कैलाश मानसरोबरमा दर्शन गर्न जाने भारतीय पर्यटकहरुको घुइँचो

कैलाश मानसरोबरको दर्शन गर्न जाने भारतीय पर्यटकहरुको नेपालगन्जमा घुइँचो बढ्दै गएको छ।
नेपालगन्जबाट हवाई मार्ग हुँदै हुम्लाको सिमिकोट र चीनको ताक्लाकोट हुँदै भारतीय पर्यटकहरु कैलाश मानसरोबरको दर्शका लागि जाने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। दैनिक २ सय भन्दा बढी भारतीय पर्यटकहरु कैलाश मान सरोवरको दर्शन गर्न जाने गरेका छन्।
 कैलाश मान सरोवरको दर्शन गर्न जाने सिजन सुरु भएसँगै नेपालगन्ज विमानस्थल समेत व्यस्त हुन थालेको छ। गत वर्ष करिब १२ हजार पर्यटकहरुले नेपालगन्ज हुँदै कैलाश मानसरोवरको दर्शका लागि गएका थिए।
काठमाडौंबाट नेपालगन्जका लागि संचालन हुँदै आएका अधिकाँश विमानहरु कैलाश मानसरोवरको दर्शका लगि जाने भारतीय पर्यटकहरुले भरिने गरेको सौर्य एयरलायन्स नेपालगन्जका स्टेशन म्यानेजर भोजराज शाहीले बताए।
भारतको कर्नाटका, केरल, आन्द्रप्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्रका सयौ  पर्यटकहरु  कैलाश मानसरोबरको दर्शनका लागि सडक तथा हवाई मार्ग हुदै नेपालगन्जमा आउन थालेपछि नेपालगन्जका होटेलहरु पनि भरि भराउ हुन थालेका छन।
मानसरोवरको दर्शनका लागि जाने पर्यटकहरुको संख्या बढेसँगै नेपालगन्जबाट हुम्लाको सिमिकोटका लागि गोमा र तारा एयरले दैनिक ४ देखि १६ वटा उडान भर्न थालेको गोमा एयर नेपालगन्जका स्टेशन म्यानेजर दिपक शाहले बताए।
कैलाश मानसरोबरको दर्शनका लागि भारतीय पर्यटकहरु  भदौसम्म आउने पर्यटन ब्यबसायीहरुले बताएका छन्। हिन्दु , बौद्ध, जैन  लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोबरको दर्शन गर्नाले  जीन्दगीमा जानेर वा नजानेर गरेका सबै पापहरु मेटिने र शरीरमा भएका सबै रोगहरुबाट मुक्ती पाइने धार्मिक बिश्वास छ।