नेपालगञ्ज रंगशाला बाहिर भारतिय सेनामा भर्नाका लागी नेपाली युवाको भिड,नेपाल प्रहरीको सहयोग

२३असोज,नेपालगञ्ज/   भारतीय सेनामा भर्ना हुन नेपाली युवाको नेपालगञ्जमा ताँती लागेको छ। गोर्खा भर्ती कार्यालय गोरखपुरले नेपालगञ्जमा भर्ना क्याम्प खोलेपछि मध्य र सुदूरपश्चिमका युवाले नेपालगञ्ज रंगशाला भरिएपछि भारतीय सेनामा नेपाली युवाको मोह अत्यधिक देखिएको हो। 

भारतीय सेनाबाहेक अन्यत्र जागिर नखाने योजनासमेत नेपाली युवाले बनाउने गरेका छन्। भारतीय सेनामा जागिर खान अहिले चौथो पटक प्रयास गरेको साविक पजारु गाविस– ९, जाजरकोटका भागीराम पुनले बताए। गोर्खा भर्ती कार्यालयले नेपालगन्ज रंगशालामा राखेको भर्ना क्याम्पभित्र भेटिएका उनले भारतीय गोर्खा रेजिमेन्टका लागिबाहेक जागिरका लागि अहिलेसम्म अन्य ठाउँमा निवेदन नदिएको बताए।

‘भारतीय सेनाबाहेक अन्यत्र जागिर खाने इच्छा पटक्कै छैन’, उनले भने। बारबर्दिया नगरपालिका– ६, बर्दियाका भीमबहादुर भण्डारी पनि भारतीय सेनामा भर्ना हुन नेपालगञ्ज आएका छन्। उनको पनि यो दोस्रो पटक हो। पहिलो पटक दौडमै फालिएका उनी एक वर्ष तालिम लिएर भर्ना हुन नेपालगञ्ज आएका हुन्। एक वर्ष तालिम लिएपछि अहिलेसम्म दौडलगायत फिजिकल परीक्षा उत्तीर्ण भएका छन् उनी।

कक्षा १२ सम्म पढेका उनको एउटै लक्ष्य छ, भारतीय सेनामा जागिर खाने। ‘अन्यत्र जागिर खाने मैले अहिलेसम्म सोचेको पनि छैन। मेरो एक मात्र ध्यान भारतीय सेनामा जागिर खाने छ’, उनले भने।  एकै दिन १२ सय बढी छनोट प्रक्रियामा सहभागी गोर्खा भर्ती कार्यालयले भेरी, कर्णाली, सेती र महाकाली अंचलका युवाका लागि नेपालगञ्जमा भर्ती क्याम्प राखेको छ। 

पहिलो दिन सोमबार भेरी अंचलका युवाको छनोट भएको छ। भेरीका एक हजार २०० बढी युवा दौडमा सहभागी भएकोमा १५० जना सफल भएको गोर्खा भर्ती कार्यालय गोरखपुरका लेफ्टिनेन्ट जर्नेल पीसी राईले जानकारी दिए।

पहिलो दिनको दौडलगायत फिजिकलमा उत्तीर्ण भएकाको लिखित परीक्षा मंगलबार हुने भएको बताउँदै उनले १५ अक्टोवरसम्म चयन प्रक्रिया पूरा हुने बताए। उनले फिजिकल र लिखित परीक्षामा उत्तीर्ण भएकाको गोरखपुरमा स्वास्थ्य परीक्षण हुने बताए।

भर्नाका क्रममा सोर्स, फोर्स र भनसुन केही नचल्ने उनको भनाइ छ। ‘जसले फिल्डमा दौड लगायत परीक्षामा राम्रो गर्छ, उसको जागिर पक्का छ’, उनले भने।  नाम, दाम र शानका लागि भारतीय सेना नाम, दाम र शान हुने भएकाले भारतीय सेना नै पहिलो रोजाइ भएको हुम्लाका पदम शाहीले बताए। उनले भारतीय सेनामा कार्यरत गाउँघरका दाजुहरूको शान, मान र इज्जत देखेर भारतीय सेना रोजेको बताए। 

भारतीय सेनामा जागिर भएपछि आफ्नो मात्र नभई पूरै परिवारको भविष्य सुनिश्चित हुने उनको भनाइ छ। ‘पैसा कमाइ हुने त छँदै छ, नाम र शान पनि छुट्टै छ’, उनले भने।  भर्ना हुन आएका मध्ये धेरैको भनाइ उस्तै छ। भारतीय सेनामा जागिर पाएपछि गाउँघरमा नाम, दाम र शान हुने भएकाले आफ्नो पहिलो रोजाइमा भारतीय सेना परेको उनीहरूले बताए। अन्य जागिरभन्दा भारतीय सेनामा जागिर खाएकाहरूको भविष्य सुरक्षित हुने उनीहरूको धारणा छ।

एसएलसी उत्तीर्ण गरेकाले नेपालमा जागिर नपाउने भएकाले यतातिर बढी मिहिनेत गरेको बर्दियाका भीमबहादुर भण्डारीले बताए। उनले नेपालमा भविष्य नदेखेर भारतीय सेनाका लागि एक वर्षदेखि तयारी गरेको बताए। ‘नेपालमा जागिरी पाइँदैन, पाए पनि इज्जत छैन’, उनले भने।  

समुदायअनुसार गोर्खा राइफलमा भर्ना नेपालीहरूका लागि भारतमा गोर्खा रेजिमेन्ट छ। सन् १८१५ मा तत्कालीन व्रिटिस सरकारले भारतमा गोर्खा रेजिमेन्ट स्थापना गरेर नेपाली युवालाई भारतीय सेनामा जागिर दिने व्यवस्था मिलाएको थियो। त्यही बेलाको नीतिलाई भारत सरकारले अहिलेसम्म निरन्तरता दिइरहेको गोर्खा भर्ती कार्यालय गोरखपुरका प्रमुख लेफ्टिनेन्ट जर्नेल पीसी राईले बताए।  उनका अनुसार गोर्खालीका लागि सात रेजिमेन्ट रहेका छन्। नाइन गोर्खा राइफलमा बाहुन, क्षेत्री र ठकुरीलाई मात्र भर्ना लिइन्छ। ११ गोर्खा राइफलमा राई, लिम्बू, तामाङ, लेप्चा समुदायलाई र १, ३, ४, ५ र ८ मा गुरुङ, मगरलाई मात्र भर्ना गरिन्छ। ‘नाइन गोर्खा राइफलमा बढी छनोट भए मात्र अन्य रेजिमेन्टमा सिफ्ट गरिन्छ’, उनले भने।  थाह खबरमा समाचार छ । फोटो : hamrosamarchana.com