हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 668 Views

पर्यटन व्यवसायी मित्र विवेकराज देवकोटाले नेपालगन्जबाट फोन गर्दै भने ‘म हुम्ला घुम्न जान लागेको यहाँबाट त हप्ता दिनसम्म पनि हवाई टिकट पाइएला जस्तो छैन, हुम्लामा निकै हिमपात भएको छ रे । म त काठमाडौं फकिन्छु ।’कर्णालीका पाँच जिल्लामध्ये हुम्लाबाहेक अन्य चार जिल्ला प्रायःजसो हिँडेरै म घुमिसकेको छु । जुम्ला आफ्नै घर नै भइहाल्यो । नगएको जिल्ला हुम्लामात्र थियो । मैले उनलाई तत्कालै नेपालगन्जबाट बिहानै बोलेरो जिप चढेर जुम्ला आउन भनेँ । जुम्लाबाट मुगु हुँदै हिँडेर हुम्ला पुग्ने सल्लाह भयो । राति ११ बजेतिर उहाँ आइपुग्नुभयो ।जुम्ला बजारमा अलिअलि हिउँ बाँकी नै थियो पूरै पग्लेको थिएन । हिउँदमा हिउँ नपरे पनि चैतको अन्त्यमा हिउँ परेकाले जुम्लाका किसानहरू यो वर्ष स्याउ बालीलगायत अन्य बाली सप्रिने भयो भनेर निकै खुसी थिए ।

भोलिपल्ट बजारमा केही किनमेल गरी दिउँसो १ बजेतिर हुम्लाको यात्राका लागि निस्कियौं । जुम्ला बजारको उत्तरतिर डाँफे लेकतिर उकालो लाग्यौं हामी दुईजना । कर्णाली प्राविधिक शिक्षालयको माथि च्यारेचौरको घाडीतिर हिउँ आधा फिट जति थियो । २०६८ असोजतिर हुम्लाका पर्यटन व्यवसायी मित्र प्रेम लामासँग रारा घुम्न जाँदा यही उकालोमा उनले भाका हालेको देउडा गीतको सम्झना आइहाल्यो । मैले पनि भाका हाली हालेँ ठूलै स्वरमाः

‘जुम्ला झरी ठाडो लाग्यो, डाँफे लेक काट्नलाई
चौंथा हुँदै घुच्ची लेक काटौं, रारा ताल भेट्नलाई’

डाँफेको लेकको भन्ज्याङ काटेर (३६ सय मि.) हामी ओरालो लाग्यौं । रात पर्न लागिसकेको थियो । हिउँ लगभग हाम्रो घुँडासम्मै आउँथ्यो । डाँडामा पुगेपछि साह्रै चिसो हावा लाग्यो । हात निकै कठ्यांग्रिन थाले । त्योभन्दा अगाडि आधा घन्टामा खाली भन्ने ठाउँमा पुगिन्थ्यो । त्यहाँ केही होटेलहरू छन् । सो ठाउँ मैदानी पाटन परेको निकै रमणीय छ । हामी त्यो दिन त्यही बास बस्ने स्केलले हिँडेका थियौं ।

humla_jumla

आधा घन्टाको बाटो हामीलाई छिचोल्न एक घन्टा लाग्यो हिउँले गर्दा । हात निकै काठ्ठिएर एकछिन त निकै आत्तियौं । हिउँमा भासिएर लडेपछि त उठ्नै गाह्रो हुने । कतै बाटो नभेटाएर मरिने पो हो कि भन्नेसम्मको भान भयो । डाँडा पाखाभरि हिउँले भरिएका थिए । मोबाइलको टर्च बाल्दै हिउँमा भासिँदै वल्लबल्ल खाली पुगेर त्यो दिनको बास त्यही काटियो । अर्कोदिन घाम नलाग्दै हिँड्ने सल्लाह भयो । घाम लागेपछि हिउँ पग्लिन थाल्छ । त्यसमा हिँड्दा भासिने र चिप्लिने डर हुन्छ । बिहानै हिँडेपछि हिउँ सारो हुन्छ टक-टक हिँड्न सजिलो हुन्छ ।

