नेपालगन्ज साहित्य उत्सव 

‘पुस्तक समाजका रंगहरू’ नारासहित आइतबार नेपालगन्ज साहित्य उत्सव सुरु भएको छ ।

उत्सवको पहिलो दिन साहित्य, राजनीति र आर्थिक मुद्दामा बहसहरू भए । कथाकार महेशविक्रम शाह, उपन्यासकार नयनराज पाण्डे र वीरगन्जका साहित्यकार गोपाल अश्कले साहित्यमा मधेसको कथा, कृति र सीमान्त वर्गका मुद्दाबारे बहस गरे ।

‘कसैका बारे केही लेख्नुअघि मन छुनुपर्छ, उसको कथाको अनुभूति हुनुपर्छ,’ पाण्डेले भने । ‘लु’, ‘उलार’ जस्ता चर्चित उपन्यासका सर्जकले साहित्य समाजको थेरापी भएको बताए । स्रष्टाहरूलाई सम्बद्ध विषयवस्तु, संस्कृति, आनीबानी र सबै पक्षको ज्ञान जरुरी हुनुपर्ने उनले औँल्याए ।

शाहले पेसा र साहित्य फरक भएको उल्लेख गर्दै थपे, ‘मैले साहित्यमा कहिल्यै पेसाको कुरा ल्याइनँ । पात्रसँग भिजेर मैले उनीहरूको कथालाई साहित्यिक भाषामा ढालेँ । लेखकले पात्रहरूसँग भिज्नुपर्छ ।’

अश्कले नेपाली राजनीतिको नीतिगत कारणले तराई मधेसको साहित्य अगाडि बढ्न नपाएको बताए ।

‘मेरो सहर, मेरो नेपालगन्ज’ बहसमा राप्रपाका महामन्त्री एवं पूर्वमेयर धवलशमशेर राणा, तमलोपाका सहमहामन्त्री पशुपतिदयाल मिश्र र पूर्वउपमेयर एवं एमाले नेता समसुद्दिन सिद्दिकीले नेपालगन्जलाई स्वच्छ, हराभरा, प्रविधियुक्त, औद्योगिक विकास भएको र प्रविधियुक्त सहर बनाउन सम्भव भएको बताए ।

‘दी काठमान्डु पोस्ट’ का समाचार प्रमुख मुकुल हुमागाईंले सहजीकरण गरेको ‘समृद्धिको बाटो’ बहसमा लेखक केशव श्रेष्ठ, व्यवसायीहरू लक्ष्मण न्यौपाने, कालु हमाल र राजेश जैनले जडीबुटी, एग्रो टुरिजम र पर्यटकीय गन्तव्यको सम्भावनाबारे बोले ।

‘कठघरामा लेखक’ का रूपमा राखिएका रेशम विरहीले आफूमाथिका आरोपलाई मेटाउने कोसिस गरे ।

रातभर मुसायरा
साहित्य उत्सवको पूर्वसन्ध्यामा शनिबार राति भएको अल नेपाल मुसायरामा नेपाल र भारतका चर्चित सायरहरू सहभागी भए । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरेको मुसायरा राति दुई बजेसम्म चल्यो ।

उर्दू एकेडेमी नेपालका अध्यक्ष मोबिन खान, गुलजारे अदबका अध्यक्ष अब्दुल लतिफ सौक, अमिन खयाली, मुस्तफा अहसन कुरैसी, अब्दुल वाहिद कौसरले महफिल जमाए । अश्क, जाहिद आजाद, बुँद राना, कपिल अनजान र ज्ञानुवाकर पौडेलले पनि गजल सुनाए । भारतबाट सायरहरू सारिक रब्बानी, इन्कलाब असरफी, रसिद हयात र रइस सिद्दिकी सहभागी थिए ।
‘विविधता नेपालगन्जको मौलिकता : शान्ति, सद्भाव र समृद्धितर्फको यात्रा’ सन्देशसहित क्रिएटिभ ह्यान्ड्स ग्रुपको मुख्य आयोजनामा एक साता लामो उत्सव सुरु भएको हो ।

वाङ्मय गोष्ठी
नेपाल प्रज्ञा प्रतिष्ठानले हीरक महोत्सवको सन्दर्भ पारेर नेपालगन्जमै दुईदिने वाङ्मय गोष्ठी गर्‍यो ।

प्रतिष्ठान कुलपति उप्रेतीले गोष्ठी उद्घाटन गर्दै ‘मध्य तथा सुदूरपश्चिमको भाषा, संस्कृति र कला साहित्यलाई मूलधारको साहित्यमा जोड्न वाङ्मय गोष्ठी राखिएको’ बताए । प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरी, प्राज्ञसभा सदस्य हरिहर तिमिल्सिना, प्राज्ञ परिषद् सदस्यहरू डा. हेमांगराज अधिकारी, डा. उषा ठाकुर, डा. अमर गिरी र नर्मदेश्वरी सत्यालले पनि बोले ।

उच्च अदालतका मुख्य न्यायाधीश शेषराज सिवाकोटी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला, मदन पुरस्कार विजेता आख्यानकार रामलाल जोशी, अग्रज पत्रकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी, साहित्यकार सच्चिदानन्द चौबेलगायतले साहित्य, कला र संस्कृतिको प्रभावमाथि चर्चा गरे ।