निर्माण व्यवसायी महास‌ंघका अध्यक्ष गौचनको गोली हानी हत्या (अपडेट)

२३असोज,नेपालगञ्ज/   नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौँमा गोली हानी हत्या गरिएको छ। सोमबार काठमाडौँको शान्तिनगरस्थित खरिबोटमा आफ्नै बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा सवार रहेका बेला उनलाई अज्ञात व्यक्तिले गोली हानेको महानगरीय प्रहरी प्रभाग शान्तिनगरले जानकारी दिएको छ।   

घरबाट अफिसतर्फ जान लागेका ५८ वर्षीय गौचनमाथि दिउँसो सवा २ बजेर ५५ मिनेटमा गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनलाई ३ बजेर १० मिनेटमा नयाँ बानेश्वरको निजामति कर्मचारी अस्पतालमा ल्याइएको थियो।

गाडीको अगाडिको सिटमा बसेका गौचनलाई दुईवटा गोली पेटमा लागेका थिए। गोली लागेलगत्तै नजिकै रहेको सिभलि हस्पिटलमा उपचारार्थ लगिए पनि दिउँसो ३ः२६ मा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

गौचनको गाडीमा अगाडिबाट ड्राइभरको सिटपट्टी इँटा प्रहार गरिएको देखिन्छ भने गौचन बसेको सिट अगाडिको सीसामा गोलीले बनाएका दुईवटा प्वाल समेत देखिन्छ। गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।