भोलिपल्टको खाना खान चौंथाभन्दा माथि रारा राष्ट्रिय निकुञ्जको आर्मी चेक पोस्टभन्दा दुई किलोमिटर तल बुलबुले पुगियो । त्यहाँ ट्रक, जिप, टयाक्टर गरी १०÷१२ ओटा र छ, सात ओटा मोटरसाइकल पाँच-छ दिनदेखि त्यही रोकिएका थिए हिमपातले गर्दा । हिउँ पर्न रोकिए पनि जमेको हिउँले गर्दा जान सकिरहेका थिएनन् । चेकपोस्ट नजिक काठमाडौंबाट रारा ताल घुम्न जान लागेका ३६ जनाको युवाको हुल नै भेटियो । हिमपातका कारण तल सिञ्जा उपत्यकामै मोटरबाइक राखेर हिँड्दै आएका रैछन् उनीहरू । उनीहरू बन्दबस्तीका साथ थिए । त्यस्तो जाडोमा हिउँमा लडिबुडी खेल्दै राराको सुन्दरताको प्यास मेटाउन उनीहरू लालायित र उत्साहित देखिन्थे । त्यो दिन घुच्चीको लेक (तीन हजार चार सय ५८ मि.) काटेर साँझ मुगुको सदरमुकाम गमगढी पुगियो ।

माओवादी द्वन्द्वकालमा, हुम्लाको श्रीनगर-जैरतिरका एकजना देउडा खेलका पारखी र निकै सिपालु व्यक्ति थिए रे । सो थाहा पाएका माओवादी कार्यकर्ताले उनलाई आफ्नो माओवादी आन्दोलनको विषयमा एक देउडा गीत गाउन धेरै कर गरेछन् । उनले गाउन मानेनछन् । उनीहरूको व्यवहारबाट सायद उनी राम्रै जानकार थिए । उनीहरूको बलमिच्याइँ आग्रह पछि गाउन तयार भएछन् ।

‘आया पै छापामार आया, पापामार (भात मारा) नआया ।
जनताका सरापले, काहीँ बाटो नपाया ।।’

उनीहरूकै अनुरोधमा उनले यो सत्य बोल्दा उनीहरूबाटै पिटाइ खानुपर्‍यो भन्ने कुरा दार्म लोतीखोलाको किनारमा हामीसँग गफिँदै एकजना हुम्ली बूढाले चियागफमा गफिँदै सुनाए ।यतिका लामो १४ दिनको यात्रा जुम्लादेखि मुगुको गमगढी हुँदै नेपाली एक रुपैयाँको नोटमा अंकित चंखेली पर्वत (तीन हजार पाँच सय ८० मि.) काटेर हुम्लाको सदरमुकाम सिमीकोटबाट यस जिल्लाको पश्चिम उत्तरको अन्तिम भोटिया गाउँ यारी पुगेर सिमीकोट फर्कंदासम्म यात्राको दौरानभरि हामी दुईजनाले कहीँ पनि चाउचाउ, बिस्कुट र तराईबाट लिएको सेतो चामलको भात खाएनौं ।

 छात्राहरू विवाह गरिसकेको हामीले उनीहरूसँगको केहीबेरको भलाकुसारीबाट थाहा पायौं । कलिलै उमेरमा विवाह गर्नु भनेको छोरालाई घरमा काम गर्नुपर्ने बोझ थपिनु र छोरीलाई चाँडै घरजम गर्न सामाजिक दबाब नै रहेको भन्ने थाहा भयो ।

जहाँजहाँ हाम्रो बास र गाँस हुन्थ्यो त्यहाँ हामी त्यहीँ उत्पादन भएको जे छ त्यही खाना दिन आग्रह गथ्र्यौं । हाम्रो सोच त्यहाँको उत्पादनमा (फापर, कोदो, मकै, चोतो, सिस्नु, कागुनु, उवा, चौं, सिमीलगायत विभिन्न किसिमका जंगली सागपात आदि) त्यहाँका मानिसले खान र उत्पादन गर्न गर्व गरून् भन्ने थियो । हामीले पनि त्यहाँको रैथान खानको स्वाद लिनु नै रहेको थियो ।हामीले खर्च गर्ने दुई चार सय पनि सीधै उनीहरूकै पकेटमा जाओस् भन्ने मनसाय हो । यस्तो खाना हामीले मागेको र खाएकोमा पनि उनीहरू निकै खुसी हुन्थे । बाटोमा हिँड्ने क्रममा जंगलको वरिपरि विभिन्न किसिमका वनस्पतिहरूका साथै जरामरा पनि भेटिन्थे । म यही परिवेशमा जन्मे हुर्केको गाईगोठाला गरेको भएकाले मलाई केही वनस्पति र जरा मरा चिन्दथंँे । बाटोमा कतै म जरा कोरेर मेरा भित्रलाई चखाउँथे र म पनि खान्थे ।

hum_jum_

सेर्केघाट कर्णाली नदीकिनारमा रहेको सानो बजार भएको ठाउँ हो । एक बास हामी त्यही बस्यौं । सर्केघाटमा एसईई (एसएलसी) परीक्षा केन्द्र परेकोले त्यहाँ वरपरका गाउँ सायाँ, मुण्डी, ऊनापानी, गोठीलगायतका गाउँबाट विद्यार्थीहरू परीक्षा दिनका लागि डेरा गरेर बसेका थिए । परीक्षाले गर्दा बजारमा निकै चहलपहल थियो । त्यहाँ परीक्षा दिन आएका अधिकांश छात्रछात्राहरू विवाह गरिसकेको कुरा हामीले उनीहरूसँगको केहीबेरको भलाकुसारीबाट थाहा पायौं । कलिलै उमेरमा विवाह गर्नु भनेको छोरालाई घरमा काम गर्नुपर्ने बोझ थपिनु र छोरीलाई चाँडै घरजम गर्न सामाजिक दबाब नै रहेको भन्ने हामीले बुझ्ने मौका पायौं ।

