निर्वाचन आयोगद्धारा उप-प्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग स्पष्टीकरण माग

२४ भदौ, नेपालगञ्ज/ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  गच्छदारको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडीहरू र १०० वटाभन्दा बढी मोटरसाइकल समेतको -याली/जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको भन्दै निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४  (क) विपरीत गाडी तथा मोटरसाइकलहरूको -याली निकाली नेपाल सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री मा. विजय कुमार गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने र यसैगरी उल्लिखित निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने ।”
जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सन्दर्भमा आयोगले “निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ?
सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने ।” निर्णय भएको आयोगका सहसचिब एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।