हाम्रो संरचना मङ्लबार, अशोज १३, २०७७ 466 Views

३ भाद्र  / अगैया बजार डुब्न थालेपछि साउन २८ गते मध्याह्न हल्लीखल्ली मच्चियो । राप्ती नदी उर्लेर तल्लो बजार पुगिसकेको थियो ।

सिक्टा सिँचाइ आयोजनाको बाँधका १८ मध्ये ४ ढोका मात्र खुला थिए । बस्ती डुब्ने स्थिति आएपछि बासिन्दाले गेटमै पुगेर आयोजनाका प्राविधिक गुहारे ।

प्राविधिक आएर जेनेरेटर चलाई एकैपटक १४ ढोका खोलिदिए । ‘ढोका खोल्न केही ढिला भएको भए अगैया बजार पूरै डुब्थ्यो,’ स्थानीयले भने, ‘विस्तारै खोल्नु पर्दोरहेछ । हतारिएर सबै ढोका एकैपटक खोलिदिँदा तल्लो भेगका बस्तीमा क्षति गर्‍यो ।’

सिक्टाको बाँध खोलेसँगै बैजापुर गाउँमा बाढी पसेको थियो ।  मध्यरातमा एक्कासि घरभित्र बाढी पसेपछि राप्तीसोनारी–३ बैजापुरकी रामपती चौधरी अत्तालिइन् । भेल खाटसम्मै पुगिसकेको थियो । मस्त निद्रामा रहेका छोराछोरीलाई हत्तपत्त उठाइन् । बाहिर निस्कँदा पानी कम्मरसम्म थियो । गाउँभरि हल्लीखल्ली सुनियो । केहीबेरमै पानी छातीसम्म पुग्यो । उनीहरू उचो ठाउँ नपुग्दै घर भत्कियो । ‘हामी निस्कनु र घर भत्किनु एकैपटक भयो,’ उनले भनिन्, ‘बाढीमाथि बाढी थपिएझैं नदी नै गाउँ‘ पस्यो ।’

केहीबेरमै सयभन्दा धेरै कच्ची घर भत्किए । राप्तीसोनारी गाउँपालिकाका नदी तटीय बस्ती जलमग्न भए । झन्डै आठ सय घर भत्किएका छन् भने सयौं परिवार विस्थापित छन् । उनीहरूले अन्नपात र लत्ताकपडा केही जोगाउन सकेनन् । ‘जुन ढंगले बाढी पसेको छ, सिक्टाकै कारण देखिन्छ,’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले भने, ‘प्राविधिकको हेलचेक्र्याइँले नै यति धेरै क्षति भएको हो ।’ उनले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने बताए ।

बैजापुरका बासिन्दाले २०३६ सालपछि पहिलोपल्ट यति ठूलो बाढीको सामना गर्नुपरेको बताए । त्यस बेला अहिले भन्दा धेरै पानी परेको थियो । यसपटक पानी कम परे पनि क्षति धेरै व्यहोर्नुपरेको छ । सिक्टाले समयमै बाँधको ढोका नखोलेर, एक्कासि खोल्दा धेरै क्षति भएको स्थानीयको बुझाइ छ । उनीहरू संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका छन् । आयोजनाले भने अनुमान गरिए जस्तो सिक्टाकै कारण डुबान नभएको दाबी गरेको छ । अगैया बजार डुब्ने स्थितिमा बाध्य भएर सबै ढोका खोल्नुपरेको उल्लेख गर्दै आयोजना प्रमुख रमेश बस्नेतले भने, ‘संघर्ष समितिले, बाढी सिक्टाको कारणले गाउँ पसेको होइन । बरु लक्ष्मणपुर बाँधका कारण हो ।’

कुसुमस्थित जलमापन केन्द्रमा त्यस दिन राप्तीमा ८ हजार २ सय ३ क्युमेक्स पानी मापन भएको र त्यो अहिलेसम्मकै अधिक रहेकाले ८ हजार २ सय ५० क्युमेक्स क्षमताको सिक्टा हेडबक्सले बाढी रोक्नै नसक्ने उनले दाबी गरे । यस वर्ष डुडुवासम्म सिँचाइ सञ्चालन गर्न सिक्टा नहर परीक्षण भइरहेकाले १४ ढोका बन्द गरेर नहरमा पानी चढाइरहेका बेला बाढी आएको हो ।

पुरानै दैनिकीमा फर्किंदै पीडित 
डुबान घटेपछि बैजापुरवासी पुरानै दैनिकीमा फर्कने कोसिस गर्दैछन् । उनीहरू भत्किएको घरबाट सामान झिक्दैछन् । भिजेका अन्नपात र कपडा सुकाउँदैछन् । ‘घर भत्किएको छ । अन्नपात भिजेर कुहिएको छ,’ काल्ची चौधरीले भनिन्, ‘जे–जस्तो अवस्थामा भए पनि जिन्दगी त चलाउनै पर्‍यो ।’

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सडकखण्डमा बाढीले भत्काएका पुल सामान्य मर्मत गरेर यातायात सुचारु गरिएको छ । स्कुले किशोर-किशोरी कापी-किताब स्याहार्दै छन् । गाउँपालिका कार्यालयमा राहत सामग्री संकलन भइरहेको छ ।

गाउँपालिकाका जनप्रतिनिधिलाई पीडितको लगत संकलन र राहत वितरणलाई व्यवस्थित पार्न हम्मे छ । ‘सुरुमा जिल्ला दैवीप्रकोपले गर्ने कि स्थानीय तहले भन्नेमै अन्योल थियो,’ राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले भने, ‘अहिले राम्रै समन्वय भइरहेको छ ।’ राहत वितरण र विस्थापितको पुन:स्थापना विस्तारै सहज हुने उनले बताए । ekantipur bat copy