वैशाख ७ गते बिहान हामी च्याँछडाको भीरलाई दाहिने र सीधा तल कर्णाली नदीलाई बायाँ पार्दै भीरको काखबाटै भीरैभीर छिचोल्दै निस्केको घोरेटो बाटो हुँदै केर्मी गाउँमा खाना खान ११ बजे तिर पुग्यौं । सिमीकोटबाट साथी बनेका नुर्बु लामाले भोटे भाषामा ‘च्याँ’ भनेको भीर भन्ने बताए । अग्लोबाट खसेको पानीलाई कर्णालीतिर खस भाषामा ‘छडा’ भनिन्छ । च्याँछडाको अक्करे भीरको ठीकमाथि शिरमा च्यादुकनामक एउटा सानो भोटिया गाउँ अडेको छ । ‘दुक’को अर्थ भोटिया भाषामा ‘छ’ भन्ने हुन्छ । गाउँको पुछारबाट तल सीधै कर्णालीमा एकदमै मनोरम दुईओटा झरना खसेका छन् । यसरी खस र भोटे भाषाको संगमबाट यो झरनाको नाम च्याँछडा रहन गएको देखिन्छ ।

च्यादुकको डरलाग्दो भीर पार गर्दै गर्दा हामीले पाँचदिन अगाडि पिप्लाङ र सल्लीसल्लाबीचको डरलाग्दो भीरको बाटोमा सिमीकोटको भित्र पूर्वीउत्तरतिरको भोटिया गाउँ दोजामका भेडी गोठालाको भीरबाट लडेर मृत्यु भएको देखेका यी आँखाहरू डराइरहेका थिए ।केर्मी पनि भोटिया गाउँ हो । माथिबाट गाउँको दायाँ खोल्सोमा करिब पहाडभित्रबाट एक घट्ट घुमाउन मिल्न जति तातोपानीको खोलो नै निस्केको छ । तातोपानी गाउँभन्दा तलका उवा खेतीको बारीहरूमा किसानहरू पानी कुम्ल्याएर चारिरहेका थिए । त्यहाँको उवावाली अन्य ठाउँको भन्दा हलक्क बढेको र हरियो थियो । सायद त्यस्तो कठ्यांग्रिने पानीमा लगभग २८ सय मिटरको उचाइमा पनि यस्तो राम्रो बाली हुनुले त्यही तातोपानीले सिञ्चित गरेको असर पो हो कि ! यस्तै यत्रै तातोपानीको मुहान सिमीकोट पुग्नुभन्दा एक दिन तलको बाटोमा उनापानी भन्ने ठाउँमा हामीले पायौं । यस्तै सानातिना तातोपानीका मुहान हामीले खार्पुनाथः र दार्मभन्दा अगाडि सल्लीसल्ला लोती खोलाको किनारमा पनि देख्न पाइयो ।

यारी गाउँबाट हिल्सा पुग्न लगभग ३५ किलोमिटर छ । गाडी बाटो जाँदा छोटो बाटो हिँड्ने हो भने यारीबाट चार पाँच घन्टामा नेपाल र चीनको सिमाना हिल्सा पुगिन्छ भन्थे त्यहाँका स्थानीयवासीहरू । हिल्सासम्म पुग्ने हाम्रो सपना भने अधुरो नै रह्यो । हिल्सा पुग्न यारी र हिल्साको बीचमा नाराको लेक काट्नुपर्छ । सो लेकको बाटो खुलेको थिएन हिउँले गर्दा । एक दिन हामी यहीं बास बसेर सिमीकोट फर्कियौं । यस गाउँभन्दा उता कुनै गाउँ छैन । यो नै नेपालतिरको अन्तिम गाउँ हो । यस गाउँका मानिसहरू साह्रै आत्मीयका साथै इमानदार, हँसिला र सरल लाग्यो हामीलाई । तल मुचु सीमाचौकीका असई पनि भन्दै थिए ‘म आएको यहाँ १५ महिना भइसक्यो आजसम्म चोरी र कुटपिटको एउटै घटना पनि आएको छैन ।’

