उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म

उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म

कसैले हेलिकोप्टर भाडामा लिँदा पनि टिकट पाएनन्

१९ बैशाख, काठमाडौं /  मंगलबार बिहान १० बजेसम्म पनि चुनाव हुन्छ कि हुँदैन,उम्मेदवारी मनोनयन हुन्छ कि हुँदैन भन्ने संशय र आशंका थियो । यही आशंकावीच ३ वटा प्रदेशभित्र ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

मंगलबार उम्मेदवार मनोयन अघि र पछि केही रोचक त केही दुःखद घटना भए, जसलाई यहाँ बुँदागतरुपमा उल्लेख गर्न खोजिएको छ ।उम्मेदवारी मनोयनबाट चुनाव सुनिश्चित हुनु आफैंमा एउटा अपत्यारिलो र रोचक विषय भइसकेको थियो । तर, देशैभरि शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएकाले चुनावमा जनताको सहभागिता व्यापक हुने देखिएको छ ।

१. हेलिकोप्टर स्टान्टबाइ थियो तर टिकट उड्यो

भरतपुर नगरपालिकामा नेपाली कांग्रेसबाट टिकटको मुख्य दाबेदार थिए-मिलनबाबु श्रेष्ठ । उनको टक्कर थियो रामचन्द्र पौडेल पक्षका टेकप्रसाद गुरुङसँग । टिकट लिन मंगलवार विहानैसम्म उनी काठमाडौंमै थिए । टिकट लिएर उम्मेदवारी दर्ता गर्न गाडीमा जाँदा नभ्याउने भएपछि उनले हेलिकोप्टर चार्टर गरेका थिए ।

दिनेश कोइराला एकाएक भरतपुर महानगरपालिकाको टिकट कृष्ण सिटौला पक्षका दिनेश कोइरालाले उछिट्याएपछि श्रेष्ठले चार्टर गरेको हेलिकोप्टर लिएर पार्टी सभापति जीतनारायण श्रेष्ठ भरतपुरतिर लागे । चार्टरको पैसा भने उनले नतिर्ने बताए ।२. चुनाव गराउनेले नै झण्डै गरे आत्महत्या

रसुवाको कालिका गाउँपालिकामा चुनाव गराउने जिम्मेवारी थियो निर्वाचन अधिकृत सन्तोष गिरीको । तर, उम्मेदवारी मनोनयनको दिन अर्थात मंगलवार बिहान उनी कालिका गेष्ट हाउसमा खादाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिए ।

समयमै उद्दार गर्न सकिएकाले उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई उपचार गराइँदैछ । निर्वाचन अधिकृत सन्तोष गिरीले आत्महत्या प्रयास गर्नुको कारण खुलेकोको छैन ।

३. उपमेयरका उम्मेदवारको नामै भेटिएन

माओवादी केन्द्रले मंगलबार बिहान मात्रै ललितपुर महानगरपालिकाको उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार तय गरेको थियो । माला र खादा लाएर उनी हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा गइन् ।

मञ्जली शाक्य

तर, मञ्जलीको खुशी धेरैबेर टिकेन । कर्मचारीले मतदाता नामावलीमा उनको नामै नभेट्टाएपछि खैलाबैला मच्चियो । पम्फा भुसालसहितको टोलीले केहीबेर नामावलीमा मञ्जलीको नाम खोज्यो । तर, भेटिएन । सूचीमा नाम चढाएको भए पो भेटियोस् ।

हसिना शाक्य

मतदाता नामावलीमा नाम नभेटिएपछि मञ्जली निराश बनिन् । र, उनका ठाउँमा अर्की हँसिली युवती हसिना शाक्यलाई माओवादीले महानगरको उपमेयरमा उम्मेदवार बनायो

४. डीभीले टिकट खोस्योः जागिरले मेयर बन्न दिएन

रामेछापको मन्थली नगरपालिकामा कांग्रेसले तीन दिनअघि नै युवराज भट्टराईलाई मेयरको उम्मेदवार तोकेको थियो । तर, अन्तिममा उनको अमेरिकन ग्रीनकार्ड रहेको पाइएपछि टिकट रद्द गरियो ।

युवराज भट्टराई

डीभीवाला पछि हटेपछि मेयर बन्न तम्सिए- मन्थली क्याम्पसका पूर्वप्रमुख गुञ्जबहादुर श्रेष्ठ । कांग्रेस पार्टीले मंगलबार बिहान उनलाई मेयरको उम्मेदवार तोक्यो । तर, उनको पनि मेयरको टिकट ३ घण्टा जतिमात्रै कायम रहृयो ।

श्रेष्ठ क्याम्पस प्रमुखमात्रै नरहेर मन्थली नगरपालिकाको कर्मचारी पदपूर्ति समितिको सदस्यसमेत रहेछन् । लाभको पद भएकाले राजीनामा नदिई उम्मेदवार बन्न नपाउने ऐनमा व्यवस्था भएकाले राजीनामा स्वीकृत गर्न बोर्ड बैठक बस्नुपर्ने हुन्थ्यो । तर, बोर्डका पदाधिकारी मन्थलीमा नभएकाले उनको राजनीनामा स्वीकृत हुन पाएन । अन्ततः उनी पनि तीनघण्टे उम्मेदवार बने । अन्ततः कांग्रेसबाट मेयरको टिकट विनोद कार्कीले पाए ।

५. र, महानगरको कुर्सीमा सर्वसाधारणको रहर

उम्मेदवार मनोनयनको दिन काठमाडौं महानगरपालिकामा ठूला दलले आफ्ना उम्मेदवार नै तय गर्न सकेका थिएनन् । तर, साना र नयाँ खुलेका दलका साथै नामै नसुनिएका स्वतन्त्र व्यक्तिहरु भने कार्यालय खुलेलगत्तै उम्मेदवारी दर्ताका लागि लाइनमा लागिसकेका थिए ।

उनीहरुमा यस्तो उत्साह थियो कि कसले पहिले दर्ता गर्ने भन्ने प्रतिस्पर्धा नै चल्यो । यो प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार जनिशा भट्टराई पहिली भइन् ।

काठमाडौं महानगरको उपमेयरमा एक नम्बरमा उम्मेदवारी दर्ता गरेकी जोनिशा उनै रसेन्द्र भट्टराईकी छोरी हुन्, जसलाई एक राष्ट्रिय दैनिकले करीब डेढ दशकअघि युरोपकै सबैभन्दा धनी व्यक्ति भनेर मुख्य समाचार बनाएको थियो । अनलाइनखबर bata