मलेसिया / रुकुम, प्युघा-५, भेरीपोखराकी अञ्जली खड्का नेपालबाट मलेसियामा बारम्बार फोन गर्दै दबिएको स्वरमा ‘उहाँलाई नेपाल पठाइदिनोस्, घरजग्गा बेचेर भए पनि उपचार गर्छु ।’ पवनलाई यतिबेला मलेसियामा अस्पतालबाट निकालेर कामदार बस्ने होस्टलमा राखिएको छ ।
चार वर्षअघि छोराको पहिलो बर्थ डे मनाएर श्रीमती अञ्जलीलाई घरबार जिम्मा लगाई रुकुमका पवन खड्का मलेसिया आए । वैदेशिक रोजगारीमा आएका उनी गत फेबु्रअरीमा सवारी दुर्घटनामा परे । दुई महिना भयो, अहिलेसम्म उनको हलचल गर्ने अवस्था छैन ।
मलेसियामा पवनले भनेअनुसारकै काम र दाम पाइरहेका थिए । काममा उनी खुशी थिए । रुकुममा उनको परिवार पनि खुसी थियो । तर, यो खुशी अहिले कुँजिएको छ ।
होस्टेलमा पवनसँगै बस्ने साथीहरुका अनुसार उनी अपि्रल ७ तारेखको रात ९ बजेतिर बाहिर निस्किएका थिए । सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिएपछि उनी त्यहीँ ढले ।
नेपालीहरुले नयाँ वर्ष मनाइरहेका दिन शुक्रबार हामी क्लालाम्बपुरमै रहेका पवनका भतिज दिपेन्द्र खड्कासँग बिरामीलाई भेट्न होस्टलमा गयौं । त्यहाँ पुग्दा दीपेन्द्रले आफ्ना काकालाई चिन्न सकेनन् । क्वालालम्पुरबाट करिव दुईघण्टा टाढा रहेको होस्टलमा हामी बिरामी भेट्न गएका थियौं । बिदेशमा पसिना बगाएर नेपालमा डलर पठाउने सपना बोकेका नेपाली युवा समस्यामा पर्ने गरेको प्रतिनिध पात्र हुन पवन खड्का ।
दुर्घटना र उद्धार
पवनले काम गर्ने कम्पनीमा धेरै नेपालीहरु क्लिनरको काम गर्छन । होस्टेलमा पनि ५/७ जना नेपालीसँगै बस्थे । होस्टेलबाट पवनले काम गर्न जाने ठाउँ पैदल हिँड्दा दश मिनेटमै पुगिन्छ ।
पवन दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । एम्बुलेन्समा हालेर उनलाई अस्पतालमा पुर्याइयो । उनलाई अस्पताल पुर्याएपछिमात्रै होस्टेलमा बस्ने साथीले थाहा पाए ।
काम गर्ने कम्पनीले पवनलाई करिव एक महिना अस्पतालमा राखेर उपचार गरायो । एक महिने उपचार पछाडि अहिले उनलाई कम्पनीले होस्टेलमा ल्याएर राखिदिएको छ । तर, उनको अवस्था सुधार भएको छैन । पवनले अहिले कुनै पनि औषधी उपचार पाएका छैनन् ।
सँगै काम गर्ने नेपाली साथीहरु दिनभरि काममा जान्छन् । दिउँसो उनलाई सघाउने कोही हुँदैनन् । बिहान-साँझ भने साथीहरुले सहयोग गर्छन् ।
पवनले दिशा-पिसाब पनि सुतेकै ठाउँमा गर्छन् । उनलाई दिशा-पिसाब आएको होस हुँदैन । गन्ध आएपछि साथीहरुले थाहा पाएर व्यवस्थापन गर्छन् ।
पवनको उपचारका लागि कम्पनीले धेरै नै खर्च गरिसकेको नेपालीहरु बताउँछन् । तर, उनको अवस्थ्ाा खासै सुधि्रएको छैन । कम्पनीले आउँदो बुधवार पुनः अस्पतालमा लैजाने कुरा गरेको होस्टलमा रहेका नेपालीले बताए । होस्टेलमा अहिले उनका लागि कुनै औषधी दिइएको देखिएन ।
प्लास्टर गरेको एउटा खुट्टामा घाउ छ, जहाँबाट पिप निस्किइरहन्छ । अर्काे खुट्टा तन्काउन नमिल्ने भएर कुँजिएको छ । शरीर कुपोषण भएको दुब्लो र कमजोर देखिन्छ ।
त्यसो त पवनका सहोदर दाजु दिलबहादुर खड्का पनि मलेसियाको मलक्का भन्ने ठाउँमा काम गर्छन् । भतिज दीपेन्द्र पनि क्वालालाम्पुरमा छन् । बिरामी भाइका लागि आफू धेरैपटक धाएको दिलबहादुर बताउँछन् ।
मलेसियामा पवन दुर्घटनामा परेको खबर पाएदेखि नै श्रीमती अञ्जली खड्का पाँच वर्षको छोरो च्यापेर उद्धारको खोजीमा माइती घर पुगेकी छिन् । उनी मलेसियामा टेलिफोन गरेर बारम्बार भनिरहन्छिन्- ‘बरु नेपालमा भएको जग्गा बेचेर उपचार गराउँछ, तर विदेशमा यस्तो अवस्थामा राख्दिनँ, लौ न सहयोग गरिदिनुपर्यो !’पवनका साथीहरु भन्छन्- ‘अस्पतालमा राखिदिए बरु चन्दा उठाएर भए पनि उपचार गथ्र्यौं या नेपाल पठाउँथ्यौं, यहाँ हामीहरुलाई बहुतै अप्ठेरो भएको छ ।’
दाजु दिलबहादुर भन्छन्- ‘भाइको यो अवस्था छ, बरु जतिसक्दो नेपाल पठाइदिए राम्रो उपचार पाउने थिए ।’यसरी विलौना गर्नुबाहेक अञ्जलीसँग अर्को कुनै विकल्प छैन ।
पवनलाई मलेसिया पठाउने म्यान पावर कम्पनीले पनि उनलाई नेपाल झिकाउनका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । कम्पनीका सञ्चालक भन्छन्- ‘मलेसिया पठाएको तीन वर्ष पुगेको भए पनि हामी जिम्मेवारीबाट पछाडि हट्दैनौं नेपाल झिकाउनका लागि के गर्नुपर्छ, दुतावासले पनि भूमिका खेलोस्, हामी पनि तयार छौं । पवनका भतिज दीपेन्द्रले नेपाली दुतावासमा यसबारे खबर गरिसकेको बताए । अब मलेसियास्थित नेपाली दुतावासको सहयोगले मात्रै पवन स्वदेश र्फकन सक्छन् । तर, ढीलो भयो भने अवस्था झनै जटिल बन्दै जाने देखिन्छ ।
हाम्रो संरचना । ३ बैशाख २०७४, आईतवार ०९:१३