१४ असार,नेपालगञ्ज/ रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि विकल्पको खोजी भएको हो ।
रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनु भएको छ ।
रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको भट्टले बताउनुभयो ।
हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । प्रजिअ भट्टले भने ‘अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्ने देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो लगाउने प्रयास भइरहेको छ ।’
गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो । गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो । भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ ।
गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो । जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताए ।
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजपफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् । जनधनको क्षति रोक्नका लागि रातको समयमा यातायात आवागमन रोक्न लागिएको हो । यो सडक हुँदै दैनिक ११ हजार सवारी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ
हाम्रो संरचना । १४ असार २०७४, बुधबार ०८:४१