नेपाल र चीनको विशेष संयुक्त सैन्य तालिम आगामी बैशाख ३ गतेदेखि १२ गतेसम्म हुने भएको छ। ‘सगरमाथा फ्रेन्डसीप २०१७’ नाम दिइएको सो तालिम नेपालमा सञ्चालन हुन लागेको नेपाली सेनाले जनाएको छ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुलाई निरन्तरता दिने क्रममा विश्वको गम्भिर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविश्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर पहिलो पटक चीनसँग सैन्य तालिम गर्न लागिएको हो।
‘दुवै देशका सेनाहरुको आ–आफ्नो अनुभव आदान प्रदान गर्दै पेशागत क्षमता अभिबृद्धिका लागि नियमित रुपमा सञ्चालन हुने यस प्रकारको द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कुटनीतिक सम्बन्ध अरु मझबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ’ नेपाली सेनाले भनेको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरु लगायत अन्य मित्रराष्ट्रहरुसँग द्धिपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, सेमिनार तथा अभ्यासहरु मार्फत आफ्नो ज्ञान, सीप तथा अनुभवहरु आदान–प्रदान गरी पेशागत क्षमता अभिबृद्धि गर्दै आएको नेपाली सेनाले जनाएको छ ।
‘त्यस सन्दर्भमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयवस्तुहरुमा केन्द्रित रही दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरुसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरु सञ्चालन गर्दै आएको छ’ सेनाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
हाम्रो संरचना । ३१ चैत्र २०७३, बिहीबार २२:३८