२ नम्वरी सवारी साधन बिक्री गर्ने प्रहरीको फन्दामा, गलत सरकारी नितीका कारण नेपालीले चोरीका गाढी चलाउनुपर्ने बाध्यता

३१ असार,महेन्द्रनगर / भारतबाट  भित्र्याइएका कार र मोटरसाइकलको भन्सारबाट लिलाम गरी यातायात कार्यालयमा दर्ता गरेको किर्ते कागजात बनाई  कार र मोटरसाइकल बेच-बिखन गर्ने  २ जनालाई  कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा  कैलालीको टीकापुर नगरपालिकाका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई बुटवलबाट र दार्चुला हिकिला घर भइ भीमदत्त नगरपालिकामा बस्ने २५ वर्षीय हिमाल जोशीलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो ।  उनीहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरी अनुसन्धान कारबाही सुरु गरेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार उनीहरूले भारतबाट ८ लाख रुपैयाँसम्ममा चारपांग्रे गाडी मगाउने र नेपालमा १० देखि २५ लाख रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । यस्तै, रोयल इन्फिल्ड मोटरसाइकल ७० हजार रुपैयाँसम्ममा खरिद गरी तीन लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

चोरी भएका सवारीसाधन महाकाली तथा सेती अञ्चल यातायात कार्यालयमा दर्ता भएकाले त्यसमा सम्बन्धित कार्यालयका कर्मचारीको पनि मिलेमतो भएको हुन सक्ने र अञ्चल यातायात कार्यालयको लेटरप्याड र छाप दुरुपयोग भएको छ  । धौलागिरिमा गाडी नम्बर र दर्ता नम्बर दोहोरिएपछि अनुसन्धान गर्दा नक्कली कागजात बनाई चोरीका गाडी किनबेच गर्ने गरेको प्रहरीले जनाएको छ । चोरी भएका सवारी साधन प्रहरी र यातायात कार्यालयकै कर्मचारीले किन्ने गरेको तथ्य खुलेको छ ।

प्रहरीका अनुसार श्रेष्ठले भारतीय नागरिक आलोक श्रीवास्तव, सन्नी सरदार, जानी भाइलगायत भारतीय तस्करसँग सम्बन्ध राखी चोरीका गाडी कम मूल्यमा खरिद गरेर ल्याउने गरेको पाइएको छ । यस्तै, यस गिरोहको कैलालीको टीकापुर नगरपालिका-१ मा आफ्नै गोकुल रोयल मोटरसाइकल ग्यारेज समेत रहेको र उक्त ग्यारेजमा चोरीका रोयल इनफिल्ड लगायत अन्य मोटरसाइकल तथा गाडी ल्याउने, नम्बर परिवर्तन गर्ने र आवश्यक कागजात तयार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ८ वटा जिप बिक्री गरेको अवस्थामा बरामद भएको छ भने २२ वटा मोटरसाइकल नक्कली कागजात बनाई बिक्री गरिएको पाइएको छ । त्यस्तै, महाकाली यातायात कार्यालयमा म १ च ५१०, म १ च ५१३, म १ च ५१४, म १ च ५२३, म १ च ५२४, म १ च ५२५ र म १ च १८१० गरी ७ वटा कार र सेती यातायात कार्यालयमा से १ च १७८० को कार दर्ता गरिएको प्रहरीले जनाएको छ । महाकाली यातायात कार्यालयमा दर्ता भएका १५ वटा चोरीका मोटरसाइकल छन् भने सेती यातायात कार्यालयमा ७ वटा चोरीका मोटरसाइकल दर्ता भएको पाइएको छ ।

प्रहरीले उनीहरुसँगै अवैध रुपमा किर्ते कागजात गरी यातायात कार्यालयमा दर्ता गराएर बिक्री गरिएको २२ मध्ये ५ मोटरसाइकल तथा ८ वटामध्ये ५ कार समेत बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले भने, ‘किर्ते कागजात बनाइ बिक्री गरिएका ८ मध्ये ५ कार बरामद भइसकेको छ, बाँकी ३ कार पोखरा र सुर्खेतबाट यहाँ पुग्ने क्रममा रहेको छ । उनले यसरी दर्ता गरिएको खुल्न आएको कार र मोटरसाइकलको दर्ता खारेजी समेत गरिएको बताए । ‘यसरी फर्जी कागजातबाट दर्ता गरिएका २ सयभन्दा बढी सवारी साधन बजारमा बिक्री भएको हुन सक्छ’एसपी चन्दले भने, ‘हामी यस्ता गाडीको खोजीमा छौं ।’

