ण मतदान भएको थबाङमा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ‘शून्य मतदान’ गरियो । त्यसयता निर्वाचनमार्फत स्थानीय जनमत जाँच्ने अर्को अवसर नआए पनि वर्चस्वका हिसाबले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रभाव बढी देखिन्छ । अहिले वातावरण खुकुलो बनेको छ, दलहरू त्यसको उपयोगमा लागिपरेका छन् ।


कांग्रेसलाई फूलमाला

पार्टीको झन्डा बोकेर चैत ६ गते थबाङ पुगेका कांग्रेस कार्यकर्तालाई चन्दका कार्यकर्ताले बाजा बजाएर स्वागत मात्र गरेनन्, अबिर र फूलमाला पहिर्‍याइदिए । त्यही मेसोमा कांग्रेसजनले पार्टीको जिल्ला बैठक त्यहीं गर्न भ्याए । ‘हामीलाई थबाङमा स्वागत गरिएपछि त्यहाँ राजनीतिक बहुविचारको बीजारोपण भएको अनुभूति भयो,’ फर्केपछि कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्यले भने, ‘अब थबाङमा वैचारिक आस्थाका आधारमा कसैमाथि भेदभाव र दमन हुन सक्दैन भन्ने लागेको छ ।’ रोल्पा कांग्रेसका संस्थापकमध्ये एक आचार्यले २००७ सालपछि कांग्रेसले थबाङमा पहिलोपटक उच्च नेतृत्वको उपस्थिति जनाएको बताए । ‘कांग्रेसले सञ्चालन गरेको २००७ सालको क्रान्तिका क्रममा थबाङ कांग्रेसका केही युवा प्रजातान्त्रिक लडाइँमा भाग लिन मुक्ति सेना बनेर राजधानीसम्म पुगेको इतिहास छ,’ उनले भने, ‘कांग्रेसको थबाङ उपस्थितिले त्यसैलाई ब्युँझाइदिएको छ ।’

कांग्रेस जिल्ला सभापति एवं सांसद अमरसिंह पुनमगरको अगुवाइमा पुगेको टोलीले थबाङको समस्या र राजनीतिक उपस्थितिबारे छलफल गरेको थियो । प्रसिद्ध पर्यटकीय स्थल जलजलासमेत निस्फिक्री घुम्दै कांग्रेस कार्यकर्ताले राजनीतिक रूपमा कुनै पनि असहजता महसुस गरेनन् ।

उत्तरी रोल्पामा राजनीतिक गतिविधि प्रभावकारी रूपमा बढाउन नसकेको कांग्रेसले यस क्षेत्रमा लामो समयदेखि राजनीतिक विचार पुर्‍याउन सकेको छैन । ‘थबाङको उपस्थितिलाई उपलब्धिका रूपमा बुझ्नुपर्ने हुन्छ,’ पुनमगरले भने, ‘शान्ति प्रक्रियापछि संगठन विस्तार र विचार फैलाउने अवसर मिलेको छ । पहिलेभन्दा यो सहज अवसर हो ।’

अघिल्ला निर्वाचनका क्रममा कांग्रेस नेता–कार्यकर्तामाथि माओवादी कार्यकर्ताबाट कैयौंपटक आक्रमण भएको थियो । शान्ति प्रक्रियापछि रोल्पामा सञ्चालित विकास योजना थबाङसम्मै पुर्‍याउन सांसद पुनमगरको भूमिका रहेकामा थबाङवासी सकारात्मक देखिन्छन् । थबाङमा गाउँ तहको कार्यसमिति निर्माण गर्ने योजनामा कांग्रेस अघि बढेको छ । प्राय: लिबाङमै बस्ने थबाङ कांग्रेसका नेता कलम रोका शान्ति प्रक्रियापछि भने गाउँ आवतजावत गर्छन् ।

अघि बढ्यो एमाले
संविधानसभा निर्वाचन ताका थबाङमा सामान्य कार्यक्रमसम्म गर्न सकेको एमालेले चैत २१ मा कार्यकर्ता भेलै गर्‍यो । स्थानीय एमाले नेता हितबहादुर रोकामगरले थबाङमा एमालेको राजनीतिक उपस्थिति बढ्दै गएको दाबी गरे । एमाले जिल्ला कमिटीले पोलिटब्युरो सदस्य एवं संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीमगरको उपस्थितिमा थबाङमा भेला गरेको थियो ।

‘अन्य दुर्गम गाउँमा जस्तै एमाले थबाङ पनि पुगिसकेको छ । अब कहींकतै अवरोध छैन,’ एमाले जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘केही वर्षदेखि थबाङमा पार्टी संगठन क्रियाशील छ । कार्यकर्ताको संख्या वृद्धि हँुदै छ ।’ सुरुमा उपस्थिति मात्र जनाउन सफल एमाले र कांग्रेसलाई स्थानीयबीच राजनीतिक विचार प्रवाह गर्ने अवसर शान्ति प्रक्रियापछि मात्रै मिलेको हो । शान्ति प्रक्रियापछि संगठन विस्तारमा लागेका रोकामगर पूर्वसैनिक हुन् ।

