शुक्रबार राती आएको बाढीले अवरुद्व पारेको बाँकेको हुलाकी राजमार्ग बुधबार सुरक्षाकर्मीहरुले मर्मत गरी आशिंक रुपमा सञ्चालनमा ल्याएका छन् ।
बुधबार बिहानैदेखि हातमा बेच्चा, गैती, लगायतका सामाग्रीहरु लिएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका जवान तथा अधिकृतहरु अवरुद्व राजमार्ग मर्मत गर्न खटिएका थिए ।
सदरमुकाम नेपालगन्ज देखि वगौडा क्षेत्र जोड्ने हुलाकी राजमार्ग बाढीका कारण शुक्रबार रातीदेखि अवरुद्व भएको थियो । राजमार्ग अवरुद्व भएपछि राप्तिपारीका नरैनापुर र राप्ति सोनारी गाउपालिकाका बाढी पिडित हरुलाई समयमै उद्दार र राहात पुर्याउन समस्या भएको थियो ।
सुरक्षाकर्मीहरुले नेपालगन्ज देखि राप्ती पुलसम्म निर्वाध रुपमा साना तथा ठूला सवारीका साधन सञ्चालन आउने गरी सडक मर्मत गरेका छन् र राप्ती पुल देखि फत्तेपुरको मेहनमानपुर सम्म साना सवारी साधन सञ्चालन आइरहेका छन् ।
राप्ती नदिले कटान गरेको क्षेत्रमा सुरक्षाकर्मीहरुले बोरामा बालुवा र माटो राखेर सडक बनाएका थिए । अझै राजमार्ग मर्मत कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
त्यस क्षेत्रमा बिहीबार थप मर्मत गरेपछि ठूला गाडिहरु समेत चल्ने बनाइने छ । ५ दिनदेखि अवरुद्व सडक खुलाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु पुगेपछि स्थानीयबासी समेत खुसी भएका छन् ।
उनीहरुले सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै सडक मर्मत कार्यमा सुरक्षाकर्मीहरुलाई समेत सघाएका थिए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जनक थारुले सुरक्षाकर्मीहरुको सडक खुलाउन गरेको कामको प्रशंसा गर्नुभयो ।
५ दिनदेखि सदरमुकाम सँग सम्बन्ध बिच्छेद भएको आफ्नो ठाउँमा आउने सडक खुलाउन सुरक्षाकर्मी खटिएपछि उहाँले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभयो । अध्यक्ष थारुले सडक खुलेसँगै अब बाढीपिडितका लागि राहत ल्याउन सहज हुने बताउनुभयो ।
सडक सञ्चालनमा आएसँगै त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न सहज समेत भएको छ । अवरुद्व राजमार्ग मर्मत गर्न नेपाल प्रहरीका १०५ जना, शशस्त्र प्रहरीका १०९ जना र नेपाली सेनाका १०७ जना गरी कुल ३२१ जना सुरक्षाकर्मीहरु परिचालित भएका थिए ।
बुधबार बिहानै सडक मर्मत गरिरहेका सुरक्षाकर्मीहरु हौसल्ला दिन क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाई, शशस्त्रका प्रहरीका एआईजि नारायण बावु थापा, नेपाल प्रहरीका एआईजि विजय कायस्थ, जिल्ला समन्वय कार्यालयका हरी प्याकुरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतका सुरक्षा अधिकारीहरु राजमार्ग स्थलमा पुग्नुभएको थियो । उहाँहरुले बाढीले अवरुद्व गरेको सडकको स्थलगत निरीक्षण समेत गर्नुभयो ।
सुरक्षाकर्मीसँगै खटिएर माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर गहतराज अथक र केन्द्रिय सदस्य कृष्णा केसी नमुनाले सडक मर्मत कार्यमा स्थानीय बासीहरुसँग समन्वय गर्नुभएको थियो ।
शशस्त्र प्रहरीका डिएसपी विरेन्द्र बहादुर ऐरको कमाण्डमा शशस्त्र प्रहरी खटिएका थिए भने नेपाली सेनाका सह–सेनानीको कमाण्डमा सेना र प्रहरी निरीक्षकको कमाण्ड प्रहरी टोली खटिएको थियो ।
मर्मत कार्यमा जल उत्पन्न प्रकोप कार्यालय नेपालगन्जले दुई हजार बोरा, ग्याभिंग जाली, हुलाकी सडकको निर्माणमा संलग्न गणपति गुप्र अफ कम्पनीको १ स्काभेटर, १ जेसिभी र नेपाल प्रहरीको १ स्काभेटर समेतको प्रयोग गरिएको थियो । paschimnews bat
हाम्रो संरचना । १ भाद्र २०७४, बिहीबार १९:३३