२० भदौ काठमाडौं / प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ।
केरुङ नाका हुँदै आइतबार ल्याएको ४३ करोड रुपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो। सुन लोड गरिएको गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित तस्करी सन्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो।
साँझ ८:३० मा बा.१७च ६४२७ नम्बरको टाटा जिप हाँक्दै क्षेत्रपाटी, धोबीचौर होटल परिसरभित्र जिप राखेर सुन तस्कर बाहिरिए। बाहिरिनेक्रममा निर्माणाधीन होटल रुँघ्ने एक नेपाली कर्मचारीलाई जिपको साँचो जिम्मा लगाए। त्यसपछि एकैचोटि राति साढे ११ बजे पत्नी विङका साथ ठमेल नरसिं चोकस्थित होटल काठमाडौं वान छिरे। चौथो तलामा रहेको आफ्नो शयनकक्षतिर उक्लनुअघि उनले एक कर्मचारीलाई आइतबार बिहान सबेरै ड्राइभर पठाएर क्षेत्रपाटीबाट आफ्नो गाडी ल्याउन अह्राए।
‘उनले मलाई क्षेत्रपाटीको बाटो बिग्रेकाले गाडी त्यहीँ राखेको, भोलि बिहान जो ड्राइभर आउँछ, त्यसैलाई लिएर गई गाडी ल्याउन अह्राए,’ ती कर्मचारी (नाम गोप्य) ले भने। बिहान साढे २ बजे चालक मनोज अधिकारी काठमाडौं वान होटल आइपुगे। उनको सोमबार बिहान होटलबाट चिनियाँ पर्यटक बोकेर केरुङ जाने पालो थियो।
उनी राति होटलले व्यवस्था गरेको अलि परको स्टाफ क्वार्टरमा सुतेका थिए। उनले होटलमा बसेका २ पर्यटकलाई केरुङ जाने टुरिस्ट कोचमा हाले। होटलमा बसेकाबाहेक अन्य दुई चिनियाँ पनि उक्त गाडीमा थिए। त्यतिबेलै होटल कर्मचारीले साहुको गाडी लिन जाऊँ भनेपछि गाडी त्यहीं राखेर क्षेत्रपाटीतिर लागे।
क्षेत्रपाटीस्थित निर्माणाधीन होटलमा पुगेर ढोका ढकढक्याएपछि त्यहाँ सुतेका कर्मचारी उठे र साँचो दिए। पार्किङ पुगेर जिपको ढोका खोल्न लाग्दा पहिल्यै घेरा हालेर बसेको महाशाखाको टोलीले उनीहरू सबैसहित गाडीलाई नियन्त्रणमा लियो। महाशाखा टोलीले क्षेत्रपाटी र ठमेल होटलमा रहेका सबै कर्मचारी र टुरिस्ट कोचमा रहेकालाई टेकु ल्याएर केरकार गर्न थाल्यो।
टेकुस्थित महाशाखा परिसरमा ल्याएर जिपको तलासी लिँदा फल्स बटममा लुकाएको ८८ वटा किलो दरका सुनका बिस्कुट फेला परेका थिए। ठूलो परिमाणमा सुन आउँदै छ भन्ने सुराकी पाएको महाशाखाको टोली आइतबार साँझदेखि नै ठमेल, लैनचौर तथा क्षेत्रपाटी एरियामा परिचालित थियो। अपरेसनको कमान्ड प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले गरेका थिए भने फिल्डमा प्रहरी नायब उपरीक्षक प्रजित केसीको टोली खटिएको थियो।
घटना विवरण दिने काठमाडौं वान होटलका कर्मचारीका अनुसार ५ दिनअघि उक्त जिप हाँकेर केरुङतिर लागेका मिङ आफैंले हाँकी काठमाडौं फर्केका हुन्। उनी हम्मेसी आफ्नो गाडी कसैलाई छुन दिँदैनथे।
दुई एसएमएसको सुराकी
दुई दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा एउटा सन्देश आयो। सन्देशमा केरुङबाट ठूलो परिमाणको सुन काठमाडौं आउँदै गरेको र गाडीको विषयमा समेत उल्लेख थियो। उक्त सुराकअनुसार एआईजी चन्दले महाराजगन्ज र लैनचौर वृत्तलाई परिचालन गरे।
क्षेत्रपाटीमा सुनसहित गाडी पार्किङ गरिरहेको सूचना आएपछि आइतबार राति करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचौरबाट सादा पोसाकको टोली त्यहाँ पुग्यो। पार्किङ गरिरहेको गाडीमा कोही थिएन। तत्काल केही हस्तक्षेप गरेन।