humla_jumla2

जुम्लाको चन्दननाथ हुँदै मुगु र हुम्लाको सिमाना चंखेली लेक काटेर दार्म वा मुगु कर्णालीको तीरैतीर हुम्लाको श्रीनगर र जैर छिचोल्दै खार्पुनाथबाट मुचु, यारी, हिल्साबाट ताक्लाकोट पार गर्दै मानसरोवर कैलाश यात्रा गर्ने यो ऐतिहासिक पुरानो मार्ग भएको त्यहाँका बूढापाकाहरूबाट सुन्न पाइन्छ । हुम्ली र जुम्लीहरूले विगतमा दक्षिणको नुनको प्रभाव नपर्ने बेलासम्म अछाम र सुर्खेतसम्म भेडा र च्याङग्राबाट तिब्बतको ताक्लाखारबाट नुन ल्याएर खुवाउने प्रमुख क्याराभान मार्ग पनि यही नै हो ।

हिन्दु, बौद्ध, जैन र वोन धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जाने सबैभन्दा छोटो मार्गको रूपमा परिचित हुम्ला जिल्लाको हिल्सा नाका २०७२ सालको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकको कोदारी नाका बन्द भएपछि स्थापित भएको छ । प्रतिकूल मौसममा नेपालगन्ज-सिमीकोट उडान हुन नसक्नुका साथै सिमीकोट र हिल्सामा पर्याप्त बास बस्ने होटेल, लजका साथै अन्य पर्यटन मैत्री पूर्वाधार निर्माण यस क्षेत्रमा नभएकाले कैलाश जाने तीर्थयात्रीहरूले निकै दुःख र कष्ट व्यहोर्नु परेको छ । जसले गर्दा जति संख्यामा तीर्थयात्री आउने सम्भावना छ त्यति संख्यामा आउन सक्ने अवस्था हाललाई भएको देखिँदैन ।

देवताका पनि महादेवको बासस्थान यही हुम्ला कर्णालीको शिर कैलाश पर्वत नै हो । यो नदीको शिर वा उत्पत्ति पनि मानसरोवर कैलाश नै हो । यसको मूल मुहान यहीँबाट नै सुरु भएर बगेको छ । नेपालमा भएका नदीहरूमा पनि सबैभन्दा लामो नदी यही कर्णाली नदी हो । मानसरोवरबाट उत्पत्ति भएर पश्चिम सतलज, दक्षिण कर्णाली वा सर्जु, पूर्व ब्रह्मपुत्र र उत्तर इन्दुज वा सिन्धु बग्दछन् ।

हालको कर्णाली लोकमार्गलाई भारत-नेपालको हिल्सा हुँदै चीनको मानसरोवर कैलाशसँग जोड्ने अन्तर्राष्ट्रिय राजमार्गका रूपमा राष्ट्रिय महत्वका साथ विकास र विस्तार गर्ने हो भने भारतलगायत सार्क राष्ट्र र विश्वका धार्मिक तथा अन्य पर्यटकहरूलाई स्थलमार्गबाट कम खर्चका साथ सजिलै बर्सेनि लाखौंको संख्यामा मानसरोवर कैलाश पुर्‍याउन सकिन्छ ।

हिल्सादेखि मुचुको तुम्कोटसम्म आठ मिटरको डबल कटिङ ट्र्याक खोली सकेको हुनाले तुम्कोट र यारीमा पर्यटकीय पूर्वाधारहरू विकास तथा निर्माण गर्न सकेको खण्डमा पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुनुका साथै उनीहरूले व्यहोर्नुपर्ने दुःख कम हुने देखिन्छ । गत वर्षको सिजनभरि लगभग २९ जना पर्यटकहरूले ज्यान गुमाउनु परेको थियो ।

‘मुगु जिल्ला गाडी गुड्यो, हुम्लीका पाउ दुःख्या
जनताका समस्या ल्यायौं, नेता जति लुक्या ।’

वास्तवमै हाम्रा देशका नेताहरूसँग आशा राखौं भरोसा नगरौंको स्थिति नै विद्यमान छ ।कर्णालीतिर एउटा भनाइ चर्चित नै छ, ‘हुम्लीको भेडो नहोस्, जुम्लीको छोरो नहोस्’ पंक्तिकारले पनि सुने भोगेकै हो । भनाइको तात्पर्य, छोराले महिना दिनसम्म लगाएर नेपालगन्जदेखि भारतको कालापडा र गल्लीहरूमा भौतारिएर घरपरिवारलाई लुगा फाटोको जोरजाम गनुपर्ने र यी दुवैको पिठ्यूँमा पनि भारी कहिलै खाली नहुनै हो ।जुम्ली र केही मुगालीहरूले पिठ्यूँको भारीबाट छुटकारा पाए पनि वास्तवमै हुम्लीको आज पर्यन्तः दिनचर्या यस्तै छ ।