काठमाडौं, २८ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावको मुखैमा कांग्रेसलाई धक्का लागेको छ ।
देशभरी स्थानीय तहको निर्वाचनको तयारी चलिरहँदा डडेल्धुराको परशुराम नगरपालिकाका कांग्रेस सभापति तारिसिंह बोहरा विहिबार जोगवुढामा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले पोलिटब्यूरो सदस्य बेजुराम भुसाल, केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, जिल्ला अध्यक्ष डा. तारा जोशी लगायतका नेताहरुले टिका र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।
परशुराम नगरपालिकामा प्रभाव राख्ने बोहराको यो निर्णयले कांग्रेसलाई भने धक्का लागेको छ । बोहरालाई शेरबहादुर देउवाको ‘दाहिने हात’का रुपमा पनि चिनिन्छ ।
को हुन् बोहरा ?
कांग्रेसको जिल्ला उपसभापति, महाधिवेशन प्रतिनिधि र ०४९ र ०५४ मा तत्कालिन शीर्ष गाविसका अध्यक्ष भइसकेका बोहरा स्थानीय तहको चुनावमा कांग्रेसका सम्भावित टिकट वितरण कार्यसंग असन्तुष्ट भएर एमाले प्रवेश गरेका हुुन ।
कांग्रेसले परशुराम नगरपालिका कांग्रेस नेता तथा व्यवसायी भीमवहादुर साउदलाई मेयरकारुपमा अघि सारेको छ ।
०४३ सालमा प्रधानपञ्च भएका वोहरा माध्यामिक विद्यालयका प्रधानाध्यपाक समेत भइसकेको वताइन्छ ।
हाम्रो संरचना । २९ बैशाख २०७४, शुक्रबार १०:१४