२० भदौ, नेपालगञ्ज/ चाइना–नेपालको रसुवागढी नाका देखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन पछाडिको भागमा राखेर काठमाडौंसम्म ल्याउन सफल भए ।
जिया क्विङले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले ठमेल नजिकै क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।
सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
समूहबीचको विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।
सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।
कहाँबाट आउँछ सुन, कहाँ जान्छ ?
अवैध बाटोबाट नेपाल भित्रिने सुन स्थलमार्ग हुँदै चीनबाट र हवाईमार्ग हुँदै मलेसिया तथा खाडी राष्ट्रबाट आउने गरेको छ । गत पुसमा विमानस्थलबाहिर बरामद साढे ३३ केजी सुन भने यूएईबाट ल्याइएको थियो ।
राष्ट्र बैंकले नेपाली बजारमा दैनिक औसत १५ केजी सुन माग रहेको भन्दै त्यति नै बेच्दै आएको छ । तर त्यसभन्दा ठूलो परिमाणमा बजारमा किनबेच हुने गरेको छ । जानकारहरूका अनुसार चीन र अन्य मुलुकबाट तस्करीमा एक केजी सुन भित्र्याउँदा पाँच लाख रुपैयाँसम्म फाइदा हुन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यसरी भित्रिएको सुन थोरै हिस्सा मुलुकभित्रकै सुन पसलमा खपत हुन्छ भने ठूलो मात्रा भारत पुग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ केजी अवैध सुन प्रकरणमा पनि प्रहरीले काठमाडौंका वैभव लक्ष्मी गोल्ड प्यालेस, आरके ज्वेलर्स र शालीमार ज्वेलर्सले अवैध रूपमा भित्रिएको सुन खरिद गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
दुबईबाट अवैध भित्रिएको सुन काठमाडौंमा लिने आरोप लागेका रुविन भन्ने राम प्रताप खड्काले पसलहरूमा पुर्याउने गरेको अभियोग लगाइएको थियो । जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका खड्का काठमाडौं भित्रिएको तस्करीको सुन सम्हाल्ने रामहरि कार्कीका नजिकका मानिन्छन् ।
त्यस्तै, १५ गते काठमाडौं र जनकपुरबाट बरामद १५ केजी सुन तस्करी घटनामा चीनबाट भित्रिएको सुनको एक हिस्सा भारत पुगेको तथ्य सार्वजनिक भएको थियो । चीनबाट काठमाडौं आएको २१ केजी सुनमध्ये दुई केजी भारत पुर्याएर बेचिसकिएको र एक केजी भारत लैजाँदै गर्दा जनकपुरबाट बरामद भएको थियो । उक्त मुद्दामाथि अनुसन्धान गरिरहेका डीआईजी पुष्कर कार्कीका अनुसार यो समूहले जनकपुर बस्ने दीपक कुमार शाहलाई भारतीय बजारसम्म पुर्याउने जिम्मा दिएको देखिन्छ ।आजको Kantipur onlineमा खबर छ ।
हाम्रो संरचना । २० भाद्र २०७४, मंगलवार ०८:२७