संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता

(संशोधन प्रस्तावको पूर्णपाठसहित ) 

 

नेपाल सरकारका तर्फबाट कानुनमन्त्री अयजशंकर नायकले नयाँ संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएका छन् ।
मंगलबार दिउँसो नै सरकारका तर्फबाट यसअघि दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री नायकले नै फिर्ता लिएका थिए ।

 

सरकारले मधेसी मोर्चासँगको समझदारी अनुसार संविधान संशोधनको नयाँ प्रस्ताव संसद्‍मा पेस गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को सोमबारको बैठकले यसअघि संसद्‍मा प्रस्तुत संशोधन विधेयकको सीमांकनसम्बन्धी व्यवस्थालाई हटाएर सरकारले आठ विषयमा संशोधन गर्ने गरी प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियाे । आठ विषयमध्ये यसअघिको विधेयकमै रहेका नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई हुबहु राखिएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख/उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने र प्रदेशको सीमांकन हेरफेर गर्ने सम्बन्धमा धारा २७४ लाई संशोधन गर्ने विषय संशोधनमा थपिएका छन् ।

संशोधन विधेयकमा प्रदेशको सीमांकन हेरफेर गर्न अधिकारसम्पन्न संघीय आयोग गठन गर्ने उल्लेख छ । प्रदेश सभा गठन नहुँदासम्म त्यसको काम संघीय संसद्ले गर्ने विषयलाई संशोधनमा समेटिएको छ ।