एमाले महिला संगठनकी जिल्ला अध्यक्ष ईश्वरी घर्तीमगर माओवादीको नामबाट चर्चामा रहेको थबाङमा संसदवादी दलको उपस्थितिलाई लोकतान्त्रिक पद्धतिको विकास र विस्तारका रूपमा बुझ्न आग्रह गर्छिन् । ‘एमालेले थबाङमा लोकतान्त्रिक कम्युनिस्टको विचारलाई पुर्‍याउन मुख्य योगदान गरेको छ,’ उनले भनिन्, ‘हामी पनि कम्युनिस्ट हौं, संसदीय प्रणालीप्रति विश्वास गरेर पनि मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो विचारले नेतृत्व गरिरहेको छ ।’ ‘जनताको बहुदलीय जनवाद’ (जबज) को खाँचोबारे थबाङमा पुगेर चर्चा गरेकी सचेतक घर्तीमगरले विगतको माओवादी सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियापछि मुलुकका लागि प्राप्त राजनीतिक उपलब्धिलाई व्यवस्थित गर्दै लैजान थबाङवासीको योगदान र साथ चाहिने बताए ।

पुन: जाग्दै माओवादी केन्द्र
कुनै बेला थबाङी माओवादीको नेतृत्व गर्ने माओवादी केन्द्र अहिले दोस्रो एवं सानो शक्तिका रूपमा देखिन्छ । माओवादी केन्द्रले थबाङमा एकैसाथ दुइटा चुनौती सामना गर्नुपरेको छ । एकातिर संसदीय व्यवस्थाविरुद्ध आन्दोलित चन्द नेतृत्वको नेकपा माओवादीको प्रभाव न्यून गर्नु छ भने अर्कातिर बिस्तारै संगठन विस्तार गर्न पुगेका एमाले–कांग्रेससँग प्रतिस्पर्धामा उत्रनु छ । पहिलेको मुख्य शक्ति माओवादी केन्द्रलाई दोस्रो शक्तिका रूपमा खुम्चिएर राजनीतिक गतिविधि बढाउनु कम्ती चुनौतीपूर्ण छैन ।

पार्टी फुटपछि माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ६ वर्षयता थबाङ आएका छैनन् । पहिलोपटक पार्टी फुटपछि एकपटक हेलिकप्टरमार्फत थबाङ पुगेका थिए । माओवादी केन्द्रले थबाङलाई पुन: पकडमा पार्न विभिन्न योजना भने अघि सार्दै आएको छ । स्थानीय तहको निर्वाचनमा जनमत आफ्ना पक्षमा पार्न तथा पार्टीको वर्चस्व पहिले जसरी फिर्ता ल्याउन पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुन कम्तीमा दुईपटक थबाङ पुगिसकेका छन् ।

माओवादी केन्द्रले थबाङमा पार्टीलाई शक्तिशाली बनाउन केन्द्रीय सदस्य तथा पूर्वलडाकु कमान्डर ऋषिकेशव बुढामगरलाई खटाएको छ । माओवादी वर्चस्व बढाउन भित्री गाउँमा समेत लागेका बुढाले पार्टीले कार्यकर्ता बढ्दै गएको दाबी गरे । ‘कार्यकर्ताको संख्या बिस्तारै वृद्धि भएको छ । लोकतान्त्रिक अवस्थाप्रति प्रतिबद्ध कार्यकर्ताले हाम्रो पार्टीलाई छाड्न सक्दैनन्’, उनले भने ।

पञ्चायतकालमा मोहनविक्रम सिंह र मोहन वैद्यलगायतले प्रशिक्षण दिएपछि कम्युनिस्ट पार्टी स्थापना भएको थबाङमा अघिल्लो पुस्ताका कार्यकर्ता भने चन्द नेतृत्वमै छन् । थबाङबारे पार्टीको बैठक र नेतृत्वमा पटकपटक चर्चा हुने गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य पवन कवरले थबाङमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन प्रयास भइरहेको बताए । ‘थबाङ गाउँ पालिकाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले हामीलाई सहयोग गर्छ भन्ने विश्वास छ’, उनले भने ।

चुनावी चहलपहल
उवा र मिरुल गाविस गाभेर मिलाइएको थबाङ गाउँपालिकामा सबै ठूला दलले चुनावी रणनीति अघि सार्न थालेका छन् । विस्तारित थबाङमा आआफ्नो पकड रहेको उनीहरूको दाबी छ । थबाङीले थबाङ एक्लैलाई स्वायत्त क्षेत्र बनाउन माग गरे पनि माओवादी केन्द्रको चासोका कारण थबाङलाई केन्द्र मान्ने गरी उवा र मिरुल गाविसलाई गाभिएको हो । करिब ९ सय ३६ घर परिवार बसोबास गर्ने थबाङको जनसंख्या ४ हजार ३ सय ४७ छ ।

