नेपालगञ्जमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय अध्यक्ष भवानी राणालाई स्वागत


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय अध्यक्ष भवानी राणाले राजनीतिक स्थिरता पछी निजी क्षेत्रले राहतको आशा गर्ने बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचन पछी विकासका सम्भावनाले ढोका खोल्ने भएकोले निर्वाचन सफल पार्ने दायित्व सबै नेपालीको भएको र निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघको ध्यान पनि केन्द्रित गरेको बताउनु भयो ।

 

अध्यक्ष भवानी राणाले राज्यले उत्पादनशील उद्योगलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने धारणा राख्दै मध्यपश्चिमाञ्चल क्षेत्रको आर्थिक समुन्नतीका लागि आफुले विशेष पहल गर्ने बताउनु भयो।
एक दशकअघि नेपालगन्ज उद्योग वाणिज्य संघमा सल्लाहकार मनोनित भई आफ्नो पेशागत राजनीति सुरु गरेकी राणा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएपछि संघले नेपालगन्जमा शुक्रबार भव्य स्वागत सम्मान गरेको हो ।
बाजागाजा सहित संघका पदाधिकारी, उद्योगी, व्यवसायी लगायतले स्वागत सम्मान गरेपछि आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले आन्तरीक राजश्व कार्यालयका कर्मचारीबाट भएको व्यवहार प्रति आक्रोश व्यक्त गरेका थिए । सम्मान ग्रहणपछि महासंघ अध्यक्ष राणाले आन्तरीक राजश्व कार्यालयका बारे सरकार सँग गम्भीर छलफल भैरहेको बताइएकी थिइन् ।
‘महासंघ नयाँ ढंगले अगाडी बढ्दैछ’, महासंघ अध्यक्ष राणाले उर्जाशिल युवाहरुलाई देशभित्रै टिकाइ राख्न विशेष पहल सुरु गरेको जानकारी दिंदै भनिन्, ‘सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादनको योजना अघि सारिएको छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, महासंघका केन्द्रीय सदस्य विष्णु प्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई, उपाध्यक्ष दुर्गा भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे लगायतले निजी क्षेत्रका सम्भावना र राणाको नेतृत्वले गर्न सक्ने पहल बारे आफनो बिचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको हो ।