नेपालगञ्ज, असार २२ /नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् । उप-महानगरपालिका कार्यालय परिसरमा बिहीबार भएको सपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नव निर्वाचित प्रमुख डा. धवल शम्शेर राणा, उप-प्रमुख उमा थापा मगर र २३ वटा वडाका वडा अध्यक्षहरुलाई प्रमाणपत्र बितरण र सपथग्रहण गराउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएपछि डा.राणाले २३ वडाका निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । सपथग्रहण कार्यक्रममा उपमहानगरपालिका मेयर डा. राणाले नेपालगञ्जको विकासका लागि पार्टीगत स्वार्थबाट माथी उठेर काम गर्न सबैमा आग्रह गर्नुभयो । सवैले मिलेर काम गरेमा ५ बर्षभित्र नेपालगञ्जलाई देशकै नमुना शहर बनाउन सकिने बताउँदै सहयोगको आग्रह गर्नुभयो । उपप्रमुख उमा थापा मगरले समृद्ध नेपालगन्जका लागि नव निर्वाचित जनप्रतिधिलाई साथ दिन नगरबासीसँग आग्रह गरिन् ।
पदभार लगत्तै योजना शाखाले पेश गरेको कार्यक्रमलाई मेयर डा. राणाले हस्ताक्षर गरेर कामको सुरुवात गर्नुभएको छ । पदभार लगत्तै योजना शाखाले पेश गरेको कार्यक्रमलाई प्रमुख डा. राणाले हस्ताक्षर गरेर कामको सुरुवात गरेका छन् । रानीतलाउ, सीमा गेट र नगरभवनको मर्मत सम्भार र जिर्णोद्धार गर्ने,नगरभित्रको ट्राफिक ब्यवस्थापन गर्ने र वडा कार्यालय नभएका वडामा छिटो भन्दा छिटो कार्यालय स्थापना गरिने निर्णयमा उल्लेख छ ।
नवनिर्वाचित मेयर,उपमेयर,वडा अध्यक्ष र सदस्यहरुले कही दिन भित्रै कार्यपालीका,न्यायपालीका निर्वाचित गर्नुका साथै कम्तीमा १० वटा बिभिन्न कार्यबिधि एेन बनाएर काम थाल्नु पर्ने अवस्था रहेको छ ।
हाम्रो संरचना । २२ असार २०७४, बिहीबार १८:२३