थबाङमा करिब दुई हजार मतदाता छन् । पछिल्लो पटकको कम्युनिस्टको फुटपछि बनेका माओवादी केन्द्र र नेकपाले थबाङमा आफ्नो राजनीतिक एवं सांगठनिक वर्चस्व बढाउन दाउ खेलिरहेका छन् । साथै थबाङमा एमाले, कांग्रेस र जनमोर्चाको समेत संगठन बलियो बन्दै गएको छ । तर, प्रभाव बलियो देखिएको नेकपाले निर्वाचनलाई बहिष्कार गर्ने भन्दै गाउँघरसम्मै पोस्टरिङ समेत गरेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा थबाङमा ‘शून्य मतदान’ गराएर रित्तो मतपेटिका फिर्ता पठाउन भूमिका खेलेको वैद्य नेतृत्वको माओवादीले जस्तै यसपटक के गर्छ भन्ने आशंकाहरू उब्जिएका छन् । थबाङै घर भएका नेकपाका नेता जयप्रकाश रोकाले कम्युनिस्ट पार्टीप्रति विश्वास राख्दै आएको थबाङले कहिल्यै पनि पछि फर्केर नसोचेको दाबी गरे । ‘मुलुकको सुरक्षाका लागि कथित रूपमा गर्ने भनिएको निर्वाचनको कुनै महत्त्व छैन । यसलाई वहिष्कार र खारेजी गर्नुपर्छ । जनता तयार छन् यो गर्न’, उनले भने ।

नेकपाले गएको ५ देखि १० फागुनसम्म भव्य रूपमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गरेको थबाङमा उसले आफ्नो उपस्थितिलाई अझ बाक्ल्याउँदै वर्चस्व बढाउने रणनीति अपनाएको छ । माओवादी हटाएर पार्टीको नाम फेरि कम्युनिस्ट पार्टीहरूबीच ‘एकीकरण’ गर्ने नीति अघि सारेर उसले राष्ट्रवादी शक्तिलाई नजिक ल्याउने योजनासमेत ल्यायो । महाधिवेशनबाट ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशालाई पारित गराएपछि लिबाङको घोषणासभामा बोल्दै महासचिव नेत्रविक्रम चन्दले भनेका थिए, ‘अरू कम्युनिस्ट पार्टीले झैं हामीले निश्चित संस्था र दलगत शक्तिलाई प्रधान शत्रु र मित्रका रूपमा पहिचान गरेका छैनौं । मुलुकको माया भएकासँग हाम्रो सम्पर्क र सम्बन्ध रहनेछ ।’ चन्दले यसो भनेपछि वर्षौंदेखि ‘चेपिएको’ अनुभूति गर्दै आएका स्थानीय गैरकम्युनिस्ट खास गरी लोकतान्त्रिक तथा अन्य कम्युनिस्ट शक्तिहरूले ‘सहज’ महसुस गरेका छन् । यसपछि कम्युनिस्टको ‘लाल किल्ला’ थबाङसम्मको पहुँच विस्तार भएको अनुभूतिसमेत भएको छ । यसैबीच चुनावको संघारमा थबाङमा कांग्रेस र एमालेका राजनीतिक गतिविधिमा वृद्धि भएको हो ।

सँगै विकासपथमा
शान्ति प्रक्रियापछि थबाङमा सबैभन्दा बढी सडक निर्माणले विकासको ढोका खोलिदिएको हो । सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमार्फत थबाङमा विकासका योजना पुर्‍याइएको हो । थबाङमा अहिलेसम्म सरकारले विकास निर्माणमार्फत अर्बौं बजेट खर्चिसकेको छ । स्थानीयको रोजगार र सामाजिक विकासभन्दा भौतिक विकासमै उक्त बजेट खर्चिएको छ । करिब २० लाखको लगानीमा थबाङ रिङरोड, करिब ३० लाख लगानीको गोजारु–मरन्ठाना–कोइजबाङ सडक, करिब १० लाख लगानीमा सहिदमार्ग–गोलचौर–कन्दे–जाजरकोट सडक चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका छन् । थबाङ गाउँलाई थबाङ खोलाको कटानबाट जोगाउन करिब १ करोडको तटबन्ध योजनासमेत सञ्चालन गरिएको छ । यस्तै, चालु आर्थिक वर्षमै बाहिरबाट थबाङ भित्रिने सडक ४ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको सहिदमार्ग–थबाङ सडकको ट्रयाक खन्ने काम सकिएको छ । थबाङ भित्रबाट बाहिरतिर जान करिब १ करोड ६० लाख लगानीमा थबाङदेखि सुलीचौरतिरको सडक निर्माण भइरहेको छ । यस्तै, छेर्लोबाङमा स्थानीयले आफ्नै लगानीमा करिब डेढ किलोमिटर सामुदायिक सडकसमेत निर्माण गरेका छन् ।