२५, भदौ, नेपालगन्ज /बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आईतवार नेपालगन्जका नागरिक अगुवाद्वारा बिरोध -याली प्रदर्शन गरिएको छ ।
सामुहिक नरसंहार र हत्या हिंसा बन्द गर, मानवअधिकारको रक्षा गर, बाच्ने र बस्न पाउने अधिकार बहाल गर, नोबेल पुरस्कारको ईज्जत राख’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त बिरोध -यालीमा बाँकेका बिभिन्न राजनितिक दलका अगुवा मुस्लिम नेताहरु, महिला मुस्लिम अगुवाहरु, ब्यबसायी र धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
बर्मामा भड्किएको जातिय हिंसाको कारण त्यहाँ रहेका अल्पसंख्यक रोहिंंग्या समुदायमाथि भैरहेको अमानविय कार्यको बिरोध गर्दै बाँकेका बिरोध -यालीको आयोजना गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत मुस्लिम समुदायले बर्मामा भैरहेको नरसंहार रोक्न कुटनितिक तवरले दवाव सृजना गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सो ज्ञापनपत्र पठाएका हुन ।
मुस्लिम समुदायको तर्फबाट आयोजना गरिएको बिरोध -याली स्थानीय विपी चोकबाट शुरु भै त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर सम्पन्न गरिएको थियो ।
‘ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हत्या हिंसाको बाटोले कुनै पनि समस्याको समाधान नहुने जनाउँदै मुस्लिम समुदायको मागलाई तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरे ।
हाम्रो संरचना । २५ भाद्र २०७४, आईतवार २०:२३