१६ असोज,नेपालगञ्ज/ कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आइतवार बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारी स्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिनुभएको छ ।
कर्णाली पुलको चिसापानी बजारदेखि झण्डै दुई किमी उत्तरतर्फ रहेको पितमारी वनभोज स्थलका रुपमा लोकप्रिय छ । उक्त ठाउंमा पौडी खेल्न जान्ने ति दुबै युवक एक्कासी बेपत्ता भएको बताइएको छ । नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएको बताइएको छ । बेपत्ता हुनेको खोजी शुरु गरिएको प्रहरी निरीक्षक बोहराले बताउनु भयो ।
यसैबीच बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमकी सात वर्षीया बालिका बसन्ती भुलको आइतवार नै जमादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको समाचार छ । दिउँसो गोठालो गएका बेला नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभएको छ ।
त्यस्तै कपिलवस्तुमा पनि एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महाराजगञ्ज नगरपालिका–७ कुशहवाकी १८ वर्षीया रोशनी शुक्लाको कञ्चनिया नदीमा डुबेर मृत्यु भएको हो ।
आइतवार बिहान कलश सेलाउन नदीमा पस्दा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, बहादुर गञ्जले जनाएको छ । दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीमा सामेल भएर उनी नदीमा गएकी थिइन् । उनको शव परीक्षणका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ । – रासस
हाम्रो संरचना । १६ आश्विन २०७४, सोमबार ०९:४७