पहिलो चरणमा ३१६ जना निर्विरोध निर्वाचित,एमाले अग्रस्थानमा

वैशाख २३,/  पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको  जानकारी दिए ।  डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भए । उक्त गाउँपालिकमा अन्य सदस्य पदहरू पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख रामप्रसाद पौडेलले उक्त गाउँपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । पाँचवटै वडामा दलित महिला सदस्यमा उम्मेदवारी नै परेको छैन ।

निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताए । उनका अनुसार १६९ पुरुष र १४७ महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना छन् । सचिव मैनालीका अनुसार राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगमा प्राप्त विवरणमा अन्य ३ जना निर्विरोध निर्वाचित उम्मेदवारको दल खुल्न सकेको छैन ।

पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकाको १३ हजार ५ सय ५६ पदका लागि निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुलातर्फको वडा सदस्य २ गरी प्रत्येक स्थानीय तहमा एकजना मतदाताले ७ वटा पदमा मतदान गर्नेछन् । ती पदहरूका लागि ४९ हजार ७ सय ५४ जनाको उम्मेदवारी परेकोमा १ हजार ४ सय ९९ जनाले फिर्ता लिएको आयोगले जनाएको छ ।