नुवाकोट र चितवनमा बस दुर्घटनाः १० को मृत्यु, ५१ जना घाइते

२४ भदौ नेपालगञ्ज/ नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । २७ जना घाइते भएका छन् ।  काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो । 

 

दुर्घटनामा ३ जनाको घटनास्थलमै र अन्यको उपचारका लागि लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका ९ जफतीकी २१ वर्षीया शशी बोगटी, रालुकादेवीका २२ वर्षीया सविता तामाङ छन् ।

त्यस्तै ठेगाना नखुलेको ५७ वर्षीय लालबहादुर तामाङ र ३७ वर्षीया उजेली मिजारको पनि मृत्यु भएको छ ।  बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मधुकर जङ्ग विष्टले जानकारी दिए ।

घाइते मध्ये ९ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ ।

अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते भएकी छन् ।

त्यसैगरी  पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा दुई बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्किएको हो ।

 

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।