चुनावमा भाग नलिने निर्णयविरुद्ध राजपाका केन्द्रीय कोषाध्यक्ष र सद्स्य एमालेमा प्रवेश

काठमाडौँ/ चुनावमा भाग नलिने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को निर्णयमा असन्तुष्टि जनाउँदै दुई जना केन्द्रीय नेताले राजीनामा दिएर एमाले प्रवेश गर्ने घोषणा गरेका  छन् ।

राजीनामा दिनेमा केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ रहेका छन् । चुनावमा भाग नलिने निर्णय गरेको राजपाभित्र अराजकता र अतिवाद मौलाएकाले आफूले राजीनामा दिएको यादवले  बताइन् । राजपा बन्नुअघि यादव तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को कोषाध्यक्ष थिइन् । नयाँ दलका रुपमा राष्ट्रिय जनता पार्टी नेपाल बनेपछि पनि कोषाध्यक्षकी भूमिकामा थिइन् ।

धनुषा जिल्ला निवासी रहेकी यादव तमलोपाको संस्थापक नेतृ हुन् । राजपाभित्र केही जनआधार भएका नेताहरु मध्ये उनी पनि एक मानिन्छिन् । संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट करिब दश हजार मत ल्याई तत्कालीन रास्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादबसँग उनी झिनो मतले पराजित भएकी थिइन् ।

राजपा परित्याग गरेका महासेठ भने केन्द्रीय सद्स्य हुन् । उनी धनुषा क्षेत्र नम्बर ७ मा सविधानसभा निर्वाचनमा उम्मेदवार समेत थिए । २० बर्षपछि हुन लागेको चुनावमा भाग नलिने घोषणा गरेर राजपाले जनताको अधिकार खोस्ने काम गरेकाले आफूले पार्टी परित्याग गरेको उनले बताए ।

एमाले जाने घोषणा

यसैबीच, राजपा परित्याग गरेका यादव र महासेठले एमाले प्रवेश गर्ने घोषणा गरेका छन् । उनीहरुलाई आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले पार्टीमा भित्र्याउने कार्यक्रम तय गरिएको युवा संघका केन्द्रीय नेता सञ्जीवकुमार झाले  जानकारी दिए ।

यादव र महासेठको आगमनपछि धनुषा र २ नम्बर प्रदेशका जिल्लामा एमालेको उपस्थिति थप बलियो हुने झाको दाबी छ ।