नेपालगञ्ज / के तपार्इ आफूले बोलेको कुरा स्वतः टाइप होस् भन्ने सोच्नुहुन्छ ? यदि त्यस्तो सोच्नुभएको थियो भने अब नेपाली भाषामै यो सेवा उपलब्ध भइसकेको छ ।
गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन ।
गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।
गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ ।
थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ ।
बोलेको कुरा स्वत टाइप हुने बनाउन गुगलले निकै मेहेनत गरेको छ । यसका लागि उसले नेपाली भाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन भनी नमुना संकलन गरेको छ । त्यही आधारमा उसले मेसिन तयार गरी आफैं टाइप हुने सुविधा तयार गरेको हो ।
यो सेवा प्रयोग गर्न तपार्इले गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आबाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा तपार्इले कपी गरी सोसल मिडिया तथा इमेलमा पेष्ट गर्न सक्नुहुन्छ ।
हाम्रो संरचना । ३१ श्रावण २०७४, मंगलवार ०९:१९