राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य त्रिपाठी सहित पाँच नेता द्वारा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

१६ असोज, नेपालगञ्ज/  राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठी सहितका पाँच नेताले पार्टीबाट विद्रोह गरी‘स्वतन्त्र राजनीतिक समूह’ बनाएर एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने सहमती गरेका छन ।  

सोमबार नेकपा एमाले पार्टी महासचिव ईश्वर पोखरेल र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।

दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु  सूर्य चिन्ह परिचयका साथ चुनावमा सहभागी हुनेछन् ।

‘तराई मधेशसमेतका बासिन्दालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो,’ विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ, ‘हामीहरु संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’ 

६ वटा मधेश केन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह-अध्यक्ष त्रिपाठी लगायतको ठुलो हिस्सा असन्तुष्ट रहँदै आएका थिए ।

 

सम्बन्धित शीर्षक