हामी दुई रक्सी खान्नौ !

काठमाडौ/जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाउनुभएको छ ।  नयाँ बर्षको अवसरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्ष’ नामक एप्स सार्वजनिक गरेको छ ।

सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताउनुभयो । कार्यक्रममा सहभागि अभिनेतृ मनिषा कोइरालाले आफुले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो । स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफु सहभागि भएको कोइरालाले बताउनुभयो ।

खुसी हुदाँ, दुख लाग्दा, र फुर्सदको समयमा अरु भन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्याङक छ । रक्सी कम्पनीको आकर्षक बिज्ञापन र जनचेतना अभावले वालवालिका देखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानु दिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ।

स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष-म स्वस्थ्य, मेरो देश स्वस्थ्य’ भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्नु हुदै मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताउनुभयो । उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि भएको बताउनुभयो । आफ्नो स्वास्थ्यलाई सधै तन्दुरुस्त राखी सुखी जीवन विताउन यो प्रतिवद्धतामा सहभागि हुन समेत सबैलाई मन्त्रीले आग्रह गर्नुभयो ।

स्वास्थ्य रहन पाँच प्रतिवद्धताः

१. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न
२. म नियमित व्यायाम गर्छु
३. म स्वस्थ्य र पोषिलो खाना खान्छु
४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु
५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।