त्यहाँ सुन नै छ भन्ने यकिन पनि गर्न सकेन। गाडीका चालक वा जिम्मेवार कोही नआएसम्म कुरेरै बस्ने निर्णय गर्यो। महानगरीय अपराध महाशाखाको टोलीले पनि आफ्नै हिसाबले अप्रेसन सञ्चालन गरिरहेको थियो। जब राति ३ बजे चालक अधिकारी गाडीनेर आए, नजिक बसेको महाशाखाको टोलीले हस्तक्षेप गरिहाल्यो। अन्य युनिटबाट खटिएका प्रहरी ‘जिल्ल’ परे। प्रहरी उपरीक्षक उप्रेतीले केही दिनदेखि लगातार गरेको ‘फलो अप’का कारण ठूलो परिमाणसहित सुन बरामद गर्न सफल भएको बताए।
सुराकी र प्रतिवेदकलाई १०/१० लाख
८८ केजी सुन बरामदबापत सुराकी र प्रतिवेदक (प्रहरी)ले १०/१० लाख रुपैयाँ पाउने भएका छन्। अवैध सुनको हकमा सुराकी र प्रतिवेदक दुवैले बरामद परिमाणको १०/१० प्रतिशत र बढीमा १०/१० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ।
सुराकी राख्ने विषयमा ‘अनेक आर्थिक चलखेल’ लाई कारण देखाउँदै राजस्व प्रशासनले यस्तो सिलिङ तोकेको हो। त्यसअघि विभिन्न प्रतिशतमा कमिसन भाग लाग्ने व्यवस्था थियो। नेपाल प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा २ सय ८१ केजी सुन बरामद गरेको थियो। तस्करीका तीन घेरा नेपालमा सुन तस्करले तीन घेराको सेटिङमा काम गर्दै आएको अनुसन्धान अधिकृत बताउँछन्।
पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाउने, दोस्रो तहका नेपालमा बसेर सहयोगीमार्फत भन्सार कटाउने र तेस्रो तहका कारोबारीचाहिँ नेपाल-भारत सीमामा बसेर राजधानीमा स्टोर भएको सुन गन्तव्यसम्म पुर्याउँदै आएका छन्। खासगरी सिन्धुपाल्चोकको तातोपानी नाका, रसुवाको केरुङ र झापाको काँकडभिट्टाबाट तस्करीको सुन काठमाडौंसम्म आउने गरेका छन्। तस्करीको सुनको मुख्य गन्तव्य भारत हो।
भारतमा तस्करी गर्न असहज बनेपछि छिटपुट सुन काठमाडौंमै सुन व्यापारीलाई बिक्री हुने विभिन्न घटनाक्रमले देखाएको छ। सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ। दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरी मुख्यालयका अनुसार तीन वर्षयता प्रहरीले सुन तस्करी अभियोगमा १ सय ७० जनालाई पक्राउ गरेको छ। त्यसमा भारतीय नागरिक ४० र चिनियाँ ९ छन्। पक्राउ व्यक्ति अधिकांश भरिया हुन्।
चुनौतीपूर्ण अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी यस प्रकरणको अनुसन्धान केही दिनमै ठोस उपलब्धिमा पुग्ने बताउँछन्। प्रहरीले अभियुक्त चिनियाँ दम्पती भाग्नसक्ने सम्भाव्य सबै नाकामा कडा निगरानी राखिसकेको छ। चालक मात्र पक्राउ परेबाट अनुसन्धानलाई टुंगोमा पुर्याउनु प्रहरीका लागि ठूलो चुनौती देखिएको छ।
हवाईमार्गबाट भाग्न सहज नभए पनि नेपाल र तिब्बतको पूरै सिमाना दुर्गम पहाडी भूभाग हुनु एवं त्यहाँ दुवैतर्फको सुरक्षा उपस्थिति कमजोर हुनु ‘सेटब्याक’ भएको प्रहरी बताउँछ। प्रहरीले यस प्रकरणमा अभियुक्तमाथि संगठित अपराधको मुद्दा चलाउने भएको छ। चालक अधिकारीलाई सोमबार सात दिनको म्याद लिएर न्यायिक हिरासतमा पठाइएको छ। थाहखबरमा समाचार साभार
हाम्रो संरचना । २१ भाद्र २०७४, बुधबार ०८:५१