एसपी चन्दका अनुसार यस गाडी बेचबिखनमा अपराधिक गिरोह संलग्न रहेको जानकारी भएपछि डिएसपीको कमाण्डमा गठन गरिएको टोलीले दुवै जनालाई पक्राउ गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनाबाट १ लाख नगद, २ थान ल्यापटप, १० थान गाडीका ब्लुबुक र २ थान खाली ब्लुबुक तथा यातायात कार्यालयको लेटर प्याडसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

भारतमा ५० देखि ७० हजार मूल्य पर्ने मोटरसाइकल यहाँ दर्ता गराएर २ देखि ३ लाखसम्ममा बिक्री गरिएको भेटिएको उनले बताए । यसै गरी २० देखि ५० लाखसम्म मूल्य पर्ने गाडीहरु यहाँको यातायात कार्यालयमा दर्ता गराएपछि १० देखि २० लाखसम्म बिक्री भएको पाइएको पाइएको छ ।

यसरी दर्ता गरियो भारतीय गाडी
प्रहरीका अनुसार हिमालले भारतमा चोरी तथा पुराना गाडीहरु ल्याएर गोकुलको टीकापुरस्थित ग्यारेजमा राख्ने गर्थे । ग्यारेजमा ती गाडीको मर्मत गरेर महाकाली वा सेती अञ्चल यातायातमा दर्ता गराउने प्रक्रिया सुरु हुन्थ्यो । त्यसपछि नयाँजस्तै बनाएर ग्राहकलाई सस्तो मूल्यमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।

‘यो प्रक्रियामा यातायातका कर्मचारीको मिलोमतो प्रस्ट देखिन्छ’ एसपी चन्दले भने, ‘यातायातका कर्मचारीको सहभागिता बिना दर्ता गर्नै सकिन्न ।’उनका अनुसार धौलागिरि यातायात कार्यालयमा एक गाडी दर्ता गराउने क्रममा यहाँ फर्जी कागज गरेर दर्ता भएको गाडीको नम्बर जुध्न गएपछि उक्त रहस्य बाहिर आएको हो । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा ठुलो मात्रामा अवैध रुपमा भारतीय गाडीहरु दर्ता हुने गरेको भेटिएको हो ।

किन यस्तो गर्नुप–यो !

छिमेकी मुलुकमा भारतमा निर्माण भएका सवारी साधनको मुल्य भारत भन्दा झण्ड २ सय देखी ३ सय प्रतिशत सम्म बढी नेपालमा पर्ने र त्यसको लागी नेपालमा केही पुंजीपतीहरुको सिण्डीकेटका कारण नेपालीले सहज ढंगले आफै भन्सार गराएर समेत गाढी ल्याउन नपाउने कथित ब्यवस्था रहेको छ ।

अर्कोतिर सार्क राष्ट्रभरी भन्सार शुल्क शुन्य प्रतिशत झार्नु पर्नेमा नेपालले उक्त सहमती कार्यन्वयन गरेको देखीदैन । नेपाली जन-जिवनमा आवश्यक बस्तुको रुपमा गाढी पर्ने भएपछी नेपालले गाढी आपुर्तिमा पुर्नरावलकन नगरेमा नेपालमा भारतीय नम्वर प्लेटको गाढी र मिलेमतोमा गाढी दर्ता हुने क्रम अझै बढेर जाने निश्चित छ । यस अघि माओबादीले सयौंको संख्यामा यस्तै किसीमका गाढी नेपाल ल्याएर प्रयोग गरी शान्ती प्रक्रिया विषय बनाई दर्ता गराएर हाल सम्म चलाईरहेका छन ।