मुगुकी एक गर्भवतीले आकाशमै नेपाल एयरलायन्सको जहाजभित्र जन्माइन् बच्चा

२३ असोज,कालिकोट/  मुगुको ताल्चा विमानस्थलबाट सोमबार दिउसो नेपालगञ्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चा जन्माएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका–२ की २२ वर्षीया मायादेवी भामले छोरा जन्माएकी हुन्। 

सुत्केरी ब्यथाले च्यापेपछि जहाजमा नेपालगञ्जमा थप उपचारका लागि ल्याउदै गर्दा बच्चाको जन्म भएको नेपाल एयरलायन्स क्षेत्रीय निर्देशक मुक्ति पाण्डेले बताए। ‘ताल्चा विमानस्थलबाट नेपालगञ्ज विमानस्थलमाआउदै गर्दा मायादेवीले बच्चा जन्माएकी छन्’ उनले भने, ‘यो नेपालको आकाश बच्चा जन्मेको पहिलो घटना होला।’

सोमबार बिहान ११ बजेर ५ मिनेटमा ताल्चा विमानस्थलबाट उडान भरेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको हो। आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ। आमा र बच्चालाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ।

मुगुमा सुत्केरी भई अत्याधिक रक्तश्राव भएपछि उनलाई आफन्तको आग्रहमा नेपाल एयरलायन्सको जहाजबाट थप उपचारका नेपालगञ्ज लगिएको थियो। रक्तस्रावका कारण ज्यान नै जाने खतरा भएपछि जहाजका पाइलट आइआर गुरुङले लिखित कागज गराएर जहाज उडाएका थिए।