४९ हजार ७१ उम्मेद्वारको मनोनयनपत्र दर्ता

काठमाडौं, वैशाख २२ /  वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको चुनावका लागि जम्मा ४९ हजार ७१ उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।  

तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुने चुनावका लागि वैशाख १९ गते उम्मेद्वारी मनोनयन दर्ता भएको थियो । जसमध्ये नगर प्रमुख/गाउँपालिका अध्यक्ष पदमा एक हजार ९ सय २५ र नगर उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार चारसय २९ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा १० हजार आठसय ४१, वडा सदस्य (खुला) मा १८ हजार तीनसय ७१, महिला सदस्य पदमा नौ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार चारसय ७२ जनाले उम्मेद्वारी दर्ता गरेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस निर्वाचनमा उक्त तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एकसय ८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दता भएको हो ।

त्यस्तै निर्वाचनमा महानगरका एकसय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीनसय ६५ गरी जम्मा दुई हजार पाँचसय ९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको थियो ।

साथै कुल दुई हजार पाँचसय ९८ वडाका लागि चार सदस्यका दरले जम्मा १० हजार तीनसय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको हो ।

प्रदेश नम्बर– ३, ४ र ६ का ३४ जिल्लाको दुईसय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ । – रासस