चार पटक १ मतले अध्यक्ष पदमा हारीसकेका शिवनारायण भन्नुहुन्छ “अब त चुनाव लडनु पर्‍यो भने ज्योतिषलाई हेराएर मात्रै लड्छु”

भावुक योगी/बर्दिया, असार २४

एउटै व्यक्ति एकै मत अन्तरले चारपटक सम्म हारेको सुन्नु अनौठो लाग्न सक्छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मला गाउँका ५१ वर्षका शिवनारायण थारु अहिलेसम्म विभिन्न ठाउँमा एक मत अन्तरले चार पटकसम्म हार्नु भएको छ ।

?

२० वर्षअघि २०५४ सालमा स्थानिय तह निर्वाचनमा निर्विरोध वडा अध्यक्ष चयन हुनुभएका बर्दियाको साबिक नेउलापुर गाविस वडा नम्बर ३ अहिले ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कर्मला गाउँका शिवनारायण थारु अहिलेसम्म चारपटक अध्यक्ष पदकै लागि विभिन्न संघ संस्थामा चुनाव लड्नु भयो, तर सबै ठाउँमा एक मतले हार्नु परेको उहाँ बताउनुहुन्छ ।

शिवनारायण थारु बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गतको श्रीराम नगर उपभोक्ता समितिको चुनाव हुँदा अध्यक्ष पदमा एक मतले हार्नुभयो । त्यसपछि थारु समुदाय विकास मञ्च भुरीगाउँको अध्यक्षमा पनि एक मतले हार्नुभयो । यस्तै नगरपालिकाको वडा नागरिक मञ्च अध्यक्ष चयनका लागि भएको चुनावमा पनि शिवनारायण एक मतले हार्नुभयो । क्याम्पस व्यवस्थापन समितिमा भने उहाँले दुई मन्तरले हार बेहोर्नु परेको थियो ।

तीनपटकसम्म अध्यक्ष पदमा एक मत अन्तरले र एकपटक क्याम्पस व्यवस्थापन समितिको सदस्यमा दुई मत अन्तरले हार्नु भएका शिवनारायण झण्डै २० वर्षपछि यसपटक भएको स्थानीय चुनावमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो ।

शिवनारायणलाई नेकपा माओवादी केन्द्रका हरिराम थारुले एक मत बढी ल्याएर जित्नुभयो र उहाँ चौथो पटक पनि अध्यक्ष पदकै लागि एक मत अन्तरले हार बेहोर्नु पर्‍यो । वडा अध्यक्षमा विजयी हुने माओवादीका हरिराम थारुले ९३२ मत ल्याउँदा शिवनारायण थारुले ९३१ मत ल्याउनु भएको थियो भने नेपाली कांग्रेसका कमल प्रसाद चपाईँले ७९४ मत ल्याउनु भएको थियो ।

झण्डै ५० मतले पछि पर्नुभएका शिवनारायणले लगातार मतान्तर घटाउँदै जाँदा मतगणना यति रोचक बन्दै गयो कि, लगातार २० मत गन्दा ह्वात्तै मतान्तर घट्यो, त्यसपछि अन्तिम ३ मत गन्दा एक मतले मात्र पछि परेका शिवनारायण एक मत गन्न बाँकी छँदा बराबरीमा हुनुभयो । अन्तिममा रहेको मतपत्र हरिरामको पक्षमा परेर शिवनारायणले एक मत अन्तरले हार्नु पर्‍यो ।

चुनाव हुने दिनसम्म शिवनारायण ढुक्क हुनुहुन्थ्यो कि आफ्नै जित हुनेमा । जब मतगणना सुरु भयो, सुरुदेखि प्रतिद्वन्द्वीले अग्रता कायमै राखेपछि उहाँले आफ्ना सहकर्मीलाई भनेको कुरा सम्झँदै भन्नुभयो, ‘म कि त एक मतले जित्छु कि त भने एक मतले हार्छु कि क्या हो, नभन्दै त्यस्तै भयो, एक मतले हार्नु पर्‍यो’ उहाँले भन्नुभयो ।  शिवनारायण थारुले उज्यालो अनलाइनमा कुरा गर्दै भन्नुभयो ‘हो अहिलेसम्म अध्यक्ष पदकै लागि चार पटकसम्म एक मत अन्तरले हारेँ, एक पटक दुई मत अन्तरले हारेँ ।

नागरिकले त साथ दिएकै हुन् तर भाग्यले दिएन के गर्नु, जहिले पनि एक मतले मात्रै हार्छु, भाग्यै रहेनछ’ उहाँले भन्नुभयो ‘अब त चुनाव लडनु पर्‍यो भने ज्योतिषलाई हेराएर मात्रै लड्छु । २० वर्षअघि वडा अध्यक्षमा निर्विरोध चयन भएँ, त्यसपछि त जुनपनि संघसंस्थामा अध्यक्ष बन्न खोज्यो, चुनाव हुने, अनि एक मतले मात्र हार बेहोर्नु पर्‍यो, त्यसैले अब त ज्योतिषलाई हेराउँछु, चुनाव जित्छस भन्यो भने लड्छु नभए अब कुनैपनि पदका लागि चुनाव लड्दिन ।’