८८ केजी सुन काण्ड: तस्करीको सुन खरिद बिक्री गर्ने ५ जना सुन व्यवसायी पक्राउ,थपको खोज तलास तथा अनुसन्धान जारी

४ असोज, नेपालगञ्ज/  ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी पक्राउ परेका छन् । काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरिएको हो ।

न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेश दत्त वडुलाई १० लाख ८२ हजार नेपाली, ८ लाख भारु र ११ सय डलरसहित पक्राउ गरेको छ । शाक्यको साथबाट १ करोड ४२ लाख नगद, एक केजी २०९ ग्राम सुन र २ हजार ४७८ चाँदीका सिक्का बरामद भएको छ ।

यसैगरी भारत विहार घर भई नरदेवीमा रविश्या ट्रेडर्स सञ्चालन गर्ने सत्यनारायण अग्रवाललाई १३ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई महाशाखाले काठमाडौं जिल्ला अदालतमा संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि  २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए । उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका थिए ।

दार्चुलाका कार्यविनायक सुनचाँदी पसलका बडु लामो समयदेखि यार्चा लगायत बहुमूल्य जडीबुटी तिब्बत र चिनियाँ बजारमा थोकमा बेच्ने काममा संलग्न छन् । स्रोतका अनुसार बडुले नेपालबाट यार्चा पठाउने र त्यसबापतको पैसा भने सुनका रूपमा बुझ्ने गरेको देखिन्छ । पक्राउ परेका अन्य तीन भने बिस्कुट आकारमा आएको सुनलाई गालेर स–साना बनाउने काममा संलग्न हुन् ।

प्रहरीका अनुसार सुनका असली मालिक भनिएका चिनियाँ नागरिकसँग अग्रवाल र बडुको निरन्तर सम्पर्क थियो । यी दुवैले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन चिनियाँ नागरिकबाट किन्ने र ओटुको सिद्धनाथ सुनचाँदी र पशुपति सुनचाँदीमा लगेर खारेको देखिन्छ । यी दुवैले गालेको सुनलाई बजार मूल्यभन्दा कममा अन्य सुनचाँदी पसलेलाई पनि बेचेको देखिन्छ । नियमित रूपमा अवैध बजारको सुन किन्ने अन्य केहीमाथि पनि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको छ ।

संगठित सुन तस्करीमाथि निरन्तर अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार नेपालमा आउने अवैध सुनबापतको भुक्तानी मूलत: तीन तरिकाबाट हुने गरेको देखिन्छ । हुन्डीमार्फत अवैध रूपमा डलर पठाउने र त्यसको मूल्य अवैध मार्गबाट नेपालमा सुन भित्र्याएर तिर्ने सबैभन्दा प्रचलित तरिका हो ।  गत वैशाख २७ मा पनि महाशाखाले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बत जान आँटेका चिनियाँ नागरिकलाई नागढुंगाबाट करिब ४ करोड विदेशी मुद्रासहित पक्राउ गरेको थियो ।

अवैध मार्गबाट विदेशी मुद्रा लैजाने र त्यसबापत सुन नेपाल ल्याउने प्रयासअन्तर्गत १९ असोज २०६९ मा पनि दुबई पठाउन आँटिएको एक करोड २४ लाख रुपैयाँ मूल्य बराबरको अवैध विदेशी मुद्रा जफत भएको थियो ।

८८ केजी अवैध सुन बरामदको घटनामा प्रहरीले  नेपालबाट यार्चागुम्बुलगायत महँगा जडीबुटी तिब्बत पुर्‍याउने र त्यसबापतको रकम अवैध सुनबाट बुझ्ने र अवैध जडीबुटी र सुन ओसारपसारबाट तस्कर दुवैलाई मनग्गे फाइदा हुने देखिन्छ । ८८ केजी सुन तस्करीको घटनामाथि अनुसन्धान गरिरहेका  प्रहरी अधिकारीले भने, ‘पहिले रक्तचन्दन अवैध रूपमा तातोपानी नाका हुँदै चिनियाँ बजारमा पठाइन्थ्यो र त्यसको रकम सुन ल्याएर पूर्ति गरिन्थ्यो । रक्तचन्दन ओसारपसारमा कडाइ भएपछि तस्करले जडीबुटीलाई सुनसँग सट्ने गरेको देखिन्छ ।’

तस्करीको सुनचाँदी खरिद बिक्री गर्ने व्यवसायी अनुसन्धान जारी

अवैध मार्गबाट नेपाल भित्रिएको सुन पक्राउका अधिकांश घटनापछि सबैभन्दा धेरै कोही पक्राउ पर्छ भने सुनचाँदी व्यवसायी नै हुन् । अवैध मार्गबाट भित्रिएको सुन किनेर बजारमा पुर्‍याउने काममा सुनचाँदी व्यवसायी जोडिएको घटना धेरै छन् । ८८ केजी सुन तस्करीमा पाँच सुनचाँदी व्यवसायी जोडिए जस्तै ३३ केजी सुन तस्करीमा पनि मुछिएका थिए । तस्करीको सुन खरिद बिक्री गर्ने गदै आएका देशभरकै केही सुन चांदी पसलेहरु माथी प्रहरीले खोज तलास तथा लामो अनुसन्धान जारीराखेको र थप तस्करीको सुनको कारोबार गर्नेहरु पक्राउ पर्ने प्रहरीले बताएको छ ।

राष्ट्र बैंकले निजी बैंकलाई कोटा प्रणालीका आधारमा दैनिक १५ केजीसम्म सुन आयात गर्न अनुमति दिएको छ । सिजनका बेला भने राष्ट्र बैंकले यस्तो कोटा बढाएर २० केजीसम्म पुर्‍याएको देखिन्छ ।