सर्पले टोक्ने बित्तिकै लौ खत्तम भयो भनेर डराउन हुँदैन । धेरै सर्पदंशका बिरामीमा यो साझा समस्या हुन्छ कि सर्पले टोक्यो कि अब केही हुन्छ भनेर आत्तिने । सर्प र सर्पको टोकाइको तरीकाले विष लाग्छ वा लाग्दैन भन्ने निक्र्यौल गर्छ । सर्पको विष मांशपेशीबाट रगत हुँदै रगतको माध्यमले मुटु र मस्तिष्कमा पुग्ने हुन्छ ।
कुनै टोकाई विषालु हुन्छ । कुनैले टोकेको भएपनि विष लाग्दैन । कहिले टोकेको जस्तो लागेपनि टोकेको चाहिँ हुँदैन । सबै सर्पले टोक्दैमा विष छोडिहाल्छ भन्ने हुँदैन । त्यसैले सर्पले टोक्ने बित्तिकै ज्यान जाँदैन । तर बिरामी धेरै आत्तिनु हुँदैन । त्यसैले साथमा हुने व्यक्तिले बिरामीलाई ढाडस दिनुपर्छ । 7
सर्पले टोकेपछि विष लाग्यो वा लागेन भन्ने कुरा शरीरमा आएको परिवर्तनले पनि जान्न सकिन्छ
घाउमा दाँतको चिन्ह हुन्छ ।
जीउ सुन्निन थाल्छ ।
छालाको रंग बदलिन्छ ।
झमझमाउने दुख्ने हुन्छ ।
बिरामीको मुखबाट फिज आउँछ ।
आँखा आधा बन्द हुन्छ ।
शरीर कम चल्न थाल्छ ।
श्वास प्रश्वासमा समस्या आउँछ ।
टोकाई कस्तो प्रकृतिको हो भनेर पहिचान गर्नको लागि स्वास्थ्य केन्द्र नै लैजानुपर्ने भएकोले पहिला प्राथमिक उपचार गर्नु नै उत्तम उपाय हो ।
प्राथमिक उपचार :
टोकेको ठाउँभन्दा माथि हलुकासँग बाँध्ने
बिरामीलाई सकेसम्म हलचल गर्न नदिने
टोकेको ठाउँलाई नहल्लियोस् भन्नको लागि काठले बाँध्ने
टोकेको भाग मुटुको तहभन्दा तल राख्नुपर्छ
सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजाने ।
सर्पले टोकेको ठाउँभन्दा माथि बाँध्नु हुन्छ कि हुँदैन ?
सर्पले टोकेपछि विष माथि नफैलियोस् भन्नका लागि बाध्ने चलन छ । तर बाध्ने तरिका मिलेन भने यो उपचार नभई गल्ती हुन जान्छ । टोकेको ठाउँबाट विष माथि नफैलियोस् भन्नका लागि ब्यान्डेजले हलुका बाध्नु राम्रो हो तर रगत सञ्चालनमा समस्या आउने गरी बाध्नु पटक्कै हुँदैन । रबर जस्ता कडा वस्तुले कसिलो गरी बाध्दा रगत सञ्चालन हुन पाउँदैन र कोषहरु मर्छ । धेरै लामो समयसम्म यहि अवस्था रहेमा बाधेको ठाउँभन्दा तलको भाग काट्नुपर्ने हुन्छ ।
सर्पले टोकेपछि गरिने गलत बानि
मुखले चुस्ने – सर्पले टोकेको ठाउँमा मुखले चुस्नु चलचित्रमा देखाउँदा मात्रै राम्रो हो । वास्तविक जीवनमा मुखले चुस्यो भने घाउमा किटाणुको संक्रमण हुन्छ ।
टोकेको ठाउँमा ढुंगाले घोट्ने
घाउमा भएको ठाउँमा काटेर हेर्ने वा काटेर फाल्ने
सर्पले टोकेको विष शरीरमा फैलने समय एकैनाशको हुँदैन, कुन ठाउँको सर्प र कुन प्रजातिको हो भन्ने आधारमा नै विष फैलने हुन्छ ।
पहाडि क्षेत्रमा हुने सर्पको विष सामान्य किसिमको हुन्छ, तर तराईमा पाईने सर्पको टोकाई धेरै नै खतरनाक हुन सक्छ । सर्पको टोकाईले विशेष प्रभाव पार्ने भनेको नसा, मुटु अनि मस्तिष्क नै हो । विशेषगरी गोमन र कोरेतजस्ता अति विषालु सर्पको टोकाईपछि बिरामीको ज्यान स्वास प्रस्वास प्रणलीमा समस्या आएर हुन्छ । (शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनसँग Ujyalo online का सुजाता खत्रीले गर्नुभएको कुराकानीमा आधारित) Ujyalo online bata copy
हाम्रो संरचना । १६ भाद्र २०७४, शुक्रबार १८:४२