वीरेन्द्रनगर, सुर्खेतमा गरिएको नमुना मतदानमा खसेको मत मध्ये आधा मत बदर

वीरेन्द्रनगर,सुर्खेत / वीरेन्द्रनगर सुर्खेतमा गरिएको नमुना मतदानमा खसेको मत मध्ये आधा मत बदर भएको छ । नगरका विभिन्न ६ वटा वडामा सम्पन्न भएको नमुना मतदानमा आधा मत बदर भएको हो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका लागि अब केही दिन मात्र बाँकी छ । मतदानको दिन नजिकिँदै गर्दासमेत मतदातामा कसरी भोट दिने भन्ने अन्योल कायमै छ । मतदाता शिक्षा कमजोर हुँदा सदरमुकाम वीरेन्द्रनगरमै ठूलो संख्यामा मत बदर हुने संकेत देखिएको छ ।

वीरेन्द्रनगरकै मतदाताले आफूहरूलाई भोट दिने तरिका थाहा नभएको प्रतिक्रिया दिएका छन् । मतदाता शिक्षाबारे जानकारी नै नभएको र दलहरूले पनि भोट हाल्ने तरिका नसिकाएको उनीहरूको गुनासो छ ।

मतदाता शिक्षा प्रदान गर्ने क्रममा सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले वीरेन्द्रनगरमा नमुना मतदान गरेको थियो । मतदानमा राजनीतिक दलका अगुवा कार्यकर्ता र शिक्षित मतदाताको मत नै बदर भएको हो । नमुना मतदानको क्रममा विभिन्न ६ वटा वडामा ९० जनाले मतदान गरेका थिए जसमध्ये ४५ जनाले दिएको मत बदर भएको छ ।

यसअघि संविधानसभाको चुनावमा मतदात गरेका उनीहरूले यस पटक मतपत्र लामो र असजिलो भएकाले मत दिन कठिन छ ।

वीरेन्द्रनगर-१० निवासी ५९ वर्षीया देउरूपा विकले यसअधि संविधानसभाका दुवै निर्वाचमा सहज रूपमा नै मतदान गर्नुभयो तर स्थानीय तहको नमुना मतदानको क्रममा उहाँले दिएको मत बदर भयो । ‘यस पटकको मतपत्र ठूलो रहेछ, पट्याउन पनि मुस्किल हुने’, उहाँले भन्नुभयो, ‘कसरी छाप लगाउने भन्ने थाहा छैन, कतिवटा भोट हाल्ने जानकारी नै भएन । नेताहरू दैलोमै आएर भोट मात्र मागे, कसरी हाल्ने भनेर सिकाएनन् ।’ वीरेन्द्रनगर-९ निवासी देबुरानी चौधरी पनि आफूले दिएको भोट सही हुनेमा ढुक्क हुनुहुन्न । कारण उहाँलाई पनि मतपत्रमा मतदान गर्ने तरिका थाहा छैन । उहाँले भन्नुभयो, ‘पहिलाको चुनावमा त मतपत्र सानो थियो, एउटा मात्र छाप लगाए पुग्थ्यो । अहिले त मतपत्र ठूलो छ, कसरी छाप लगाउने हो थाहा नै छैन ।’ साथै उहाँले आफ्ना छिमेकी पनि चुनावमा मत दिने तरिका जानकारी नहुँदा अन्योलमा रहेको बताउनुभयो ।

सदरमुकाम वीरेन्द्रनगरमा मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रका मतदाता पनि मतदान प्रक्रियाबारे अनभिज्ञ छन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि जिल्लाभर दुई सय ४० जना स्वयंसेवक परिचालन गरेको छ । तर पनि अधिकांश मतदातालाई मतदान प्रक्रियाबारे जानकारी छैन । जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले भन्नुभयो, ‘यस पटकको मतपत्र विगतभन्दा फरक छ, सर्वसाधारणलाई भोट दिन पनि झन्झट छ ।

हामीले मतदातालाई शिक्षा दिइरहेका छौं तर छोटो समयका कारण अब सबैलाई शिक्षा दिन सम्भव देखिएन ।’ भौगोलिक विकटताले पनि मतदाता शिक्षा दिन कठिन भएको भन्दै उहाँले चुनावको अघिल्लो दिनसम्म वडा तहमा शिक्षा दिइने जानकारी दिनुभयो । भोट हाल्ने तरिका सिक्न चाहने मतदाताका लागि निर्वाचन कार्यालयमा नै नमुना मतदान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै कार्यालयले विभिन्न स्थानमा नमुना मतदानमार्फत शिक्षा दिने तयारी भइरहेको जनाएको छ ।

जिल्लामा अहिले विभिन्न गैरसरकारी संस्थाले पनि मतदाता शिक्षा सञ्चालन गरिरहेका छन् । तर पनि ती कक्षा पर्याप्त र प्रभावकारी हुन सकेका छैनन् । मतदाता शिक्षा सञ्चालन गरिरहेको वाम संस्थाका लालबहादुर जीएमले भन्नुभयो, ‘गाउँको कुरा छौडौं, सदरमुकामकै अवस्था निराशाजनक छ । शिक्षितहरू नै अनभिज्ञ छन्, नमुना मतदानको क्रममा यहाँ मतपत्रमा ल्याप्चे लगाउने पनि भेटिए ।’ मतदाता शिक्षा प्रभावकारी नभएका कारण पनि धेरै मत बदर हुने खतरा रहेको उहाँको भनाइ छ ।