निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको कुरा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमि तुल्य भएको प्रतिवेदन पठाएको भन्दै आयोगको निर्णयमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।
साथै मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।
बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्व भन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गरे ।
उनले भने, “बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।”
अध्यक्ष ओलीले भोलिका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गरे ।
हाम्रो संरचना । २१ जेष्ठ २०७४, आईतवार ०६:१५