समानुपातिक निर्वाचनका लागि ८८ दलको आयोगमा निवेदन

२८ भाद्र, नेपालगञ्ज/ प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिन ८८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले  निवेदन दिन भदौ २५-२७ सम्म दुई दिन समय दिएको थियो ।  

आयोग प्रवक्ता नवराज ढकालले ८८ दलले आयोगमा निवेदन दिएको र निवेदन उपर छानबिनपछि मात्रै समानुपातिकतर्फको निर्वाचनमा भाग लिन पाउने दलहरूको नामावली बुधबार प्रकाशन गरिनेछ । ‘धेरैजसो दलले ७ वटै प्रदेशमा समानुपातिकतर्फ भाग लिने गरी निवेदन दिएको देखिएको छ ।’

आयोगले कुन–कुन प्रदेशमा समानुपातिक निर्वाचनमा भाग लिन चाहेको खुलाएर निवेदन दिन भनेको थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भनेर कुल १ सय २३ राजनीतिक दलमध्ये ९१ दलले भदौ ११ को निर्धारित मितिभित्र आयोगमा निवेदन दिएका थिए ।

त्यसमध्ये मधेस समता पार्टी नेपाल, नेपाल ग्रिन्स र मधेस तराई फोरमले समानुपातिकतर्फको निर्वाचन प्रणालीतर्फका लागि निवेदन दिएका छैनन् । संघीय संसदमा १ सय १० र ७ वटै प्रदेशमा गरी २ सय २० सिट समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

प्रतिनिधिसभाको हकमा देशभरबाट राजनीतिक दलले प्राप्त गरेको कुल सदर मतका आधारमा उक्त दलले प्राप्त गर्ने सिट संख्याअनुसार बन्दसूचीमा समावेश गरिएका उम्मेदवारहरू मध्येबाट सांसद चुनिनेछन् । त्यस्तै, प्रदेशसभाको हकमा उक्त प्रदेशभित्र राजनीतिक दलले प्राप्त गरेको कुल सदर मतका आधारमा सांसद चुनिने प्रावधान छ ।

मंसिर १० र २१ गते दुई चरणमा घोषित निर्वाचनमा एक जना मतदाताले प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिकका लागि मतदान गर्नेछन् । मतदातालाई सहज पार्न दुवै सभाका लागि छुट्टा छुट्टै मतपत्र र मतपेटिका प्रयोग गरिने आयोगले जनाएको छ । मतपत्रको डिजाइनबारे छलफल भइरहेको प्रवक्ता ढकालले बताए ।

आयोगले आगामी निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्न असोज २९ तथा पहिलो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि कात्तिक ५ र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते तोकेको छ ।