बर्दियाको लालपुरमा जनजिवन सामन्य, दुबै पक्ष आपसी सहमतीमा

१७ असोज,गुलरिया, बर्दिया / नेपालगञ्ज–गुलरिया सडक खण्डको गणेशपुर क्षेत्रमा पर्ने लालपुरमा आइतबार सांझ स्थानिय बासिन्दा बीच आपसमा विवाद भई उत्पन्न भएको असहज परिस्थितीको सोमबार एक-आपसमा बसेर छलफल गरि सहमतीमा पुगेर समस्याको समाधान खोजीएको छ ।  

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका–११ लालपुरमा ताजिया र मुर्ति विजर्सन गर्न जाने क्रममा बाटोको बिषयलाई लिएर विवाद सृजना भएकोमा उक्त समस्यालाई स्थानिय प्रशासनको सहजकिरणमा सर्वपक्षीय भेलाको आयोजना गरि दुबै पक्ष बीच सहमती भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सहितको सर्वपक्षीय भेलामा दुबै पक्ष समस्याको समाधान एक आपसमा बसेर छलफल गरि  बिबाद टुंगीएको  र दुबै पक्षको आग्रह अनुसार मंगलबार विहान सम्मका लागि लालपुर क्षेत्रमा निषेधाज्ञा जारी राखीएको  भएपनि अवस्था सामन्य रहेको प्रशासनले जानकारी दिएको छ ।

स्थानिय बासिन्दा बीच सामन्य बिवादलाई बढाएर धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएर समस्यालाई बल्झाउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय बर्दियाले त्यस क्षेत्रमा शान्ती सुरक्षाको लागी सोमबार निषेधाज्ञा तथा कफ्र्युको घोषणा गरेको थियो ।

स्थानिय बासिन्दा बीच बाटोको विषयमा आईतबार बेलुकी झडप हुँदा स्थितिलाई नियन्त्रण लिने क्रममा केही स्थानिय बासिन्दा सहित आधा दर्जन सुरक्षाकर्मी  घाइते  भएपछी झडप साम्य पार्न प्रहरीले अश्रुग्यास र  हवाइ फायर समेत गर्नुपरेको थियो ।

घटनापछी लालपुर आसपासको क्षेत्रमा  स्थानिय प्रशासनले सोमबार बिहान १० बजेबाट लालपुर देखि ५ सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिणमा केही घण्टाका लागी  कफ्र्यु पनि जारी गरेको थियो ।

कफ्र्यू लगाईएपछि दशै मनाएर घर फर्किन थालेका तथा अत्यावस्यक कामका लागि आवत जावत गर्ने यात्रुहरु गुलरिया–नेपालगञ्ज सडक खण्डमै अलपत्र परेकाले  यातायातका साधनहरुलाई प्रहरीले स्कटिङ गरेर कफ्रु क्षेत्र पार गराउदै आएको थियो ।