कर्मचारी समायोजन विधेयक पारित -जुनसुकै कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सकिने

२१ असोज, नेपालगञ्ज/  कर्मचारी समायोजन विधेयक २०७४ शुक्रबार संसद्बारा पारित भएसँगै निजामती सेवामा कार्यरत सबै ८६ हजार कर्मचारी जगेडामा परेका छन्। विधेयक पारित भएपछि कर्मचारीलाई आवश्यकताअनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न मार्गप्रशस्त भएको छ ।

ग्राफिक्स : कान्तिपुरबाट लिइएको

मन्त्रालयले समायोजन प्रक्रिया पनि सुरु गरिसकेको छ। सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ६ महिनाभित्रै कर्मचारी समायोजन गरिसक्ने गरी प्रक्रिया थालिएको जानकारी दिए।

सापकोटाका अनुसार अब छिट्टै संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि आवश्यक पर्ने संगठन संरचना तथा कर्मचारी दरबन्दी निर्धारण गर्न विज्ञहरू सम्मिलित उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिनेछ।

समितिले ६ महिनाभित्र संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूची, कार्य प्रकृति र औचित्यसमेतका आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको दरबन्दी सरकारसमक्ष सिफारिस गर्नेछ। सिफारिस आधारमा समायोजन गरिनेछ।  करिब ४५ प्रतिशत कर्मचारी स्थानीय तहमा आवश्यक पर्ने सरकारी आकलन छ । कम्तीमा ४१ हजार कर्मचारी स्थानीय तहमा आवश्यक पर्छन् । अहिले करिब १६ हजार मात्र छन् ।

विधेयकमा के छ ?

समायोजन गर्दा कर्मचारी कार्यरत रहेको पदको ज्येष्ठता, कर्मचारीले रोजेकै तह तथा हालको स्थायी बसोवासको ठेगानालाई नै बढी प्राथमिकता दिइनेछ। समायोजन भएको कर्मचारी ३५ दिनभित्र खटाएको ठाउँमा नगए अवकाश समेत दिन सक्ने तर अवकाश दिनुपूर्व सफाइको मौका दिनुपर्ने र लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था विधेयकमा छ।

यसैगरी, समायोजन हुन नचाहने ५० वर्ष पुगेका र सेवा अवधि २० वर्ष पुगेका कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने, त्यसो गर्दा ६० वर्षसम्मको बाँकी सेवा अवधि थप हुने र सात वर्षसम्मको एकमुस्ट पेन्सन पाउने व्यवस्था गरिएको छ। कर्मचारीको सेवाको सर्त, सुविधा र वृत्ति विकासको संरक्षण गरिने र प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले संघमा संघीय निजामती कर्मचारीसरह नै बढुवा हुन पाउने व्यवस्था गरिएको छ। कर्मचारीको सरुवालाई रोकिएको छैन। निश्चित समयभित्र सरुवा हुन पाउने व्यवस्था विधेयकमा छ।

कर्मचारीको सेवा-सुविधाको रक्षा र भर्ना प्रक्रिया जारी राखिने विधेयकमा उल्लेख छ। सम्बन्धित तहको सेवाभित्र जहिले पनि र निश्चित अवधिपछि अन्तरतह सरुवा हुन सक्ने व्यवस्था छ। साविकका स्थानीय निकायका कर्मचारी सोही स्थानीय तहमा र कानुनद्वारा स्थापित संगठित संस्थाका कर्मचारी त्यस्तो संस्था जुन तहमा हस्तान्तरण हुन्छ, त्यही तहमा समायोजन हुने व्यवस्था गरिएको छ।

नयाँ दरबन्दी सिर्जना गर्न निषेध

समायोजन विधेयकमा कर्मचारी समायोजन गर्ने अवधिसम्म नयाँ कर्मचारी दरबन्दी सिर्जना गर्ने कार्यमा पूर्णरूपमा निषेध गरिएको छ। ऐन जारी भएपछि प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म प्रदेश वा स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त पदमा सम्बन्धित प्रदेश वा स्थानीय तहले सरकारमार्फत पठाएको मागका आधारमा लोकसेवा आयोगले नै पदपूर्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ।

– समायोजन गर्दा पदको ज्येष्ठता, रोजेकै तह तथा हालको स्थायी बसोवासको ठेगानालाई नै प्राथमिकता दिइने।
– ३५ दिनभित्र खटाएको ठाउँमा नगए अवकाशसमेत दिन सकिने।
– समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष पुगेका कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने।
– सेवाको सर्त, सुविधा र वृत्ति विकासको संरक्षण गरिने।
– निश्चित समयभित्र सरुवा हुन पाउने।
– समायोजन अवधिसम्म नयाँ दरबन्दी सिर्जना गर्न नपाइने।