१९ असोज,नेपालगञ्ज/ घटस्थापना मा सुरु भएको दुर्गा-लक्ष्मीको पूजा आज बिहिबार आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ।
रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराईले बताए। शरद पूर्णिमाको दिनदेखि भगवान् श्रीकृष्णले रासलीला गरेको पुराणमा उल्लेख छ।
वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि बिहीबार सम्पन्न हुँदैछ। विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दसैंका पूजासामग्रीहरू सेलाउने चलन छ।
काेजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ। वैष्णव धर्मअनुसार यसै दिन कार्तिक स्नान सुरु हुन्छ। बिहान सबेरै उठेर नुहाउने र आकाशमा तारा छँदै तुलसीको पूजा गर्नुपर्छ भन्ने मान्यता छ।
हाम्रो संरचना । १९ आश्विन २०७४, बिहीबार ०८:४६